२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

दार्चुलाको चमेलिया नदीमा २८.३० मेगावाटको नयाँ जलविद्युत् आयोजना बन्ने

दार्चुलाको चमेलिया नदीमा २८.३० मेगावाटको नयाँ जलविद्युत् आयोजना बन्ने

दार्चुला – सुदूरपश्चिम प्रदेशको जलविद्युत् सम्भावनायुक्त चमेलिया नदीमा थप २८.३० मेगावाट क्षमताको ‘मध्य चमेलिया जलविद्युत् आयोजना’ निर्माण हुने भएको छ। दार्चुला पावर कम्पनी प्रवर्द्धक रहेको उक्त आयोजना दार्चुलाको मार्मा गाउँपालिकास्थित अपी नाम्पा संरक्षण क्षेत्रभित्र निर्माण गरिनेछ।

नदी प्रवाहमा आधारित आयोजनाले २०८१ चैत १३ गते विद्युत् विकास विभागबाट विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको छ। आयोजनाका सम्पूर्ण संरचना चमेलिया नदीको बायाँ किनारमा रहने गरी प्रस्ताव गरिएको छ।

पूरक वातावरणीय अध्ययन सुरु

आयोजनाको डिजाइन परिवर्तन तथा केही संरचनाको स्थानान्तरण गरिएकाले त्यसबाट पर्न सक्ने वातावरणीय प्रभावको मूल्याङ्कन गर्न कृषि, वन तथा वातावरण मन्त्रालयले पूरक वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रक्रिया अघि बढाएको छ। यसका लागि मन्त्रालयले सोमबार सार्वजनिक सूचना जारी गरेको हो।

यसअघि २०८० चैत ७ गते आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत भएको थियो भने २०८२ पुस २१ गते पूरक वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययनका लागि सहमति प्रदान गरिएको थियो।

विद्युत् खरिद सम्झौता र वित्तीय व्यवस्थापन सम्पन्न

आयोजनाका लागि नेपाल विद्युत् प्राधिकरणचमेलिया पावर लिमिटेडबीच २०८० असोज २९ गते विद्युत् खरिद–बिक्री सम्झौता (PPA) सम्पन्न भइसकेको छ।

यस्तै, २०८२ जेठ २१ गते आयोजनाको वित्तीय व्यवस्थापनसमेत पूरा भइसकेको जनाइएको छ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

प्रस्तावित आयोजना दार्चुलाको गोकुलेश्वरबाट करिब ३० किलोमिटर उत्तर–पश्चिम क्षेत्रमा अवस्थित छ। आयोजनाको माथिल्लो भागमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजना र तल्लो भागमा ३० मेगावाट क्षमताको चमेलिया खोला जलविद्युत् आयोजना सञ्चालनमा छन्।

उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको बलाच सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।

आयोजनाबाट वर्षायाममा ११८.५२ गिगावाट घण्टा तथा हिउँदमा ६७.१० गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ।

करिब तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको कुल लागत रु ६ अर्ब २३ करोड ६२ लाख ६७ हजार ३९० रहने जनाइएको छ।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०८३ श्रावण १२

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP