काठमाडौं । नेपाली कांग्रेसले गठन गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय समन्वय समिति संयोजक (छाया सरकारका श्रममन्त्री) डा. डिला संग्रौलाले कोरोना महामारीका विदेशमा अलपत्र परेका श्रमिकहरुको तत्काल निःशुल्क उद्धार गर्न सरकारसँग माग गरेकी छन् ।
श्रम स्वीकृति लिएर गएका तर आफ्नो करार अवधि नपुगी कम्पनीले फर्किन बाध्य पारेका र कम्पनीले टिकट नदिएका श्रमिकहरुलाई सर्वोच्च अदालतको आदेशअनुसार श्रम कल्याणकारी कोषबाट उद्धार गरिनुपर्ने उनको माग छ ।
छाया श्रममन्त्री डा. संगौलाले बुधबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै भनेकी छन्, “विदेशमा समस्यामा परी फर्किनै पर्ने अवस्थाका हजारौँ श्रमिक दाजुभाइ–दिदिबहिनीहरुलाई दसैँ अगावै स्वदेश फर्काउन सके निःशुल्क, नसके कम शुल्कको उडानको व्यवस्था गर्दै श्रमिकहरुले नै तिर्ने गरी सात दिनको लागि होटल बुकिङ गर्नै पर्ने निर्णय फिर्ता लिएर होटलमा पैसा तिर्न नसक्ने श्रमिकहरुलाई निःशुल्क क्वारेन्टाइनको व्यवस्था गरियोस् ।”
विज्ञप्तिमार्फत् विदेशको विकासका लागि अनुभव बटुलेका श्रमिकहरुको सीपलाई प्रयोग गरेर देश विकासमा उनीहरुको सहभागितासहितको रोजगारी र स्वरोजगार ब्यापार–व्यवसाय गर्नेहरुलाई कम ब्याजदरमा सुलभ ऋण र अनुदानको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।
डा. संग्रौलाले कोरोना संकटभन्दा पहिले नै निधन भएका नेपालीहरुका शव विदेशमा अलपत्र रहेका स्मरण गराउँदै उनीहरुको शव यथाशीघ्र नेपाल ल्याएर सम्बन्धित परिवारलाई जिम्मा लगाउन पनि माग गरेकी छन् ।
नेतृ संग्रौलाले नेपाल फर्किन चाहने प्रवासी नेपालीलाई स्वदेश फिर्ता ल्याउने काममा सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासहरु, गैरआवासीय नेपाली संघका च्याप्टरहरु, अन्य सामाजिक संस्थाहरु र मध्यपूर्वमा रहेको श्रमिक सञ्जालसँग सहकार्य गर्न आग्रह गर्दै पटक–पटक सरकारको ध्यानाकर्षण गराइसकेकी छन् ।
छायामन्त्री संग्रौलाले मंगलबारमात्रै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रममन्त्री रामेश्वरराय यादव र पर्यटनमन्त्री योगेश भट्टराईलाई छुट्टाछुट्टै फोन गरेर विदेशमा अलपत्र परेका नेपालीहरुलाई जति सक्दो चाँडो नेपाल ल्याउन आग्रह गरेकी थिइन् ।
दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...