धनगढी – बाजुराका नौवटै स्थानीय तहका झण्डै ९३ गाउँबस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन्। तीमध्ये ४९ गाउँबस्ती तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहे पनि हालसम्म स्थानान्तरण हुन सकेका छैनन्।
भिरालो भूभाग, कमजोर भू–बनोट, नदी कटान, अव्यवस्थित सडक निर्माण तथा जलवायु परिवर्तनको बढ्दो असरका कारण जिल्लाका विभिन्न बस्ती जोखिममा परेका हुन्। विगतदेखि नै जोखिममा रहेका स्थानीयले पटक–पटक बस्ती स्थानान्तरणको माग गर्दै आए पनि त्यसको कार्यान्वयन हुन नसकेको गुनासो गरेका छन्।
बाजुराको बडीमालिका नगरपालिकामा १६, बुढीगङ्गा नगरपालिकामा १२, त्रिवेणी नगरपालिकामा १६, बुढीनन्दा नगरपालिकामा ११, गौमुल गाउँपालिकामा १२, खप्तड छेडेदह गाउँपालिकामा १०, जगन्नाथ गाउँपालिकामा पाँच, स्वामीकार्तिक खापर गाउँपालिकामा सात र हिमाली गाउँपालिकामा चार गाउँबस्ती पहिरोको जोखिममा रहेका छन्।
हिमाली गाउँपालिकाका कवाडी, क्वीडी, बोर्ता र बोल्डीक तथा स्वामीकार्तिक खापरका रुडी, छुदरी, पुडेनी, घट्टा, तल्लो जुकु, जेरा र डाँडावाडासलगायतका बस्ती स्थानान्तरणको प्रतीक्षामा छन्।
त्यस्तै, जगन्नाथका लुमा, आसवाडा र पैयापहिरोस, बुढीनन्दाका मटेला, पार्तोला, रावतवाडा, पिपलडाली र कोल्टी तथा बडीमालिकाका सल्लेना, मैमातोला, बिष्टवाडा, बथानलेख, उखाडी र जिल्लीस पनि जोखिममा रहेका छन्।
गौमुलका विभिन्न बस्ती, बुढीगङ्गाका अम्कोट, बजेडी, काप्रा, देनसायल, निमनी तथा बेलकाटियालगायतका बस्तीसमेत उच्च जोखिममा रहेको जनाइएको छ।
त्रिवेणीका सिम्ला, सिन्नेकोट, बमवाडा, पैमा र भाटगाउँ तथा खप्तड छेडेदहका आरुगाडा, धनाल्त, गुइबन, दोगडी, सिम्पाटा, नाइला, चदारवाडा, हातेखेल र गुम्लागाउँ पनि स्थानान्तरणको प्रतीक्षामा छन्।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा सार्नका लागि उपयुक्त ठाउँको पहिचान गरिएको छ। तर आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने र पर्याप्त स्रोतको अभावका कारण स्थानान्तरण कार्यान्वयन हुन सकेको छैन।
स्थानीय तहहरूले पिनालेख, चुथी, मैमातोला, खोया, चौसाल, बर्दादेवी क्षेत्र, करासैन, पाण्डुसैन, अम्लिस, बासैन, डोप्केगडा, चौढुङ्गा, मेलपाटा, खरिपाटा, बर्मे, मेलगड्यान, लमगाउँ, काडाकोट, कोट, गोत्री, मनिकाडा, सुईजिउला, कप्साडी, तिथिचौर, साँखा, धुलाचौर र युनाबगर क्षेत्रलाई सुरक्षित स्थानका रूपमा पहिचान गरेका छन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार २०७७ यता बाढीपहिरोलगायत विपद्जन्य घटनामा परी ६२ जनाले ज्यान गुमाएका छन्।
जोखिमको अवस्था पटक–पटक देखिँदै आए पनि बस्ती स्थानान्तरणको प्रक्रिया प्रभावकारी रूपमा अघि बढ्न नसक्दा वर्षायाममा स्थानीयको जोखिम थप बढ्ने गरेको छ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार जोखिममा रहेका बस्ती तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था भए पनि आवश्यक प्रक्रिया, बजेट र व्यवस्थापनको अभावमा कार्यान्वयनमा कठिनाइ भइरहेको छ।
बाजुरामा विगतका विपद्का घटनाबाट क्षति दोहोरिँदै आएको अवस्थामा जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा सार्ने कामलाई तत्काल प्राथमिकता दिनुपर्ने देखिएको छ।
वर्षौं बित्दा पनि भात्काँडा–बडाल–रेल सडक स्तरोन्नति भएन, स्थानीयलाई सास्ती डडेल्धुरा...