२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

कैलालीकी कोरोना संक्रमितले १५ बढी नातेदारलाई खुवाएकी थिइन् खाना

पूर्वलम्कीको बालकल्याण क्षेत्रमा सिल

सोमबार कैलालीकी ६५ वर्षीया महिलालाई कोरोना संक्रमण पुष्टि भयो। उनी श्रीमान र दुई नातिनातिनीसहित दुई वर्षयता वीरगन्जमा बस्दै आएकी थिइन्।

गत चैत ९ गते उनका ठूलो छोरासहित १५ बढी नातेदारहरू बिहारबाट वीरगन्ज आएका थिए। वीरगन्ज आइपुग्दा साँझ परेकाले त्यहीँ दिन कैलाली जान सकेनन्। छोरासहित सबैजना आमाबुवा बसैकै कोठामा गए।

त्यो साँझ महिलाले सबैलाई खाना पकाएर खुवाइन्। खाना खाएर सबैजना एउटै कोठामा पल्टिए।

‘बुवाआमा बस्ने कोठा ठूलो छ। उहाँहरू त्यो रात त्यहीँ बस्नुभयो,’ संक्रमितका कान्छो छोराले सेतोपाटीसँग भने।

भोलिपल्ट ठूलो छोरासहित पाहुना लागेका सबै कैलालीका लागि हिँडे। उनीहरू कैलाली पुगेर आ-आफ्नो घर गए।

संक्रमित महिलाको सम्पर्कमा रहेका व्यक्तिहरूको खोजी गर्दा उनले विहारबाट आएका छोरासहित पाहुनाहरूलाई खाना खुवाएको खुलेको हो। अहिले महिलाका सम्पर्कमा आएकालाई क्वारेन्टाइनमा राखिएको छ।

लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईंले संक्रमित महिलाले खाना खुवाएका र गाडीमा सँगै आएकालाई क्वारेन्टाइनमा राखिएको बताए।

उनले संक्रमण देखिएपछि पूर्वलम्कीको बालकल्याण क्षेत्रलाई सिल गरिएको जानकारी दिए। ‘हामी केही दिनमा गाउँमा रहेका ४ सय बढीको परीक्षण गर्ने तयारी गर्दैछौं,’ उनले भने।

महिलालाई संक्रमण पुष्टि भएपछि उनीसँगै चैत १७ गते वीरगन्जबाट आएका परिवारका १६ सदस्यलाई फेरि क्वारेन्टाइनमा राखिएको छ।

उनीहरूको २९ गते र्‍यापिड टेस्ट गर्दा नेगेटिभ देखिएपछि सबैलाई होम क्वारेन्टाइनमा बस्न भनेर घर पठाइएको थियो। सोमबार महिलालाई संक्रमण देखिएपछि फेरि बाँकीलाई क्वारेन्टाइनमा ल्याइएको छ।

संक्रमित महिलालाई हिजै धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। महिलामा दम र रक्तचापको समस्या छ।

Related News

सुदूरपश्चिममा दोस्रो पटक बजेट शून्यता, प्रदेश सरकार खर्च गर्न कानुनी आधारविहीन
सुदूरपश्चिममा दोस्रो पटक बजेट शून्यता, प्रदेश सरकार खर्च गर्न कानुनी आधारविहीन
  • २०७७ बैशाख २

सुदूरपश्चिममा दोस्रो पटक बजेट शून्यता, प्रदेश सरकार खर्च गर्न कानुनी...

TOP