कैलाली — सुदूरपश्चिम प्रदेश सरकार दोस्रो पटक बजेट शून्यता (बजेट होलिडे) को अवस्थामा पुगेको छ। आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक मामिला मन्त्री विक्रमसिंह धामी ले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेट असार मसान्तसम्म पनि पारित हुन नसकेपछि शुक्रबारदेखि सरकारले कुनै पनि शीर्षकमा खर्च गर्न सक्ने कानुनी आधार समाप्त भएको हो।
सरकारले ल्याएको बजेट समयमै पारित हुन नसक्दा प्रदेश सरकार खर्चविहीन अवस्थामा पुगेको हो। यद्यपि सामयिक राजस्व संकलन ऐन, २०८१ अनुसार राजस्व संकलन तथा नियमित सेवा प्रवाह भने निरन्तर रहने जनाइएको छ।
बजेट प्रस्तुत भएलगत्तै सत्तारुढ दल नेकपा (एमाले) ले बजेटप्रति असन्तुष्टि जनाउँदै पुनर्लेखनको माग गरेको थियो। त्यसपछि मुख्यमन्त्री कमलबहादुर शाह ले एमालेका चार मन्त्रीलाई पदमुक्त गरेका थिए। त्यसको प्रत्युत्तरमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको थियो।
अल्पमतमा परेको सरकारले बजेट पारित गराउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समर्थन खोजे पनि नेकपाले हालको बजेट यथास्थितिमा पारित गर्न नसकिने अडान लिएपछि बजेट समयमै पारित हुन सकेन।
एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल ले सरकारको अकर्मण्यताका कारण बजेट असफल भएको आरोप लगाउँदै मुख्यमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने बताएका छन्। उनले बजेट फेल भएसँगै सरकार पनि असफल भइसकेको दाबी गरे।
यस्तै, प्रमुख प्रतिपक्ष नेकपाका संसदीय दलका नेता खगराज भट्ट ले साझा समाधानका लागि सरकारले औपचारिक पहल नगरेको आरोप लगाए। उनका अनुसार सरकारले पुरानै बजेट पारित गरिदिन आग्रह गरे पनि नेकपाले सुरुदेखि नै उक्त बजेटलाई बेथितिपूर्ण भन्दै अस्वीकार गर्दै आएको थियो।
प्रदेश सरकारसँग बजेट पारित गर्न आवश्यक २७ सांसदको समर्थन छैन। कांग्रेससँग १८ र एमालेसँग ११ सांसद रहेका छन्। गठबन्धन विघटनपछि सरकारले आवश्यक बहुमत गुमाएको हो। यस्तो अवस्थामा अध्यादेशमार्फत पेस्की बजेट ल्याउने विकल्प हुँदाहुँदै पनि सरकारले त्यसतर्फ कदम नचालेको भन्दै आलोचना भइरहेको छ।
यसअघि पनि आर्थिक वर्ष २०८१/८२ मा बजेट समयमै पारित हुन नसक्दा सुदूरपश्चिम प्रदेश करिब तीन महिनासम्म बजेट शून्यताको अवस्थामा पुगेको थियो। तीन आर्थिक वर्षभित्र दोस्रो पटक दोहोरिएको यस घटनाले प्रदेश सरकारको वित्तीय व्यवस्थापन र राजनीतिक नेतृत्वमाथि गम्भीर प्रश्न उठाएको छ।
सुदूरपश्चिमसहित देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको...