२०८१ बैशाख ६, बिहीबार
April 18, 2024, Thursday

सर्वसाधारण बिरामीबाट शिक्षण अस्पतालले उठाएको १८ करोड बैंक खाताबाटै गायब

भवानीश्वर गौतम

अस्पतालको एक अर्ब बजेटमध्ये ७०% रकम बिरामीको शुल्कबाट उठ्छ, तीन वर्षपछि मात्र लेखापरीक्षण गराएको अस्पतालले बैंकमा राखेकोमध्ये १८ करोड रुपैयाँ भेटिएन, महालेखाले प्रश्न उठाएपछि त्रिविले थाल्यो छानबिन

सर्वसाधारणको उपचारबापत त्रिवि शिक्षण अस्पताल महाराजगन्जले उठाएको १८ करोड रुपैयाँ बैंकबाटै गायब भएको छ । अस्पतालको बैंक मौज्दातमा १८ करोड नभेटिएको भन्दै महालेखाले प्रश्न उठाएपछि त्रिभुवन विश्वविद्यालयले छानबिन सुरु गरेको छ  ।

शिक्षण अस्पतालले तीन वर्षसम्म लेखापरीक्षण गराएको थिएन । आर्थिक वर्ष ०७३÷७४ देखि ०७५/७६ सम्मको शिक्षण अस्पतालको लेखापरीक्षण एकैपटक भएको थियो । अस्पतालले विभिन्न बैंकका खातामा रहेको भनेको १७ करोड ९४ लाख ५८ हजार बैंकमा नभेटिएको महालेखाको ५७औँ प्रतिवेदनमा उल्लेख छ । तीन–तीन वर्षसम्म लेखापरीक्षण नगरिएकाले पनि रकम हिनामिना भएको हुन सक्ने आशंका त्रिभुवन विश्वविद्यालयका अधिकारीहरूको छ ।

अस्पतालको अभिलेखमा हिमालय बैंकलगायतका बैंकहरूमा ९८ करोड २७ लाख ७५ हजार मौज्दात रहेको उल्लेख भए पनि महालेखाले ८१ करोड ८३ लाख ६७ हजार मात्रै फेलापारेको छ, १६ करोड ४४ लाख आठ हजार गायब छ । त्यस्तै, नेपाल बैंक लिमिटेडमा रहेका पाँचवटा खाता, नबिल बैंक लिमिटेड र हिमालय बैंकमा रहेका एक–एक खातामा पनि अस्पतालले भनेअनुसार रकम मौज्दात नभेटिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । अस्पतालको स्रेस्ताअनुसार एक करोड ६२ लाख २० हजार बैंक मौज्दात हुनुपर्नेमा ११ लाख ७० हजार मात्र छ । एक करोड ५० लाख ५० हजार गायब छ । 

अस्पतालको १८ करोड गायब भएको विषयमा त्रिभुवन विश्वविद्यालयका अधिकारीहरू पनि आश्चर्यमा परेका छन् । अस्पतालको रेकर्डमा बैंकमा जम्मा गरेको उल्लेख गरेर अनियमितता गरिएको हो वा कर्मचारीमा लेखाको ज्ञान नभएर समस्या देखिएको हो भन्ने विषयमा त्रिविले छानबिन गर्ने तयारी गरेको छ । 

त्रिविले शिक्षण अस्पताललाई यस विषयमा स्पष्टीकरण सोधिसकेको छ । ‘बैंकमै रकम जम्मा नभएको विषयमा विस्तृत छानबिन नगरी वास्तविकता थाहा हुँदैन,’ त्रिविको आर्थिक प्रशासन महाशाखा प्रमुख कुमार हुमागाईंले भने, ‘अहिले प्रारम्भिक रूपमा स्पष्टीकरण सोधेका हौँ, अब समिति बनाएर विस्तृत छानबिन हुन्छ ।’ 

शिक्षण अस्पतालका कार्यकारी निर्देशक रोहित पोखरेलले कागजपत्रहरू चुस्त नहुँदा समस्या देखिएको बताए । ‘आन्तरिक लेखा परीक्षण गर्दा पनि यस्तै प्रश्न उठाइएको रहेछ । कागजपत्रहरू चुस्त नहुँदा यस्ता समस्या आएका हुन् । कागजहरू नहुँदा तीन वर्षसम्म लेखा परीक्षण पनि गराइएको रहेनछ,’ उनले भने । 

विगतमा कतिपय सामान एलसी खोलेर खरिद गरिएको, तर त्यसको लगत कट्टा नगरिँदा पनि समस्या देखिएको पोखरेलको भनाइ छ । ‘शिक्षण अस्पतालमा पुरानै समस्या रहेछ । लेखाको विषयमा म विस्तृत त जान्दिनँ, तर बुझेअनुसार कतिपय सामान एलसी खोलेर किनियो, त्यसो गर्दा बैंकबाट पैसा घट्यो । तर, त्यसको लगत कट्टा नहुँदा समस्या देखिएको हो भन्ने छ,’ उनले भने ।

पुरा पढ्नुस् https://www.nayapatrikadaily.com/news-details/49125/2020-08-13

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ श्रावण २९

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP