२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

अन्तिम शोकसभा

मानव अस्तित्त्वलाई निरन्तरता दिने वा सँधैकालागि अन्त्य गर्ने भन्ने बिषयमा स्वर्गको जिल्ला अदालतबाट सुरु भएको मुद्धा पुनरावेदन हुँदै सर्वोच्च अदालतसम्म आइपुग्यो । उपलव्ध भएसम्म सबै किसिमका दशीप्रमाणहरुमा लामो बहस अनि छलफल भएपछि स्वर्गको सर्वोच्च अदालतको पूर्ण इजलासले तल्लो तहका अदालतका निर्णयहरुलाई समेत सदर गर्दै अब परान्त मानव अस्तित्वलाई निरन्तरता दिइरहन जरुरी छैन भन्ने अप्रिय निर्णय लियो । यसै निर्णयका आधारमा मानव सभ्यतामा सँंधैका लागि पूर्णविराम लाग्ने देखियो तर स्वर्गमा अनौठो प्रचलन छ । त्यो के भने, स्वर्गको सर्वोच्च अदालतले गरेको अन्तिम निर्णयमा पुनर्विचार गर्ने अधिकार ब्रम्ह्रा , बिष्णु अनि महेशलाई संयुक्तरुपमा प्रदान गरिएको छ ।

अदालतको अन्तिम आदेश आफूकहाँ पुगेपछि त्रीदेवले संयुक्तरुपमा बसेर त्यसको गहन अध्ययन अनुसन्धान गरे । उनीहरुको अध्ययनको सार पनि अब उपरान्त मानव अस्तित्त्वलाई निरन्तरता दिइनु हुन्न भन्ने भएपछि सर्वोच्चको निर्णयलाई जस्ताको त्यस्तै लागु गरियो । त्रीदेवले आफ्नो फैसलामा अन्तिम मोहर लगाए पछि विवेकपूर्ण निर्णय गरिएछ भनेर स्वर्गका प्रधान न्यायाधीशले आफ्नो टिमका सबै सहयागीहरुलाई धन्यवाद ज्ञापन गरे ।

यसको परिणाम के निस्कियो भने बादीहरुको फिरादको आधारमा गरिएको गोप्य निर्णयका अनुसार सर्वप्रथम घरतीबाट महिलाको अस्तित्व समाप्त हुने भयो । पहिलो चरणमा महिलाको अस्तित्व समाप्त भएपछि लोग्ने मानिसको अस्तित्व धेरैदिन टिक्ने कुरै भएन । अन्तिम लटका लोग्ने मानिसहरु पनि मर्दै गएपछि धर्ती पुरै रितो भयो । दाहासंस्कार गर्न नपाएर चारैतिर छरिएका लासमा स्याल , व्वाँसा , चिल अनि गिद्दहरु रजाईँ गर्न थाले । सिँगो वायुमण्डल मानिसको सिनोको चर्को गन्धको आहालमा डुब्यो । गाउँ सहरहरु एकएक गर्दै जङ्गलमा परिणत हुन थाले । वासिङ्टन डिसी , मस्को , बेइजिङ् , टोकियो , सिड्नी , लण्डन , दिल्ली लगाएत सहरका फराकिला सडकमा सिंह , बाघ , बदेल , अर्ना , हात्ती , गैंडा जस्ता जङ्गली जिवहरु निर्धक्कसँंग हिड्न थाले । गगनचुम्बी महलहरु किराफट्याङ्ग्रा अनि चराचुरुङ्गीका संयुक्त आवास बने । बुर्ज खलिफा , इफेलटावरहरु संसारका सबैभन्दा ठूला चमेरे गुफाहरु बन्न पुगे ।

नेपालकै कुरा गर्ने हो भने पनि सिंहदरवार , दशरथ रङ्गशाला , अन्तराष्ट्रिय सम्मेलन केन्द्र लगाएत ठूल्ठूला भवनहरुमा स्यालहरु रजाइँ गर्नथाले । स्वयम्भु र पशुपतिका वाँदरहरुले नारायणहिटीलाई स्थायी मुकाम बनाए । पर्साका अर्नाहरु जनकपुर , बिराटनगर , बिर्तामोड लगाएतका सहरतिर बसाई सरे । चितवनका हात्ती , गैंडा अनि बाघहरु बिरगन्ज , भैरहवा , लुम्बिनी , बुटवल लगायतका सहरमा छरिए । हरिण , चित्तल , जरायाहरु लगाएत प्रशस्त मात्रामा सिकार पाइने हुनाले बर्दियाका बाघहरु दाङ उपत्यका तिर बसाई सरे । गाउँ–सहरहरु समसान बनेपछि प्रकृति पुन ः गुल्जार बन्न पुग्यो । जतासुकै हरियाली नै हरियाली ।

