२०८३ श्रावण ६, बुधबार
July 22, 2026, Wednesday

डोटीमा माघे संक्रान्तिका लागि तरुल किन्नेको भीड

डोटी – जिल्लामा माघी पर्व नजिकिएसँगै यहाँका सहर तथा गाउँघरका बजारमा तरुल, पिडालु सखरखण्डलगायत कन्दमुल किन्न मानिसको निकै भीड बढ्न थालेको छ। यहाँका प्रमुख व्यापारी केन्द्र पिपल्ला, दिपायल, राजपुर, सिलगढी तथा अन्य बजार बुडर, गैरा, विपीनगरमा जङ्लमा पाइने तरुल किन्नेको निकै भीड लाग्न थालेको छ। माघी पर्वका लागि भन्दै जिल्ला बाहिर गएका पनि घर फर्किन थालेपछि यहाँ चहलपहल बढ्दै गएको हो।
जिल्लामा अहिले जङ्गली तरुलको मूल्य ठाउँअनुसार प्रतिकिलो ८० देखि रु १०० सम्म पर्ने गरेको जोरायल गाउँपालिका–१ गैराकी भावना बोहराले बताए। उनले भने, “माघ १ गते जङ्गली तरुल खानुपर्छ भन्ने धार्मिक मान्यताले किन्ने व्यक्तिको भीड बढेको हो, तरुलको मूल्य पनि एकाएक वृद्धि भएको छ।”

कामका लागि भारतमा गएका पनि अहिले धमाधम आफ्ना घर फर्किन थालेका र उनीहरुसँगै कोरोना भाइरस पनि आउने क्रम बढेको भन्दै गाउँघरका तरुल व्यापारी तरुल लिएर बजारमा आउन कम गरेकाले सहर बजारमा जङ्गली तरुलको अभाव भएको देउवा तरकारी तथा फलफूल पसलका सञ्चालक ध्वजबहादुर देउवाले बताए। उनले भने, “ग्राहकले जङ्गली तरुल बढी खोज्छन्, कोरोना त्रासले गाउँबाट जङ्गली तरुल आएको छैन्, जङ्गली तरुल नपाउँदा घर करेसामै उत्पादन गरिएका तरुल बिक्री गर्दै आएका छौँ, माग बमोजिम त्यही पनि पुग्दैन।” देउजाका अनुसार अहिले दिपायल, राजपुर तथा पिपल्ला बजारमा मात्रै दैनिक कम्तीमा पनि एक क्विण्टल घरेलु तरुल बिक्री हुँदै आएको छ।

कोरोना महामारीको त्रासले यहाँका बजारमा पहिलेको वर्षजस्तो तरुल व्यापार भने नभएको सम्बद्ध व्यापारीको भनाइ थियो। गाउँबाट जङ्गली तरुल नआएका कारण यहाँका गाउँघरमा उत्पादन गरिएका घरेलु तरुलको मूल्य बढेको दिपायल राजपुरका चक्रबहादुर कठायतले बताए। उनले भने, “गाउँबाट जङ्गली तरुल आउन छोड्यो, घरेलु तरुलको पनि मूल्य बढेको र मुस्किलले पाउन थालेको छ, पहिले ४० मा पाउने घरेलु तरुल अहिले एकाएक १०० भयो।”

Related News

बझाङमा ४.२ म्याग्निच्युडको भूकम्प, सुदूरपश्चिमका जिल्लामा धक्का महसुस
बझाङमा ४.२ म्याग्निच्युडको भूकम्प, सुदूरपश्चिमका जिल्लामा धक्का महसुस
  • २०७८ पुष ३०

बझाङमा ४.२ म्याग्निच्युडको भूकम्प, सुदूरपश्चिमका जिल्लामा धक्का महसुस बझाङ –...

TOP