२०८३ भाद्र २, मंगलवार
August 18, 2026, Tuesday

कांग्रेस २.० मा आफू नरहेको वीरबहादुर बलायरको घोषणा

कांग्रेस २.० मा आफू नरहेको वीरबहादुर बलायरको घोषणा

काठमाडौं – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले कांग्रेस सभापति गगन थापाले अघि सारेको ‘कांग्रेस २.०’ अवधारणामा आफू समावेश नरहेको बताएका छन्।

संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै बलायरले ‘कांग्रेस २.०’ ले बीपी कोइरालादेखि शेरबहादुर देउवासम्मको कांग्रेसको राजनीतिक विरासतलाई अन्त्य गर्दै नयाँ सुरुवातको संकेत गरेको भन्दै आफू त्यसमा सहभागी नहुने बताएका हुन्।

‘आज कांग्रेस २.० भनेको छ। म त्यो कांग्रेस २.० भित्र पर्दैन। बाध्यात्मक रूपमा म त्यो टू प्लस जिरोभित्र पर्नुपर्ने हो भने म त्यो भित्र हुनेछैन,’ बलायरले भने।

उनले कांग्रेस २.० भन्नाले बीपीदेखि शेरबहादुरसम्मको कांग्रेसको अन्त्य र नयाँ व्यक्तिको सुरुवातबाट दोस्रो कांग्रेस निर्माण गर्न खोजिएको अर्थ लाग्ने टिप्पणी गरे।

‘किनकि २.० भनेको बीपीदेखि शेरबहादुरसम्मको कांग्रेसको अन्त र एउटा नयाँ व्यक्तिको सुरुवातबाट सुरु भएको दोस्रो कांग्रेस हो। त्यो कांग्रेसभित्र म पर्दैन। तपाईँ पर्नुहुन्छ कि पर्नुहुन्न, तपाईँले निर्णय गर्ने कुरा हो,’ उनले भने।

बीपीको समाजवादमा सम्झौता हुँदैन

बलायरले कांग्रेसले बीपी कोइरालाले अघि सारेको समाजवादको सिद्धान्तलाई जीवनपर्यन्त आत्मसात् गर्नुपर्ने बताए। आफूहरू बीपीको विचारका अनुयायी भएको भन्दै उनले त्यसमा कुनै सम्झौता हुन नसक्ने स्पष्ट पारे।

‘हामी त्यसका अनुयायी हौं, हाम्रो त्यसमा कसैसँग पनि सम्झौता हुनसक्दैन,’ बलायरले भने।

‘यहाँ संघर्षको विरासत बोकेको जमात छ’

राष्ट्रिय भेलामा सहभागी नेताहरूले लामो राजनीतिक संघर्षको विरासत बोकेको बलायरको दाबी थियो।

‘यहाँ उपस्थित भएको जमात संघर्षै–संघर्षको बथान हो। यो कुरा सानेपामा हुनेहरूलाई के थाहा ?’ उनले भने।

बलायरको उक्त अभिव्यक्तिले नेपाली कांग्रेसभित्र नेतृत्व, वैचारिक दिशा र पार्टीको आगामी स्वरूपलाई लिएर देखिएको आन्तरिक बहसलाई थप स्पष्ट रूपमा सतहमा ल्याएको छ।

Related News

वर्षौं बित्दा पनि भात्काँडा–बडाल–रेल सडक स्तरोन्नति भएन, स्थानीयलाई सास्ती
वर्षौं बित्दा पनि भात्काँडा–बडाल–रेल सडक स्तरोन्नति भएन, स्थानीयलाई सास्ती
  • २०८३ श्रावण २९

वर्षौं बित्दा पनि भात्काँडा–बडाल–रेल सडक स्तरोन्नति भएन, स्थानीयलाई सास्ती डडेल्धुरा...

TOP