उता स्वर्गमा :
धर्तीमा जीवित रहेको अन्तिम लोग्ने मान्छे मृत्युशैयामा अन्तिम पल्ट छट्पटाएर लमतन्न बनेपछि मानव सभ्यता संधैका लागि अन्त्य भएको यस ऐतिहासिक अवसरमा स्वर्गमा वृहद शोकसभाको आयोजना गरियो । सभाको सार यस्तो छ :

ब्रम्हा , बिष्णु अनि महेश सबैभन्दा माथिल्लो आसनमा बिराजमान छन् । महेश प्रमुख अतिथि रहेको यस कार्यक्रममा ब्रम्हा र बिष्णुले बिशिष्ट अतिथिको आसन ग्रहण गरिरहेका छन् । कार्यक्रमको सभापतित्व देवराज इन्द्रले समालेका छन् । अन्य देवगण पनि आफ्नो मर्यादाक्रम अनुसार यथा स्थानमा बसिरहेका छन् । कसैको अनुहारमा पनि खुसी छैन । सबै मलिन अनुहार लिएर घरी यमराज अनि घरी चित्रगुप्तको अनुहार हेरिरहेका छन् । मञ्चमा कार्यक्रम सञ्चालकको जिम्मेवारी निर्वाह गरिरहेका नारदको अनुहारमा पनि कुनै किसिमको उत्साह छैन । सर्वत्र सन्नाटा छाएको छ ।

नारदले मन्तव्यका लागि आग्रह गरेपछि ब्रम्हा आफ्नो आसनबाट उठेर बिस्तारै मञ्चतिर लागे । उनका पदचापमा कुनै किसिमको उत्साह अनि जागर छैन । मञ्चमा पुगेपछि उनले किन किन एकपट यमराज र अर्को पटक चित्रगुप्तको अनुहार हेरे । ब्रम्हाका भावबिह्रल आँखामा धेरै अनुत्तरित प्रश्नहरु गढिरहेको अनुमान जो कसैले पनि सजिलै लगाउन सक्छ । उनका सजल बनेका आँखाहरु धन्न रसायनन् मात्रै । मञ्मा पुगेपछि उनले भक्कानिएको स्वरमा सम्बोधन गर्न शुरु गरे :

“ उच्चस्तरीय अनि सर्वसम्मत निर्णय अनुसार हामीले आजकै मितिबाट मानव बिभाग अर्को व्यवस्था नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेका छौं । यसो गर्नु हाम्रो रहर नभएर बाध्यता हो । मानिसका प्रकृतिको नियम बिरोधी क्रियाकलापका कारण हामी आज यो अप्रिय निर्णय लिन बाध्य भएका छौं । मानिसका तमाम किसिमका ज्यादतीहरु हामीले लामो समयसम्म टुलुटुलु हेरेर सहेकै हाँैं । पटक पटक नसिहत दिँदा पनि नमानेपछि कसको के लाग्दो रै छ र ? अरुका लागि खनेको खाल्डोमा कुनै दिन आफै पर्नुपर्छ भनेको यही हो । अति गरे खति हुन्छ भन्ने कुरा मानिसले समयमै बुझ्न सकेको भए यस्तो दुर्भाग्यपूर्ण दिन आउने नै थिएन । प्रकृतिको नियम र बिधिको बिधानलाई निर्लज्ज ढङ्गले चुनौती दिँदा भोग्नुपर्ने परिणाम यस्तै हुन्छ । पापकर्म गर्नुको पनि हद पो हुन्छ त ?

भारी मन गरेर दुखका साथ भन्नु परिरहेको छ , अघि मरेको एकसय पन्ध्र वर्षको पुरुष मान्छे नै मानव जगतको अन्तिम प्राणी हुनेछ । हामीलाई थाहा छ हाम्रो यस निर्णयले मानिसलाई मात्र नभएर समग्र जीवजगतलाई प्रभावित पर्ने छ । खाद्य चक्र र जैविक बिबिधतामा यसको दुरगामी नकारात्मक प्रभाव पर्ने निश्चित छ तर कतिपय निर्णयहरु रहरले नभएर बाध्यताले पनि लिनुपर्दो रहेछ । हामीले मुटुमाथि ढुङ्गा राखेर यति अप्रिय निर्णय लिएका हौँ । हाम्रो यस निर्णयले मानव मृत्यु बिभागबाट बर्खास्थिमा पर्नुभएका हाकिम यमराज , त्यहाँका लेखापाल चित्रगुप्त तथा समग्र प्रेतगण प्रति हाम्रो गहिरो सहानुभूति छ । तपाईँहरुको वृति विकासमा कुनै किसिमको असर नपर्ने गरी तपाईँहरुलाई अन्य बिभागको जिम्मेवारी थप गरिने कुरामा मेरो ब्रम्ह्रा र बिष्णुसँंग छलफल चलिरहेको छ । यसैगरि मेरो मातहतमा रहेको तर हाल बन्द गरिएको मानव उत्पादन बिभागमा कार्यरत कर्मचारीहरुलाई एकतह बढुवा गरेर अन्य बिभागमा सरुवा गरिने छ ।

अन्तमा मानव अस्तित्व समाप्त भएकोमा गहिरो सहानुभूति राख्दै मेरो मन्तव्य यही बिसर्जन गर्न चाहन्छु ।

धन्यवाद ! ”

यति बोलेर ब्रम्हा मलिनो अनुहार पार्दै आफ्नो आसनमा गएर बसे । ब्रम्ह्राले मञ्च छोडेपछि कार्यक्रम सञ्चालकको आग्रह अनुसार बिष्णुले मञ्च समाले । आफ्ना मलिन अनि रुग्ण आँखाहरु सबैतिर दौडाएर पछि सुष्क अनि काँपेको स्वरमा उनले सम्वोधन गर्न सुरु गरे :

“ एकजना पालक भएको नाताले जिम्मेवारी त थोरै खुकुलो भएको पक्कै हो तर पनि आफ्ना सबै किसिमका सन्तानहरु मध्ये सबैभन्दा चेतनशील र विवेकशील प्राणीको अस्तित्व समाप्त भएकोमा मलाई ठूलो पिडा महसुस भएको छ । बिगत वर्षहरुमा केही न केही जीवहरु लोप भएर जाँदा दुःख त लाग्थ्यो नै तर यति बिधि दुःख कहिल्यै लागेन । महाप्रलयमा परेर डाइनोसर लोप हुँदा पनि म यति दुःखी भइन । पूर्ववक्ता श्रीमानले भन्नुभए झैँ मानव अस्तित्व हाम्रो कारणले भन्दा पनि आफ्नै कारणले यस्तो अवस्थामा आइपुगेको हो । सृष्टीको सुन्दर रचना हराएर जाँदा हामी कम्ता मर्माहत भएका छौं र ? तर के गर्नु विधिको विधानलाई कसैले टार्न सक्ने भए पो ? अब मानव पालक बिभागबाट अवकास लिन लाग्नुभएका सबै देवगणलाई अन्य बिभागमा सरुवा गर्न लागिएको कुरा पनि यसै समारोहमा अवगत गराउन चाहन्छु । समायोजनमा जानुहुने सम्पुर्ण कर्मचारीलाई आफूलाई पायक पर्ने बिभाग रोज्न पनि यसै सभाबाट अवगत गराउन चाहन्छु । सकभर कसैलाई पनि अपायक स्थानमा पठाइने छैन ।

हुन्छ त फेरिपनि मानव अस्तित्व लोप भएकोमा गहिरो दःुख तथा सहानुभूति प्रकट गर्दै आफ्नो मन्तव्य यहि समापन गर्ने अनुमति चाहन्छु ।

धन्यवाद ! ”

बिष्णुले मञ्च छोडेपछि नारदले पुलुक्क पारेर महेशको अनुहारमा हेरे । महेशलाई कुरा बुझ्न समय लागेन । कार्यक्रम सञ्चालकले केही बोल्नु अगावै मुख्य अतिथिको आसनमा बसेका उनले तुरुन्त मञ्चमा गएर माइक समाले । उनको अनुहारमा पनि कुनै किसिमको उत्साह र जागर छैन । बरु मञ्चमा बसेका सबैभन्दा दुःखी अनि उदास उनै देखिन्छन् । उनको काँधमा लत्रिएको नाग समेत उदास मुद्रामा छ आज । महेशले एकचरण सबैतिर रुन्चे आँखा डुलाएर आफ्नो सम्वोधन यसरी सुरु गरे :

“ पूर्ववक्ता साथीहरुले धेरै कुरा भनिसक्नु भएको छ । तर पनि मुख्य अतिथि भएको नाताले मैले पनि केही न केही त बोल्नै पर्छ । वास्तवमा भन्ने हो भने म आज जति दःुखी कहिल्यै भएन । चाहे दक्षप्रजापतीको अपमान सहन नसकेर सतीको इहलिला समाप्त हुँदा होस् वा चाहे गणेशको सुन्दर टाउको छिनालिएर हात्तीको भद्दा टाउको गाँस्दा होस् । कुनै समय यस्तो थियो कि म मानिस बिना संसारको कल्पना समेत गर्न सक्ने अवस्थामा थिएन तर कहिले काँहि नचिताएको कुरा पनि भैदिँदो रहेछ । जीवनको यस कालखण्डमा आएर मानवीय अस्तित्व बिनाको संसारको साक्षी बन्नुपर्दा साह«ै मर्माहत भएको छु । पूर्ववक्ता श्रीमान बिष्णुले भने जस्तै बिधिको बिधानलाई कसले पो टार्न सक्छ र ? जे भयो अत्यन्त दुःखद भयो । अब उपरान्त मसान घाटमा रहेका मेरा सबै शक्तिपीठहरु कैलाशतिर सार्ने निर्णयमा पुगेको छु । बिभिन्न शक्तिपीठदेखि दोबाटो चौबाटोमा मिल्काइएका मेरा सबै लिङ्गहरु तत्काल संकलन गर्न यसै सम्वोधनमार्फत निर्देशन दिन चाहन्छु । उपासकहरु नै नभएको संसारमा तिनलाई प्रदर्शन गरेर के काम ? बेरोजगार बन्न पुगेका मेरा सहयोगी मसानेहरुलाई यमराज र चित्रगुप्तसंँगै नयाँ बिभागमा सारिने छ । उता स्वर्ग उक्लने र नर्क झर्ने सबै सिढीँहरु तत्काल हटाउन निर्देशन दिन्छु । नर्कमा पापीहरुलाई उमाल्न प्रयोग गरिने जे जति कराहीहरु बाँकी छन् तिनलाई कवाडीहरुसंँग बेचेर त्यसबाट आएको रकम स्वर्गको अक्षयकोषमा जम्मा गरिदिनू । नर्कमा तेल के कति बाँकि छ ?त्यसको उचित भण्डारण गरेर यथार्थ विवरण कैलाशमा पठाउन निर्देशन दिन्छु । स्वर्गमा तत्काल मौजुद रहेका अप्सराहरुलाई अवकास दिइने छैन तर नयाँ दरबन्दी नथप्न यसै सम्बोधन मार्फत इन्द्रलाई निर्देशन दिन चाहन्छु ।

चिम्पाञ्जी , ढेडु र बाँदरहरुलाई बिस्तारै मानवमा रुपान्तरण गर्ने कि भनेर ब्रम्हासँंग हाम्रो गहन छलफल चलिरहेको छ । बिभिन्न चरणको वार्ता र छलफल पश्चात पनि हामी ठोस निर्णयमा पुगिसकेका छैनौ । फेरि मानव बिकासको प्रक्रिया हजारौं वर्ष लाग्ने लामो र झन्झटिलो भएकाले अर्को व्यवस्था नभएसम्मका लागि मानव बिभाग हेर्ने निकायहरु बन्द गरिएको घोषणा गर्दछु । ”

अन्तमा सृष्टिको सबै भन्दा सुन्दर रचनाको दुःखद अवसान भएको कुरामा गहिरो समवेदना व्यक्त गर्दै मेरो मन्तव्य यही बिसर्जन गर्न चाहन्छु ।

धन्यवाद ! ”

महेशले मञ्च छोडे । नारदले कार्यक्रमका सभाध्यक्षलाई सम्वोधनका लागि आग्रह गरेपछि इन्द्र मञ्चमा उक्लिए । अघिदेखि रुन्चे अनुहार लगाएर बसेका उनले काँपेको स्वरमा यसरी सम्वोधन गर्न सुरु गरे :

“सर्वप्रथम त मलाई मानव अस्तित्वको अन्तिम समारोहमा सभापतित्वको आसन ग्रहण गराउनु भएकोमा आयोजकहरुलाई बिशेष धन्यवाद दिन चाहन्छु । पूर्ववक्ता आदरणीय अग्रजहरुले भन्नु भएझँै मानव अस्तित्व आजकै मितिबाट समाप्त भएकोमा मलाई पनि अति दुःख लागेको छ । कुरा नर्कको मात्र होइन धर्तीबाट धर्मात्माहरु आउन छोडेपछि स्वर्गको चहलपहल समेत कम भएर जानेछ । अब उपरान्त स्वर्गमा देवगणको सङ्ख्या घटेर जाने छ भने हजारौं अप्सराहरु बेरोजगार बन्नेछन् । सबैभन्दा ठूलो कुरा त धर्तीमा रहेका देवगणहरु बिजनेस बिहीन बन्नेछन् । मानिसको अस्तित्व समाप्त भएकाले तपाईँहरु कि स्वर्गमा फर्किनुस् कि बाँदर , चिम्पान्जी अनि ढेडुहरुसंँग सहकार्य गरेर अगाडि बढ्नुस् भन्दा मान्न कोही राजी छैनन् । स्वर्गको निर्णयको बिरोधमा सबै एकमत भएर आन्दोलित भएका छन् भन्ने खवर आएको छ । वार्ताका लागि पठाएको स्वर्गको प्रतिनिधि मण्डललाई अपमानित गरेर पठाएछन् । प्रतिनिधि मण्डलका केही सदस्यहरुलाई चोटपटक पनि लागेको छ भन्ने सुनिन आएको छ । ब्रम्हा , बिष्णु अनि महेशबाहेक कसैसंँग पनि वार्ता गरिदैन भनेर केही अगुवाहरु अनसनमा बसेका छन् अरे भन्ने अपुष्ट समाचार आएको छ । यस बिषयमा मैले केहि अघि मञ्चमै बसेका बेला प्रभुहरुलाई अवगत गराइसकेको छुँ । मञ्चको औपचारिक कार्यक्रम समाप्त भएपछि यसै बिषयमा गहन बिचारबिर्मश गर्न तत्काल बसौँ भनेर प्रभुहरुले समय उपलब्ध गराउने मर्जी भएको छ । म उहाँहरुको सदासयता प्रति हार्दिक आभार ब्यक्त गर्न चाहन्छु ।

आजकै मितिबाट मानव अस्तित्व समाप्त भएकाले यसमा पुनर्विचार गर्ने अब कुनै गुञ्जायस छैन । तर प्रमुख अतिथि ज्यूले भन्नु भए जस्तै सुदूर भविष्यमा नै भएपनि बैकल्पिक मानवको बिकास गर्न सकिए आज देखिएका समस्याहरुको समाधान निस्कन सक्थ्यो । बरु नयाँ सिर्जना गरिने मानिस स्वार्थी नहोस् , वातावरण मैत्री अनि सृष्टिको नियम मैत्री होस् । यस बिषयमा पनि प्रभुहरुले गहन बिचार बिमर्श गर्नुहुनेछ भन्ने बिश्वास गर्न चाहन्छु ।

अन्तमा मानव अस्तित्व समाप्त भएकोमा गहिरो दुख व्यक्त गर्दै यो औपचारिक शोकसभा यही समाप्त भएको घोषणा गर्न चाहन्छु ।

धन्यवाद !”

मञ्चको कार्यक्रम समापन भएपछि सबै गरुङ्गो मन लिएर आ–आफ्नो गन्तव्यतिर लागे । कसैको अनुहारमा पनि न खुसी छ न त उमङ्ग नै । हरेकका उदास आँखाहरुमा मानव अस्तित्वको रिक्ततालाई सहजै अनुमान लगाउन सकिन्छ । ब्रम्हा , बिष्णु अनि महेश समेत एक अर्कासंग एक शब्द नबोलेर आ आफ्नो बाटो लागे ।

देवसभाबाट मानव सभ्यताको अन्त्य भएको औपचारिक घोषणा भएपछि धेरैलाई दःुख लागेपनि सबै भन्दा खुसी सभाहल बाहिर रहेका महिला भ्रुणहरु भए । आमाको गर्भमा लिङ्ग पहिचान गरिएपछि हत्या गरिएका उनीहरुले एक अर्कालाई अङ्गालो मारेर खुसी साटासाट गरे । तिनै भु्रणहरुले स्वर्गको अदालतमा दायर गरेको बिशेष मुद्धाको पक्षमा त्रिदेवले समेत मोहर लगाएपछि ब्रम्ह्राले गर्भवती आमाको कोखमा महिला भु्रणको प्रवेशमा रोक लगाएका थिए । त्यसकै परिणामस्वरुप आज बिहान अन्तिम लोग्नेमान्छे मरेपछि मानव अस्तित्व सधैँका लागि अन्त्य भएको हो ।

अस्तु,

Related News

माघे सग्राँती (मकर सङ्क्रान्ति)
माघे सग्राँती (मकर सङ्क्रान्ति)
  • २०७६ चैत्र १२

भक्त बहादुर बलायरप्रथम प्रकाशित मिती: २०७८ पुस २३पुनः प्रकाशित मिति...

TOP