२०८३ भाद्र २, मंगलवार
August 18, 2026, Tuesday

बजेट अभावमा धनगढीको प्रादेशिक आयुर्वेद चिकित्सालयका पूर्वाधार अलपत्र

बजेट अभावमा धनगढीको प्रादेशिक आयुर्वेद चिकित्सालयका पूर्वाधार अलपत्र

कैलाली ( प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढीको शौचालय एक वर्षसम्म बन्द हुँदा बिरामीलाई सास्ती भएको छ। भुइँतलाकै शौचालय बन्द भएपछि हिँड्डुल गर्न कठिनाइ भएका बिरामीसमेत भर्‍याङ चढेर माथिल्लो तलामा पुग्न बाध्य भएका थिए।

अस्पताल व्यवस्थापनले आन्तरिक स्रोतबाट खर्च जुटाएर एक वर्षपछि शौचालयको समस्या समाधान गरे पनि भवन निर्माण सम्पन्न भएको करिब पाँच वर्ष बितिसक्दा पनि अस्पतालको लिफ्ट सञ्चालनमा आउन सकेको छैन।

व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर बलायरका अनुसार प्रदेश सरकारले अस्पतालका लागि छुट्याएको रु। ५ लाख पुँजीगत बजेट सामान्य मर्मतसम्भारका लागि समेत पर्याप्त छैन। एउटा शौचालय मर्मतलगायतका कामका लागि रु। २० लाख जुटाउन एक वर्ष कुर्नुपरेको उनले बताए।

५० शय्याको अस्पताल, सञ्चालनमा ३० शय्या

धनगढी उपमहानगरपालिका–१३ राजपुरमा रहेको चिकित्सालय ५० शय्याको क्षमतामा सञ्चालन गर्ने गरी निर्माण गरिएको हो। तर आवश्यक जनशक्ति अभावका कारण हाल बढीमा ३० शय्यासम्म मात्र सेवा सञ्चालन गर्न सकिने अवस्था रहेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। ओमप्रकाश कलौनीले बताए।

चिकित्सालय तत्कालीन सेती अञ्चल आयुर्वेद चिकित्सालयबाट प्राप्त ६ जना स्थायी र २७ जना करार कर्मचारीको भरमा सञ्चालन भइरहेको छ। अस्पतालमा एमडी तहका विशेषज्ञ चिकित्सक एक जना मात्रै छन्।

नयाँ संगठन तथा व्यवस्थापन ९ओ एन्ड एम० सर्वेक्षण स्वीकृत नहुँदा आवश्यक जनशक्ति थप गर्न नसकिएको अस्पतालले जनाएको छ।

पाँच वर्षदेखि लिफ्ट सञ्चालनमा आएन

अशक्त, ज्येष्ठ नागरिक तथा हिँड्डुल गर्न कठिनाइ भएका बिरामीका लागि महत्वपूर्ण मानिएको लिफ्ट भवन निर्माणसँगै जडान भए पनि हालसम्म सञ्चालनमा आउन सकेको छैन।

निर्माण सम्पन्न भएपछि ठेकेदारले लिफ्ट हस्तान्तरण नगरेका कारण समस्या भएको व्यवस्थापन समितिले जनाएको छ। समस्या समाधानका लागि ठेकेदारलाई अन्तिम समयसीमा दिइएको र सुनुवाइ नभए कानुनी प्रक्रिया अघि बढाउने तयारी रहेको अध्यक्ष बलायरले बताए।

सेवाग्राही भने ३५ प्रतिशतले बढे

पूर्वाधार र जनशक्ति अभावका बाबजुद चिकित्सालयमा सेवा लिनेको सङ्ख्या भने बढिरहेको छ।

आर्थिक वर्ष २०८१र८२ मा ३५ हजार ६८१ जनाले सेवा लिएकोमा २०८२र८३ मा यो सङ्ख्या बढेर ४८ हजार १६५ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा करिब ३५ प्रतिशत वृद्धि हो।

नयाँ सेवाग्राहीको सङ्ख्या पनि २८ हजार १८३ बाट बढेर ३९ हजार ८५६ पुगेको छ।

चिकित्सालयमा बहिरङ्ग, अन्तरङ्ग, शल्य चिकित्सा, पञ्चकर्म, प्रयोगशाला, एक्स–रे, भिडियो एक्स–रे, इसिजी र योगलगायतका सेवा सञ्चालनमा छन्। पछिल्लो समय फिजियोथेरापी, स्वर्णविन्दु प्राशन, जालौका चिकित्सा, अग्निकर्म र बस्तीकर्मलगायत सेवा थप गरिएका छन्।

औषधि उत्पादन र निःशुल्क वितरण पनि बढ्यो

गत आर्थिक वर्षमा चिकित्सालयले ३२ प्रकारका औषधीय जडीबुटी प्रयोग गरी ११ प्रकारका आयुर्वेद औषधि उत्पादन गरेको जनाएको छ। उत्पादित औषधिको अनुमानित बजार मूल्य रु। १ करोडभन्दा बढी रहेको छ।

निःशुल्क औषधि पाउने सेवाग्राहीको सङ्ख्या पनि १८ हजार ३७० बाट बढेर २१ हजार ९११ पुगेको छ।

चिकित्सालयले सिंहदरबार वैद्यखानासँग ‘गभर्मेन्ट टू गभर्मेन्ट’ प्रक्रियामार्फत रु। ७६ लाख ४ हजार ४६१ बराबरका आयुर्वेद औषधि खरिदसमेत गरेको छ।

पूर्ण क्षमतामा सञ्चालनका लागि जनशक्ति र बजेट आवश्यक

अस्पताल प्रशासनले ५० शय्याको पूर्ण क्षमतामा सेवा सञ्चालन गर्न तत्काल नयाँ संगठन संरचना स्वीकृत गरी आवश्यक जनशक्ति व्यवस्थापन गर्नुपर्ने जनाएको छ।

पर्याप्त बजेट र जनशक्ति उपलब्ध भए पञ्चकर्म, पुनःस्थापना उपचार, क्षारसूत्र तथा जीवनशैलीजन्य रोग व्यवस्थापनलगायत सेवा थप विस्तार गर्न सकिने अस्पतालको भनाइ छ।

व्यवस्थापन समिति सदस्य शिवनारायण रानाले नागरिकको आकर्षण बढिरहेको अवस्थामा अस्पतालको पूर्वाधार र सेवा विस्तारका लागि प्रदेश सरकारले प्राथमिकता बढाउनुपर्ने बताए।

स्रोतस् सम्बन्धित चिकित्सालय तथा व्यवस्थापनका पदाधिकारीहरूको भनाइमा आधारित।

Related News

वर्षौं बित्दा पनि भात्काँडा–बडाल–रेल सडक स्तरोन्नति भएन, स्थानीयलाई सास्ती
वर्षौं बित्दा पनि भात्काँडा–बडाल–रेल सडक स्तरोन्नति भएन, स्थानीयलाई सास्ती
  • २०८३ श्रावण २८

वर्षौं बित्दा पनि भात्काँडा–बडाल–रेल सडक स्तरोन्नति भएन, स्थानीयलाई सास्ती डडेल्धुरा...

TOP