२०८३ भाद्र २, मंगलवार
August 18, 2026, Tuesday

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्

डोटी – पूर्वीचौकी गाउँपालिका – शैंयाँस्थित आधारभूत अस्पताल सञ्चालनमा आएको करिब एक वर्ष बितिसक्दा पनि सेवा प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको स्थानीयले गुनासो गरेका छन्।

स्थानीयका अनुसार अस्पतालमा स्वास्थ्यकर्मी समयमै उपलब्ध नहुँदा एक सुत्केरी महिलाले अस्पताल पुग्नुअघि नै बाटोमै बच्चा जन्माउनुपर्ने अवस्था आएको हो।

सुत्केरी व्यथा लागेपछि महिलालाई स्टेचरमा बोकेर अस्पताल लैजान खोजिएको थियो। त्यस क्रममा अस्पतालका कर्मचारी तथा जनप्रतिनिधिसँग करिब एक घण्टासम्म पटक–पटक फोन सम्पर्क गरिए पनि समयमा स्वास्थ्यकर्मी उपलब्ध हुन नसकेको स्थानीयको भनाइ छ।

स्वास्थ्यकर्मी आउन ढिलाइ भएपछि स्थानीय युवाहरूले आफैं कर्मचारी खोजेर ल्याउने प्रयास गरेका थिए। अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै बच्चा जन्मिएपछि स्थानीय विष्णु खड्कासहितको युवाको टोलीले तत्काल उद्धार गरी महिला र नवजात शिशुलाई अस्पताल पुर्‍याएको जनाएको छ।

अस्पताल सञ्चालनमा आएको लामो समय बितिसक्दा पनि आकस्मिक अवस्थामा स्वास्थ्यकर्मी समयमै उपलब्ध नहुनु गम्भीर विषय भएको स्थानीयको भनाइ छ। उनीहरूले अस्पताल व्यवस्थापन, गाउँपालिका तथा सम्बन्धित निकायलाई घटनाबारे गम्भीर समीक्षा गरी सेवा प्रवाहमा देखिएका कमजोरी तत्काल सुधार गर्न माग गरेका छन्।

विशेषगरी प्रसूति सेवाजस्तो संवेदनशील अवस्थामा चौबीसै घण्टा आवश्यक स्वास्थ्यकर्मी र आकस्मिक सेवा उपलब्ध हुनुपर्ने स्थानीयको माग छ। स्वास्थ्यकर्मीको अनुपस्थितिले महिला र नवजात शिशुको स्वास्थ्य तथा ज्यानसमेत जोखिममा पर्न सक्ने उनीहरूको भनाइ छ।

घटनाले दुर्गम क्षेत्रमा निर्माण गरिएका आधारभूत अस्पतालका लागि भौतिक संरचना मात्र पर्याप्त नभई दक्ष जनशक्ति, नियमित सेवा र आकस्मिक अवस्थामा तत्काल उपचारको व्यवस्था पनि उत्तिकै आवश्यक रहेको देखाएको छ।

स्थानीयले घटनाको छानबिन गरी सेवा प्रवाहमा भएको कमजोरी र जिम्मेवारी स्पष्ट गर्न तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्न सम्बन्धित निकायसँग माग गरेका छन्।

Related News

वर्षौं बित्दा पनि भात्काँडा–बडाल–रेल सडक स्तरोन्नति भएन, स्थानीयलाई सास्ती
वर्षौं बित्दा पनि भात्काँडा–बडाल–रेल सडक स्तरोन्नति भएन, स्थानीयलाई सास्ती
  • २०८३ श्रावण २८

वर्षौं बित्दा पनि भात्काँडा–बडाल–रेल सडक स्तरोन्नति भएन, स्थानीयलाई सास्ती डडेल्धुरा...

TOP