२०८३ कार्तिक २८, शुक्रबार
November 13, 2026, Friday

देशभर ६६ विपद्का घटना, सुदूरपश्चिमका जिल्लामा पनि उच्च जोखिम; २४ घण्टामा २ जनाको मृत्यु

देशभर ६६ विपद्का घटना, सुदूरपश्चिमका जिल्लामा पनि उच्च जोखिम; २४ घण्टामा २ जनाको मृत्यु

काठमाडौं/धनगढी – पछिल्लो २४ घण्टामा देशभर ६६ वटा विपद्जन्य घटना दर्ता भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का अनुसार विपद्का कारण ५२ जिल्ला प्रभावित भएका छन्। प्रभावित जिल्लामध्ये सुदूरपश्चिम प्रदेशका पहाडी र तराई जिल्लामा पनि बाढी, पहिरो र अविरल वर्षाको जोखिम उच्च रहेको भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्राधिकरणका अनुसार सोमबार बिहानदेखि मंगलबार बिहानसम्म भएका विपद्का घटनामा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। साथै विभिन्न घटनाबाट रु. १० लाख ७४ हजार ५०० बराबरको आर्थिक क्षति भएको छ।

पहिरो, बाढी र वर्षाका घटना बढी

सार्वजनिक तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा पहिरोका १७, अविरल वर्षाका १०, सर्पदंशका ८, आगलागीका ७, बाढीका ६, भूकम्पका २, चट्याङको १ र जनावरको आक्रमणको १ घटना दर्ता भएका छन्।

विपद्का कारण देशका विभिन्न स्थानमा सात सडक अवरुद्ध भएका थिए भने सम्बन्धित निकायले सडक खुलाउने काम जारी राखेका छन्।

सुदूरपश्चिमका नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह

निरन्तर वर्षाका कारण कैलाली, कञ्चनपुर, डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी, डडेल्धुरा, दार्चुला लगायत सुदूरपश्चिमका जिल्लामा बाढी र पहिरोको जोखिम अझै कायम रहेको प्राधिकरणले जनाएको छ।

हालैका दिनमा प्रदेशका विभिन्न जिल्लामा सडक अवरुद्ध हुने, नदी तथा खोलामा जलसतह बढ्ने र पहिरो खस्ने घटनासमेत भइरहेकाले स्थानीयवासीलाई जोखिमयुक्त क्षेत्रमा नजान अनुरोध गरिएको छ।

यात्रा गर्दा मौसमको जानकारी लिन आग्रह

प्राधिकरणले वर्षायामभर नदी, खोला तथा पहिरोको उच्च जोखिम रहेका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, यात्रा गर्नुअघि मौसम पूर्वानुमानको जानकारी लिन तथा स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी हुने सूचना पालना गर्न आग्रह गरेको छ।

विपद्को जोखिम बढ्दै गइरहेको अवस्थामा विशेषगरी सुदूरपश्चिमका पहाडी तथा नदी किनार आसपासका बस्तीका नागरिकलाई उच्च सतर्कता अपनाउन प्राधिकरणले पुनः अनुरोध गरेको छ।

Related News

बोगटान फुड्सिल–५ मा बल्ल पुग्यो  बिजुली
बोगटान फुड्सिल–५ मा बल्ल पुग्यो  बिजुली
  • २०८३ श्रावण ६

  दिपायल – डोटीको बोगटान फुड्सिल गाउँपालिका–५ मा राष्ट्रिय प्रसारण...

TOP