२०८० आश्विन १७, बुधबार
October 4, 2023, Wednesday

संक्रमितका छोरा भन्छन् : आमालाई कसरी कोरोना भयो छक्क परिरहेका छौं

हामी कैलालीबाट वीरगन्ज गएको दुई वर्ष भयो।

आमाबुवा र माइला दाइको दुईटा छोराछोरी एकैठाउँमा बस्नुहुन्थ्यो। दाइ र भाउजु भारतको पुणेमा हुनुहुन्छ।

हामी २०६५ सालमा अछामबाट कैलाली झरेका थियौं। गरिब मान्छे सम्पत्ति थिएन। भएको अलिकति सरसामान  ठूल्दाइलाई छोडेर कोही भारत र कोही वीरगन्ज लागेका थियौं।

बुवा वीरगन्ज बसपार्कमा चिया बच्ने काम गर्नुहुन्छ। आमा घरमै दाइको छोराछोरीसँग बस्नुहुन्छ। म वीरगन्जकै एक होटलमा वेटरको काम गर्छु। आमाबुवासँग बेलाबेला भेट भइरहन्थ्यो।

लकडाउन भएपछि हामी दैनिक मजदुरी गरेर खाने मान्छेलाई अप्ठेरो पर्‍यो। हामीले बसपार्क प्रहरी चौकीका सईसरसँग घर जान पास मिलाइदिन आग्रह गर्‍यौं। उहाँले नै पहल गरेर घर जाने बाटो खुल्यो। 

हामी चैत १७ गते साँझ ७ बजे वीरगन्जबाट बसमा कैलाली हिड्यौं। बसमा हामी एकै परिवारका १७ जना थियौं। हाम्रो ठूलो परिवार छ। बसमा अरू ठाउँका मानिसहरू पनि थिए। 

भोलिपल्ट दिउँसो दुई बजे हामी लम्कीचुहा-१ स्थित बहुमुखी क्याम्पसमा उत्रियौं। त्यहाँ क्वारेन्टाइनमा दुई पटक जाँच गरेपछि हामीलाई घर जान भनियो। सबै जना एकै घरमा बस्न नमिल्ने भएपछि ठूल्दाइ र  दुई जना काकाको घरमा बाँडियौं। आमा ठूल्दाइको घरमा बस्नुभयो।  

हामी पुगेकै दिन गाउँलेहरूले बाहिरबाट आएको भन्दै क्वारेन्टाइनमा बस्नुपर्छ भनेर भन्न थाल्नुभयो। त्यही दिन हामी सबैजना क्याम्पसमा रहेको क्वारेन्टाइनमा बस्न थाल्यौं।

त्यसपछि २५ गतेतिर होला हामी सबैको स्वाब र रगतको नमूना जाँच गर्न संकलन गरेर लगियो। हामी क्वारेन्टाइनमै थियौं। २९ गते हामीलाई वडाअध्यक्ष र त्यहाँ रहेका स्वास्थ्यकर्मीले तपाईंहरू सबैको नतिजा नेगेटिभ आयो भन्नुभो।

हामी सबै खुसी भयौं। त्यहाँबाट हामीलाई एक हप्ता होम क्वारेन्टाइनमा बस्नु भनेर पठाइयो। आमा फेरि ठूल्दाइकोमा जानुभयो।

कोरोना नदेखिएपछि हामी सबै खुसीसाथ बसिरहेका थियौं। आज बिहान पनि सदाझैं खाना खाने तरखर हुँदै थियो तर एउटा टोली आएर ‘आमाको पोजेटिभ देखियो तपाईंहरू फेरि क्वारेन्टाइनमा जानुपर्‍यो’ भन्नुभयो। हामी सबै छक्क पर्यौं। एकचोटी नेगेटिभ आएको नतिजा फेरि पोजेटिभ कसरी आयो त्यो हामीलाई थाहा भएन।

आमाले त्यो सुन्नसाथ केही बोल्नुभएन। एकदम डराउनुभयो। अस्पताल जाँदा पनि आमाले एकवचन पनि बोल्नुभएन। हामीले उहाँलाई केही हुँदैन भनेर सम्झायौं।

आमालाई पहिल्यैदेखि दम र प्रेसरको समस्या छ। उहाँले प्रेसरको औषधी खाइरहनुभएको छ। दमकोचाहिँ कहिलेकाहीँ मात्र खानुहुन्छ। हामीसँग सबैको औषधी खाने पैसा कहाँ हुन्छ र।

आमालाई पोजेटिभ देखिएकामा हामी सबै चकित छौं। बरू हामी बजार डुल्यौं, बाहिर आवतजावत हुन्थ्यो। बिचरा घरमै बस्ने आमालाई कसरी भयो। फेरि आमालाई त्यस्तो कुनै लक्षण पनि देखिएको छैन। बुवा पनि छक्क परिरहनुभएको छ।

आमालाई त्यस्तो भएपछि हामी १६ जना फेरि क्वारेन्टाइनमा फर्केका छौं। अहिले यहीँ बसिरहेका छौं। हामी सबैलाई ठिकै छ। खोइ अब के-के गर्छ हेर्दै जाऊ।

(सोमबार कोरोना संक्रमण पुष्टि भएकी कैलालीकी महिलाका कान्छा छोरासँग  विवेक राईले गरेको कुराकानीमा आधारित।)

Related News

धनगढी-दिपायल द्रुतमार्ग कालोपत्र चाडै
धनगढी-दिपायल द्रुतमार्ग कालोपत्र चाडै
  • २०७७ बैशाख १

दिपायल – खुटिया–विपीनगर–दीपायल द्रुतमार्ग कालोपत्र हुने भएको छ । सडक...

TOP