धनगढी – कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइनसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। विभिन्न अपरेशनका क्रममा हेरोइन बरामद गर्नुका साथै एक भारतीय कार, एक अटो र एक मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार कैलालीको भजनी नगरपालिका–६ नवलपुरबाट ८२० मिलिग्राम खैरो हेरोइनसहित जानकी गाउँपालिका–५ का २० वर्षीय अमर डगौरा थारु र २० वर्षीय रोहितकुमार चौधरी सोमबार साँझ पक्राउ परेका हुन्। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
त्यसैगरी धनगढी उपमहानगरपालिका–१३ राजपुर चोकबाट ७० मिलिग्राम खैरो हेरोइनसहित गोदावरी नगरपालिका–३ का २६ वर्षीय कृष्ण रावल पक्राउ परेका छन्। प्रहरीले उनले चलाएको सु.प.प्र.०१–००१ ह ४८५४ नम्बरको अटो समेत नियन्त्रणमा लिएको छ।
यस्तै गोदावरी नगरपालिका–८ श्रीपुरको भित्री सडकखण्डबाट १४० मिलिग्राम खैरो हेरोइनसहित निर्मल चौधरी (३५), कालु राम चौधरी (२७) र धनगढी उपमहानगरपालिका–५ की १८ वर्षीया किशोरी पक्राउ परेका छन्। उनीहरू सवार सु.प.प्र.०१–०१३ प २७३५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।
उता कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भाइरल रोड नजिकबाट ३ ग्राम खैरो हेरोइनसहित भिम सिंह धामी (२४), देबेन्द्रबहादुर चन्द (३१) र नरेश मल्ल पक्राउ परेका छन्। लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले DL 8 CBL 0923 नम्बरको भारतीय कार रोकी खानतलासी गर्दा उक्त लागूऔषध फेला परेको जनाएको छ।
प्रहरीले बरामद लागूऔषध, सवारीसाधन तथा पक्राउ परेका सबै व्यक्तिमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।
स्रोत: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी, कैलाली (जनसम्पर्क तथा मिडिया समन्वय शाखा)
बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते...