२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

तातोपानी नाका डेढ सातादेखि ठप्प, अर्बौंको आयात व्यापार प्रभावित

तातोपानी नाका डेढ सातादेखि ठप्प, अर्बौंको आयात व्यापार प्रभावित

काठमाडौं – चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएपछि डेढ सातादेखि आयात व्यापार पूर्ण रूपमा ठप्प भएको छ। सडक सञ्चालनमा ढिलाइ हुँदा करोडौं रुपैयाँ बराबरका मालसामान बोकेका कन्टेनर बाटोमै रोकिएका छन् भने व्यापारीहरूले सरकारको बेवास्ताप्रति असन्तुष्टि जनाएका छन्।

पहिरोले सडक अवरुद्ध, व्यापार ठप्प

बाह्रबिसे–तातोपानी सडकखण्डको करिब २६ किलोमिटर क्षेत्रमा विभिन्न स्थानमा पहिरो गएपछि चीनबाट नेपाल आउने मालवाहक सवारीसाधन सञ्चालन हुन सकेको छैन।

सडक अवरुद्ध हुँदा स्याउ, लसुनलगायतका खाद्य सामग्री बोकेका कन्टेनर अलपत्र परेका छन्। फलफूल कुहिन थालेपछि केही सामान भरियामार्फत भन्सार यार्डसम्म पुर्‍याउन थालिएको व्यवसायीहरूले बताएका छन्।

चीनतर्फ पनि मालसामान रोकियो

समस्या नेपालतर्फ मात्रै सीमित छैन। चीनका गोदाम र सडकमा थुप्रिएका मालसामान नेपाल ल्याउन नसकिएको व्यापारीहरूले बताएका छन्।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल हिमालय सीमापार वाणिज्य संघलगायतका व्यापारिक संस्थाले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले उत्तरी नाकाको समस्या समाधानमा प्रभावकारी पहल नगरेको आरोप लगाएका छन्।

ठेक्का रद्द गरेपछि मर्मत रोकियो

उक्त सडक मर्मतका लागि गत आर्थिक वर्षमा रु. ४८ करोड ४९ लाखमा ठेक्का सम्झौता भई काम सुरु भएको थियो। तर चीन सरकारले सडक निर्माण गर्ने आश्वासन दिएपछि सरकारले नेपाली ठेकेदारसँगको सम्झौता गत वैशाखमा रद्द गरेको थियो।

काम सुरु गरिसकेको ठेकेदारलाई सरकारले रु. ५४ लाख भुक्तानीसमेत गरेको थियो।

चार महिनासम्म पनि चिनियाँ पक्षले निर्माण प्रक्रिया अघि नबढाएपछि सडक अझै मर्मत हुन सकेको छैन।

राजस्वमा ठूलो असर

गत आर्थिक वर्षमा तातोपानी भन्सारबाट रु. १४ अर्ब ५२ करोड राजस्व संकलन भएको थियो।

चालु आर्थिक वर्षका लागि रु. २५ अर्ब राजस्व लक्ष्य निर्धारण गरिए पनि साउन महिनामा मात्रै रु. १ अर्ब ७६ करोड संकलन गर्ने लक्ष्य रहेकामा शुक्रबारसम्म रु. २ करोड ८९ लाख मात्र राजस्व उठेको तातोपानी भन्सार कार्यालयले जनाएको छ।

१५० भन्दा बढी कन्टेनर रोकिए

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार सीमामा करिब १५० वटा कन्टेनर रोकिएका छन्।

चाडपर्व नजिकिँदै गर्दा आयात हुने तयारी पोशाक, विद्युतीय सवारीसाधन (ईभी), कृषि औजार, फलफूल, जुत्ता, स्टेशनरी, फर्निचर, खेलौना, कस्मेटिक, उद्योगका कच्चा पदार्थलगायतका वस्तु प्रभावित भएका छन्।

स्थायी समाधानको माग

व्यवसायीहरूले सरकारले राजस्व संकलनमा मात्र ध्यान दिएको तर व्यापार सहजीकरणका लागि दीर्घकालीन समाधानतर्फ ध्यान नदिएको गुनासो गरेका छन्।

तातोपानी नाका २०७२ सालको भूकम्पपछि चार वर्ष बन्द रहेर पुनः सञ्चालनमा आए पनि बर्सेनि सडक अवरुद्ध हुँदा चीनसँगको व्यापार प्रभावित हुने समस्या दोहोरिँदै आएको व्यवसायीहरूको भनाइ छ।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०८३ श्रावण १०

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP