२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026, Sunday

निर्मलालाई न्याय माग्दै प्रधानमन्त्रीसहित शीर्ष नेताहरुको तस्बिरमा हजारौँहजार कमेन्ट

काठमाडौँ – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तलाई न्याय दिन माग गर्दै नेपालमा फेरि एक पटक ‘डिजिटल आन्दोलन’ चर्केको छ।

निर्मला पन्तका हत्यारालाई पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै सामाजिक सञ्जालमा ‘जस्टिस फर निर्मला’ अभियान छेडिएको हो।

सामाजिक सञ्जालका प्रयोगकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीसहित ओली मन्त्रिपरिषद्का अन्य मन्त्रीहरु र प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको फेसबुकको तस्बिरमा निर्मलालाई न्याय दिन माग गर्दै कमेन्ट गर्ने अभियान नै चलाएका छन्।

शीर्ष नेताहरुको तस्बिरमा आक्रामक रुपमा कमेन्टहरु गर्न थालिएको छ। यो समाचार तयार पार्दासम्म प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक फेसबुक पेजमा रहेको उनको ‘प्रोफाइल पिक्चर’मा जम्मा १ लाख ९३ हजार भन्दा धेरैले कमेन्ट गरेका छन् । ती मध्ये अधिकांशले निर्मला पन्तको न्यायको माग गरेका छन्।

यस्तै पूर्व प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेपाल प्रहरीको फेसबुक पेजमा लगायतका तस्बिरमा पनि कमेन्ट गरिएका छन्।

यस्तै फेसबुक प्रयोगकर्ताले गृहमन्त्री रामबहादुर थापा बादलको प्रोफाइल पिक्चरमा पनि निर्मलालाई न्याय दिन माग गर्दै कमेन्ट वर्षाएका छन्।

उनीहरुले निर्मला पन्तको तस्बिर अंकित पोस्टरमा सरकार भेटियो, न्याय भेटिएन उल्लेख गरेका छन्। न्यायमा हुने ढिलाई, न्याय अस्वीकार गर्नु सरह हुने कुरामा पनि सरकारलाई खबरदारी गरिएको छ।

निर्मलालाई न्याय दिन छेडिएको यो डिजिटल अभियानलाई महत्व दिन नेपालका प्रमुख सञ्चार माध्यमहरुलाई पनि सामाजिक सञ्जालबाट आग्रह भइरहेको छ। यस्तै सामाजिक सञ्जालको ग्रुपजस्तै (एमआरआर) मेन्स रुम रिलोडेडबाट पनि यो अभियान चलाइएको छ ।

युटुयुबमा केही समयअघि विनोद ह्यास ट्याग ट्रेन्डिङमा आएको थियो । कमेन्टमा विनोद लेख्ने सो क्रम भारतबाट सुरु भएको थियो । त्यसैगरी अहिले नेपालमा जस्टिस फर निर्मला पन्त ह्यास ट्याग अभियान चलिरहेको हो ।

कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । उक्त घटनाका दोषी हालसम्म पत्ता लाग्न सकेका छैनन्।

Related News

डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
  • २०७७ श्रावण ३२

सिलगढी – डोटी जेसीज बर्ष २०२६ को अध्यक्षमा डिल्लीराज जोशी...

TOP