२०८३ श्रावण ११, सोमबार
July 27, 2026, Monday

बैंकको चर्को व्याजविरुद्ध कैलालीका व्यवसायी आन्दोलित

दिपायल – नेपाल सरकारको मौद्रिक नीति, बैंक तथा वित्तिय संस्थाले बढाएको चर्को व्याजदरविरुद्ध कैलालीका उद्योगी व्यवसायी आन्दोलनमा उत्रेका छन्।

कोरोना संक्रमणका कारण थलापरेको व्यवसाय उकास्ने नीति ल्याउनुको सट्टा चर्को व्याज असुलेर व्यवसायीलाई झनै समस्यामा पार्ने काम भएको भन्दै व्यवसायी आन्दोलनमा उत्रेका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघले बैंक तथा वित्तीय संस्थाले बढाएको चर्को व्याजदर कम गर्न कुनै भूमिका नखेलेको भन्दै रुष्ट व्यवसायीले कैलालीबाट आन्दोलन सुरु गरी देशभर फैलाउने चेतावनीसमेत दिएका छन्।

सोमबार कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाल उद्योग वणिज्य संघका प्रदेश उपाध्यक्ष अनील भुजनियाले भने, ‘उद्योग वाणिज्य महासंघको केन्द्रीय टीममध्ये केही पदमा रहेका व्यक्तिको बैंकमा लगानी रहेछ, जसका कारण उनीहरुले बैंकको चर्को व्याजबाट व्यवसायी समस्यामा पर्दा पनि कुनै प्रतिक्रिया दिएका छैनन्, तर प्रदेश कमिटी साना व्यवसायीको पक्षमा छ, आन्दोलनमा पूर्ण समर्थन गर्नेछ।’

उनले बैंक तथा वित्तीय संस्थाले कालोबजारी गरेको आरोपसमेत लगाए। ‘बैंकहरुले राष्ट्र बैंकबाट बढी मूल्यमा निक्षेप लगेका छन्,’ उपाध्यक्ष भुजनियाले भने, ‘त्यो निक्षेपको नोक्सानी असुली गर्न ब्याज बढाइएको हो, यो भनेको बैंक तथा वित्तीय संस्थाको सरासर कालोबजारी हो, आर्थिक मन्दी भन्ने बहाना मात्रै हो।’

कैलाली उद्योग वाणज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले पहिलो दिन आन्दोलन स्वरुप धनगढी चौराहदेखि पार्कमोडसम्म र्‍याली निकालिने बताए। त्यसैगरी १० गते उद्योगी दुर्गा प्रसाईले आयोजना गरेको विरोध कार्यक्रमलाई समर्थन गर्ने ओझाले बताए।

१० गतेसम्म सरकारले व्यवसायीका मागप्रति कुनै सुनुवाइ नगरेको अवस्थामा ११ गते अर्को बैठक बसी आगामी आन्दोलनका कार्यक्रम तय गरिने उनले बताए। आन्दोलनबाट पर्ने असरको जिम्मेवारी सरकारले लग्नुपर्ने उनले बताए।

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हुने आन्दोलनमा अन्य वस्तुगत संघ, संगठनले समेत ऐक्यवद्धता जनाएका छन्। ऐक्यवद्धता जनाउने संस्थाहरुमा उत्तरिया उद्योग वाणिज्य संघ, होटेल व्यवसायी संघ कैलाली, हार्डवेयर व्यवसायी संघ कैलाली, सुनचाँदी व्यवसायी संघ कैलालीलगायत रहेका छन्।

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०७९ फाल्गुन ९

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP