२०८३ श्रावण ११, सोमबार
July 27, 2026, Monday

डोटीमा शिशु हत्या गर्ने आमालाई ४ वर्ष कैद, गर्भ बोक्न बाध्य पार्ने पुरुषलाई जन्मकैद

डोटी – अवैध गर्भधारणबाट जन्मिएकी नवजात शिशुको हत्या गर्ने आमा भन्दा पनि अवैध गर्भधारण गर्न बाध्य बनाउने पुरुषलाई मुख्य जिम्मेवार ठहर गर्दै उच्च अदालत दिपायलले मंगलबार एउटा ऐतिहासिक फैसला गरेको छ। भाउजू नाताकी महिलालाई अवैध गर्भधारण गराई शिशु हत्या भएको घटनामा उच्च अदालतका कायम मुकायम मुख्य न्यायाधीश टेक नारायण कुँवर र जगत बहादुर थापाको संयुक्त इजलासले राजकुमार बडुवाललाई जन्मकैदको सजाय सुनाएको हो।

अवैध गर्भधारण पछि शिशु जन्मेको ३४ दिनमा नवजात शिशुको हत्या गरेको अभियोगमा यसअघि बाजुरा जिल्ला अदालतले आमालाई मात्र ४ वर्ष कैद गर्ने फैसला गरेको थियो । अहिले उच्च अदालतले गर्भ बोकाउने व्यक्तिलाई पनि बढी जिम्मेवार बनाएको छ।

यसअघि जिल्ला अदालतले गर्भ बोकाउने बडुवाललाई भने निर्दोष भन्दै सफाई दिएको थियो। तर उच्च अदालत दिपायलले भने त्यो फैसला उल्ट्याउँदै गर्भ बोकाउने बडुवाललाई बढी जिम्मेवार मान्दै जन्म कैदको सजाय गरेको हो।

शिशु हत्यामा गर्भ बोकाउने व्यक्तिलाई नै जन्मकैदको सजाय भएको यो पहिलो घटना हो। शिशु हत्याका अधिकांश मुद्दाहरूमा सन्तान जन्माउने आमालाई मात्र सजाय हुने गरिएको अवस्थामा अवैध गर्भधारण गराउने व्यक्तिलाई मुख्य कसूरवार तथा जिम्मेवार मान्दै उच्च अदालत दिपायलले फरक फैसला गरेको छ।

‘लोग्ने घरमा नभएको बेला भाउजूलाई करणी गर्न बाध्य पार्ने, अवैध गर्भाधान गराउने, शिशु जन्मेपछि गर्भ बोकाउने व्यक्तिको कथित सामाजिक लाज जोगाउन समेत महिलाले नै जीबन बलिदान दिई आजन्म जेल बसि दिनुपर्ने भन्ने सोच पुरुषप्रधान समाजको महिला माथिको यौन हिंसा मात्र नभई अपमानजन्य चरम शोषणको उपज हो,’ उच्च अदालतले गरेको उक्त फैसलामा भनिएको छ,‘यस्तो कसूरमा कसूरको जरियाको रूपमा रहेको लोग्ने मानिसले कसूरबाट सफाई पाउने महिलाले जन्मकैद बस्नु पर्ने सामाजिक न्यायको दृष्टिमा समेत न्यायोचित हुन आउँदैन। तसर्थ शुरू अदालतको फैसलामा गम्भीर त्रुटि देखिन्छ ।’

घटना विवरणअनुसार प्रतिवादी बडुवालले भाउजुलाई करणी गरी पेटमा गर्भ हुर्किदै गएको थियो। अब के गर्ने भनी भाउजूले राजकुमार बडुवालसँग कुरा गर्दा परेको म बेहोर्छु भनेर आश्वासन दिएका थिए। उनले बच्चा जन्मिएपछि मार्ने बताएका थिए भने सोही अनुसार जन्मेको ३४ औं दिनमै विषाक्त रस खुवाई मारेको भन्ने जाहेरी परेको थियो।

उक्त अपराध गराउनमा ती महिला र राजकुमार बडुवाल संलग्न भएकोमा कसूरको मात्रा हेरी राजकुमारलाई मुख्य कसूरदार मानी जन्मकैदको सजाय गरिएको हो। हत्यामा विषाक्त रस ल्याएर खुवाउन सहयोग गरेकी महिलाकी जेठानीलाई समेत ६ महिना कैदको सजाय उच्च अदालत दिपायलले गरेको छ। शिशुको २०६९ जेठ २७ गते हत्या भएको थियो।

लोकान्तरबाट

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०७८ माघ १९

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP