धनगढी – सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको मातहतका प्रहरी इकाइहरूले कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका रु. ५ लाख ६० हजार ९३० बराबरका सामान बरामद गरेका छन्।
प्रहरीका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका–१५ कनरी र भजनी नगरपालिका–९ कुँडी क्षेत्रबाट अन्दाजी रु. २ लाख ४२ हजार ६५० बराबरका बिडी, सुर्ती, मिठाई, छोहरा, एक थान मोटरसाइकललगायतका सामान बेवारिसे अवस्थामा फेला पारिएको हो। ती सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।
त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका–११ चौकिसत्ता, दोधारा–चाँदनी नगरपालिका–३ बडुवाल टोल, वडा नं. ७ कञ्चभोज, पुनर्वास नगरपालिका–४ लोहनिचोक र वडा नं. ६ बुद्धचोक क्षेत्रबाट अन्दाजी रु. ३ लाख १८ हजार २८० बराबरका पेय पदार्थ, युरिया मल, साडी, पर्दा, प्याज, आलु, आँप, बल्ब, पटका, साबुन, सिरप, एक थान मोटरसाइकललगायतका सामान बेवारिसे अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको जनसम्पर्क तथा मिडिया समन्वय शाखाले जनाएको छ। प्रहरीले भन्सार छली नियन्त्रणका लागि सीमावर्ती क्षेत्रमा निगरानी तथा चेकजाँचलाई निरन्तरता दिइरहेको जनाएको छ।
बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते...