२०८० मंसिर २१, बिहीबार
December 7, 2023, Thursday

सेलायो डोटी सुन प्रकरण : प्रहरी भन्छ,‘अनुसन्धानमै छौं’

डोटी- डोटी प्रहरीले गत माघ १४ गते स्रोत नखुलेको एक किलो एक सय ग्राम सुन र १७ लाख ४७ हजार नगद बरामद गरेको थियो । सुन र नगदसँगै दुई जनालाई पक्राउ गरिएको थियो । पछिल्लो समय सो घटना सेलाउँदै गएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशी र इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायव निरीक्षक धर्मानन्द जोशी नेतृत्वको प्रहरी टोलीले दिपायलबाट नगद बोकेर तराई जाने क्रममा बृद्ध महिला काली भुललाई नगद सहित पक्राउ गरेको थियो । सो टोलीले नगद सहित पक्राउ परेकी केआईसिंह गाउँपालिका वडा नं. ६ भिताणीकी महिलाको घरमा छापा मारेर लुकाएर राखेको सुन बरामद गरेको थियो ।

सुन, नगद, सुन लुकाउने महिला र उनका छोराको बयान पछि उनिहरुलाई छोडिएको छ । सो घटनासँग जोडिएका अन्य ब्यक्तिहरुको खोजि भैरहेको र घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीले दाबी गरेको छ । सुन र नगद प्रहरीको नियन्त्रणमा छ ।

घटना सेलाउँदै जादा सो प्रकरणमा मुछिएकाहरुलाई सुन लुकाउने देखि फरार हुने अवसर मिलेको छ । ठुलो मात्रामा भित्रिएको सुन अन्य ब्यक्तिहरुले समेत बाडेर लगेको खुल्न आएको छ । प्रकरणमा जोडिएका अन्य व्यक्तिहरु अझै फरार छन् । पक्राउ परेकी महिलाले डोटीकै सुन पसलमा सुन बिक्रि गरेर नगद लिएको खुल्न आएको छ । उनले बयानमा समेत सुन डोटीमा बिक्रि गरेको बताएकी थिइन् । घटनासँग जोडीएका, भारतबाट मिलेमतोमा सुन भित्र्याउने ब्यक्तिहरु कहाँ छन् प्रहरी बेखबर छ नै स्रोत नखुलेको बिल विनाको सुन खरिद गर्ने व्यापारीबाट समेत सुन जफत गर्न सकेको छैन ।

जिल्लाको प्रहरी नेतृत्व समेत परिवर्तन भएको छ तर सुनका विषयमा प्रहरीले त्यती चासो नदेखाएको स्थानीयको आरोप छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले घटनाका विषयमा अनुसन्धान भैरहेको बताए । प्रहरीले अन्य सुन र व्यक्तिलाई यो बीचमा पक्राउ नगरिएको तर अनुसन्धान भैरहेको उनको भनाई छ ।

घटनाका विषयमा बुझ्दा प्रहरी नायव उपरीक्षकले मुद्धाफाटका ब्यक्तिसँग सम्पर्क गराए । उनले भारतीय दुताबास हुँदै हेडक्वाटर मार्फत आफुहरुलाई सूचना आएपछि सुन र नगद बरामद गरिएको बताए । आफुहरुले पनि पक्राउ गरिएको सुनका विषयमा हेडक्वाटर मार्फत दुताबासमा जानकारी गराएको तर उताबाट कुनै आदेश नआएको बताए । अनुसन्धान भैरहेको र अनुसन्धानमा खुलेका कुराहरु मिडियालाई भन्न नमिल्ने भन्दै घटनासँग सम्बन्धित व्यक्तिको खोजि भैरहेको जिल्ला प्रहरी कार्यालयको मुद्धाफाटका कर्मचारीले बताए । सुन खरिद गर्ने ब्यक्तिका विषयमा सोध्धा उनले भने,‘तत्काल अनुसन्धान भयो, तत्काल सम्बन्धित मान्छेलाई समातियो भने एकखालको रिजेल्ट आउथ्यो, लामो ग्याब भयो, सुन लुकाउने छिपाउने काम भयो होला, सोधपुछ गरिरहेकै छौं ।’

स्थानीयले सुन खरिद गर्ने व्यक्ति, प्रकरणसँग जोडिएका अन्य व्यक्तिहरुलाई प्रहरीले समात्न नसकेको र प्रकरणका विषयमा गम्भिर नभएको भन्दै विभिन्न आशंका गर्न थालेका छन् । प्रहरीको ढिलासुस्तिले घटना सेलाउँदै जानेमा चिन्ता व्यक्त गर्न थालिएको छ । सुन चोरी प्रकरणमा जोडिएका एक जना व्यक्ति भारतमा प्रहरीको नियन्त्रणमा रहेको र अन्य व्यक्तिहरु फरार रहेको स्रोत बताउँछ ।

घटनाका विषयमा पूर्ण अनुसन्धान हुन अझै एक बर्ष सम्म लाग्न सक्ने प्रहरी बताउँछ । सुन प्रकरणका बारेमा मिडियाहरुमा समाचार आएपनि प्रहरीले आधिकारीक रुपमा सुन र नगद सार्वजनिक गरेको छैन ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७७ फाल्गुन ६

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP