धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुखको कार्यालयले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेको छ।
प्रदेश प्रमुखको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम दिएको लिखित राजीनामा स्वीकृत गरिएको हो।
मुख्यमन्त्री शाहले २०८३ साउन २८ गते साँझ ६ः१० बजे प्रदेश प्रमुखसमक्ष राजीनामा दिएका थिए। उक्त राजीनामा साउन २८ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
राजीनामा स्वीकृत भएपछि नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाइएको हो।
प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री पदमा दाबी पेस गर्न इच्छुक प्रदेशसभा सदस्यले २०८३ साउन २९ गते शुक्रबार बिहान ११ बजेभित्र प्रदेश प्रमुखसमक्ष आफ्नो दाबी पेस गर्नुपर्नेछ।
यससँगै सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। अब प्रदेशसभामा बहुमत जुटाउन सक्ने दल वा दलहरूको समर्थनमा मुख्यमन्त्री पदका लागि दाबी पेस हुनेछ।
मुख्यमन्त्री शाहको राजीनामा स्वीकृत भएसँगै प्रदेशसभामा नयाँ राजनीतिक समीकरण बन्ने सम्भावना बढेको छ। निर्धारित समयभित्र प्राप्त दाबी र प्रदेशसभामा कायम रहेको बहुमतका आधारमा प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक प्रक्रिया अघि बढ्नेछ।
वर्षौं बित्दा पनि भात्काँडा–बडाल–रेल सडक स्तरोन्नति भएन, स्थानीयलाई सास्ती डडेल्धुरा...