डडेल्धुरा – गन्यापधुरा गाउँपालिका–१ भात्काँडादेखि बडाल हुँदै रेलसम्म पुग्ने सडक वर्षौं बितिसक्दा पनि स्तरोन्नति हुन नसक्दा स्थानीयले सास्ती खेप्दै आएका छन्। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गाउँ रुवाखोलासहित चारवटा गाउँलाई जोड्ने यो सडक स्थानीयका लागि ‘लाइफलाइन’ भए पनि निर्माणमा भइरहेको ढिलाइले समस्या थपिएको हो।
२०५४ सालमा उद्घाटन गरिएको सडकको भात्काँडा बजारदेखि अगाडिको करिब चार किलोमिटर खण्ड अझै कालोपत्र हुन सकेको छैन। सडक जीर्ण हुँदा वर्षायाममा हिलो र खाल्डाखुल्डी तथा अन्य समयमा धुलोका कारण स्थानीयले आवतजावतमा कठिनाइ भोग्दै आएका छन्।
भात्काँडा–बडाल–रेल सडक निर्माणका लागि एएनके–जोशी–मालिका जेभीले २०७८ सालमा ठेक्का लिएको थियो। २०८० सालभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि निर्धारित समयमा काम पूरा हुन सकेन।
त्यसपछि २०८२ सालसम्म म्याद थपिए पनि निर्माण कम्पनीले काम पूरा नगरी आयोजना अलपत्र पारेको स्थानीयको आरोप छ। निर्माण भएको केही कामसमेत गुणस्तरहीन रहेको उनीहरूको गुनासो छ।
शुक्रबार भात्काँडामा स्थानीयका गुनासा सुन्दै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सडकको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्। स्थानीयले निर्माणमा भइरहेको ढिलाइ, गुणस्तरहीन काम तथा पटक–पटक म्याद थपिँदासमेत आयोजना सम्पन्न नभएको विषय मन्त्रीसमक्ष उठाएका थिए।
स्थानीयले सडक डिभिजन कार्यालयले मन्त्री वा पूर्वप्रधानमन्त्री गाउँ आउने बेला मात्रै सडकका खाल्डाखुल्डी पुर्ने र अन्य समयमा सडकलाई लथालिङ अवस्थामा छाड्ने गरेको समेत गुनासो गरेका छन्। चुनावका बेला सडक निर्माणको विषयलाई प्रचारको माध्यम बनाइए पनि त्यसअनुसार काम नभएको उनीहरूको आरोप छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिव टंकप्रसाद अवस्थीले गाउँमा सडकसहित आवश्यक पूर्वाधारको अभावका कारण स्थानीय बसाइँ सर्न बाध्य भइरहेको बताए।
“वर्षौंदेखि सडक निर्माणको आश्वासन पाए पनि स्थानीयले सहज आवागमनको सुविधा पाउन सकेका छैनौँ,” उनले भने, “आधारभूत सुविधाकै कमीले यहाँबाट बसाइँ सर्ने क्रम घटेको छैन।”
सडक डिभिजन कुलपातेका डिभिजन प्रमुख रमेश भट्टराईका अनुसार हाल कार्यालयबाट चार किलोमिटर खण्डको मात्रै ठेक्का लागेको छ।
कुल सडक करिब ४० किलोमिटर रहेको र २५ किलोमिटरको डीपीआर तयार गर्दा आयोजनाको लागत एक अर्ब रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको उनले बताए।
यसले भात्काँडा–बडाल–रेल सडकको पूर्ण स्तरोन्नतिका लागि ठूलो लगानी आवश्यक पर्ने देखाएको छ। हाल भने चार किलोमिटर खण्डको ठेक्कामै काम सीमित रहेको छ।
यसैबीच मन्त्री लम्सालले भीमदत्त राजमार्गको गैरा–हगुल्टे–साहुखर्क क्षेत्रमा कालोपत्र गरेको दुई महिनामै पिच उप्किएको विषयमा समेत चासो देखाएका छन्।
मन्त्री लम्सालले उक्त क्षेत्रमा सडकको दीर्घकालीन समाधानका लागि ढलान गर्ने योजना रहेको बताएका छन्।
भात्काँडाका स्थानीयका गुनासा सुनेपछि उनले सडकसँग सम्बन्धित समस्या सम्बोधनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
सीमाबाट भारत जान लागेका ९८ जनालाई रोकियो, २१२ जनालाई आश्रय...