दिपायल — डोटीको सिलगढीमा जीप दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन्। घाइते सबैको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ।
दिपायल सिलगढी नगरपालिका–२ का चार्जर लामिछानेले चलाएको से १ ज ४७३ नम्बरको बोलेरो जीप शुक्रबार राति ७ः३० बजेको समयमा दिपायल सिलगढी नगरपालिका–६ अन्तर्गत पर्ने सिलगढी–झिग्राना सडकखण्डमा दुर्घटना भएको हो।
बग्लेकमा पारिवारिक वनभोज कार्यक्रम सम्पन्न गरी घर फर्किने क्रममा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले जानकारी दिए।
उनका अनुसार प्रहरीको प्रारम्भिक जानकारीमा जीपको ब्रेक फेल भएपछि सडकमा पल्टिएको खुलेको छ।
दुर्घटनामा दिपायल सिलगढी नगरपालिका–५, सिलगढीका ११ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। जीप चालक लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घाइतेहरूको विवरण
१. सञ्जय रजत (१३ वर्ष) — दायाँ खुट्टामा चोट, अवस्था सामान्य।
२. अञ्जली बागचन (२६ वर्ष) — घाँटी र टाउकोमा चोट, अवस्था सामान्य।
३. हेन्सन न्यौपाने (१२ वर्ष) — घाँटीमा चोट, अवस्था सामान्य।
४. अरमान सिंह (११ वर्ष) — बायाँ खुट्टा र टाउकोमा चोट, अवस्था सामान्य।
५. सम्झना टेलर (४० वर्ष) — टाउको र ढाडमा चोट, अवस्था सामान्य।
६. रवीन्द्र बागचन (५५ वर्ष) — बायाँ हात र बायाँ खुट्टामा चोट, अवस्था मध्यम।
७. सत्यदेवी बागचन (५३ वर्ष) — ढाडमा चोट, अवस्था मध्यम।
८. ग्रेट नेपाली (१४ वर्ष) — बायाँ हातमा चोट, अवस्था सामान्य।
९. दीपेन्द्र देवल (३१ वर्ष) — बायाँ हात र छातीमा चोट, अवस्था मध्यम।
१०. बर्मान नेपाली (११ वर्ष) — टाउको र दायाँ खुट्टामा चोट, अवस्था मध्यम।
११. सन्तोष देउजा (३८ वर्ष) — बायाँ खुट्टामा चोट, अवस्था सामान्य।
दिपायल – डोटीको बोगटान फुड्सिल गाउँपालिका–५ मा राष्ट्रिय प्रसारण...