काठमाडौं — विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई अकुत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा साढे ८ वर्ष कैद सजाय सुनाएको छ। अदालतले कार्यकारी पदको दुरुपयोग गरेको ठहर गर्दै अकुत सम्पत्ति आर्जनमा ८ वर्ष र कार्यकारी पदमा रहेको आधारमा थप ६ महिना कैद निर्धारण गरेको हो।
विशेष अदालतका न्यायाधीश सुर्दशनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले पौडेललाई १ करोड ५४ लाख २५ हजार २ सय रुपैयाँ जरिवाना गर्ने फैसला पनि गरेको छ। साथै, अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार ६ लाख १७ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने आदेश दिएको छ।
यसै मुद्दामा पौडेलसँगै दीपक आनन्दलाई पनि समान कैद र जरिवाना हुने फैसला गरिएको छ। अदालतका अनुसार आनन्दले पौडेलले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति लुकाउन सहयोग गरेका थिए।
यसअघि मंगलबार विशेष अदालतले पौडेललाई दोषी ठहर गर्दै घुस लेनदेनसहित करिब १५ अर्ब ५० करोड रुपैयाँ बराबरको भ्रष्टाचार सम्बन्धी मुद्दामा फैसला सुनाएको थियो। सोही दिन घुससम्बन्धी मुद्दामा उनलाई साढे २ वर्ष कैद तथा १२ करोड ७५ लाख ७० हजार रुपैयाँ बिगो कायम गरिएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार पौडेलले सिंगापुरस्थित विभिन्न बैंक खातामार्फत आर्थिक कारोबार गरेका थिए। पौडेलको घरबाट बरामद भएका विद्युतीय उपकरणको फरेन्सिक परीक्षण र सिंगापुरका आधिकारिक निकायबाट प्राप्त विवरणका आधारमा उनीविरुद्ध अकुत सम्पत्ति र घुस दुवै मुद्दा दायर गरिएको थियो।
अदालतको फैसलाअनुसार पौडेलले १४ करोड ९७ लाख रुपैयाँ अवैध रूपमा आर्जन गरेको तथा अन्य सम्पत्तिको वैध स्रोत पुष्टि गर्न नसकेको ठहर भएको छ। सिंगापुरस्थित बैंक खातामा १३ करोड ५३ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा जम्मा रहेको पनि अनुसन्धानबाट खुलेको थियो।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशकसमेत रहेका पौडेलविरुद्धको यो फैसला हालसम्मका अकुत सम्पत्ति आर्जनसम्बन्धी ठूला फैसलामध्ये एक मानिएको छ।
बैतडीमा ट्याक्टर दुर्घटना : चालक देवसिंह भण्डारीको घटनास्थलमै मृत्यु धनगढी...