२०८३ भाद्र २, मंगलवार
August 18, 2026, Tuesday

सीमाबाट भारत जान लागेका ९८ जनालाई रोकियो, २१२ जनालाई आश्रय तथा सहयोग

सीमाबाट भारत जान लागेका ९८ जनालाई रोकियो, २१२ जनालाई आश्रय तथा सहयोग

पर्सा – माइती नेपाल वीरगन्ज आवधिक गृहले गत आर्थिक वर्ष २०८२/८३ मा भारततर्फ जान लागेका तथा विभिन्न जोखिममा परेका ९८ जनालाई सीमा नाकाबाट रोकेको छ। सोही अवधिमा २१२ जनालाई आश्रय, खानपान, उपचार तथा परामर्शलगायत सहयोग उपलब्ध गराइएको छ।

माइती नेपाल वीरगन्ज आवधिक गृहका अनुसार सीमा नाकामा जोखिमपूर्ण अवस्थामा रोकिएका ९८ जनामध्ये ६३ जना १९ वर्षभन्दा माथिका र ३५ जना १८ वर्षसम्मका थिए। जोखिममा परेकामध्ये अधिकांश वयस्क महिला रहेका छन्।

अभिलेखअनुसार सीमा नाकाबाट रोकिएका ९८ जनामध्ये आठ जना ब्राह्मण–क्षेत्री, ३४ जना आदिवासी/जनजाति, १० जना मुस्लिम, १२ जना दलित र एक जना नेवार समुदायका थिए। अन्य समूहका ३३ जना रहेका छन्।

हराएका १९ जनाको खोजी

माइती नेपालले गत आवमा हराएका १९ जनाको खोजी गरेको जनाएको छ। तीमध्ये १२ जनालाई सम्पर्कमा ल्याइएको थियो।

त्यस्तै, बलात्कारसम्बन्धी दुई, मानव बेचबिखनसम्बन्धी तीन र घरेलु हिंसासम्बन्धी सात घटनामा समेत कार्यालयले सहजीकरण गरेको जनाएको छ। भारतबाट फर्काइएका ३३ जनालाई पनि आवश्यक सहयोग उपलब्ध गराइएको थियो।

उद्धार तथा संरक्षणमा ल्याइएका महिला तथा किशोरीका लागि आवास, खानपान र उपचारको व्यवस्था गरिएको थियो। कानुनी सेवा आवश्यक पर्ने हिंसापीडितलाई कानुनी सहायता तथा हराएका व्यक्तिको खोजीमा प्रहरी प्रशासनसँग सहकार्य गरिएको माइती नेपालले जनाएको छ।

दैनिक १२ घण्टा सीमा निगरानी

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि माइती नेपालले सीमा क्षेत्रमा दैनिक बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म निगरानी तथा सूचना प्रवाह गर्ने गरेको जनाएको छ।

यस क्रममा महिला, बालिका, किशोरी तथा विद्यार्थीलाई लक्षित अभिमुखीकरण, सरोकारवालासँग अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो।

आव २०८२/८३ मा सीमा निगरानी तथा सूचना प्रवाह कार्यक्रममा २० हजार ४६० जना सहभागी भएका थिए। उद्धार, सेल्टर, परामर्श तथा पुनःस्थापनासम्बन्धी सेवाबाट २१२ जना र विभिन्न दिवस तथा जनचेतनामूलक कार्यक्रममा एक हजार २९० जना लाभान्वित भएका छन्।

सुरक्षित बसाइँसराइसम्बन्धी कार्यक्रममा २ हजार २४१ जनासम्म प्रत्यक्ष पहुँच पुगेको माइती नेपालले जनाएको छ।

रोजगारीको प्रलोभन मुख्य जोखिम

माइती नेपाल वीरगन्जकी गृह प्रमुख गोमा पौडेलले खुला तथा अत्यधिक आवतजावत हुने सीमा नाका भएकाले जोखिममा परेका महिला तथा किशोरीको निगरानी चुनौतीपूर्ण रहेको बताइन्।

उनका अनुसार रोजगारीको अवसर र आर्थिक प्रलोभनका कारण भारततर्फ जाने आकर्षण देखिने गरेको छ। स्थानीय समुदायमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी चेतना अझै बढाउन आवश्यक रहेको उनले बताइन्।

पौडेलका अनुसार सीमा क्षेत्रमा दलालले अभिभावकको प्रयोग गर्ने, सोधपुछका क्रममा समस्या सिर्जना गर्ने, टिकट बुकिङ गर्ने व्यक्तिले डर–त्रास देखाउने तथा भारततर्फ जाने क्रममा विभिन्न प्रलोभन देखाएर लैजान खोज्ने अवस्था देखिने गरेको छ।

खुला र धेरै आवतजावत हुने नाका भएकाले प्रत्येक व्यक्तिमाथि निरन्तर निगरानी गर्न कठिनाइ हुने उनको भनाइ छ।

 

Related News

वर्षौं बित्दा पनि भात्काँडा–बडाल–रेल सडक स्तरोन्नति भएन, स्थानीयलाई सास्ती
वर्षौं बित्दा पनि भात्काँडा–बडाल–रेल सडक स्तरोन्नति भएन, स्थानीयलाई सास्ती
  • २०८३ श्रावण ३०

वर्षौं बित्दा पनि भात्काँडा–बडाल–रेल सडक स्तरोन्नति भएन, स्थानीयलाई सास्ती डडेल्धुरा...

TOP