२०७८ आश्विन ८, शुक्रबार
September 24, 2021, Friday

डोटीका ७४४ कोरोना संक्रमितमध्य १३ जना मात्रै आइसोलेसनमा

डोटी– जिल्लामा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या सात सय ४४  पुगेको छ। सुदूरपश्चिम प्रदेशको कैलालीपछि सबैभन्दा बढी संक्रमित भएको जिल्ला डोटी नै हो । सात सय ४४ जनामध्ये १३ जना मात्रै पालिकाले बनाएका आइसोलेसनमा बसेका छन् भने बाँकी सबै डिस्चार्ज भएर आ-आफ्नो घरमा छन् ।

संक्रमित सबै भारतबाट आएका भएपनि तीनजना भने भारतबाट आएका पुरुषका श्रीमति रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए । संक्रमितको संख्या बढी देखिए पनि डोटीमा समुदायस्तरमा भने अझै कोरोना फैलिएको छैन । स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार नै कोरोना पोजिटिभ देखिएका व्यक्तिहरुलाई स्वाब लिइएको दिनदेखि १४ दिनसम्म क्वारेन्टाइनमा राखेर घर पठाइएको मलासीले बताए । 

भारतबाट आएकाबाहेक समुदायका अन्य आठ सय जनाको परीक्षण गरिएको र त्यसमध्ये पाँच सय ७० जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले  जनाएको छ । आइसोलेसनमा रहेका १३ जनामा समेत कुनै किसिमको लक्षण नदेखिएको बताइएको छ । डोटीमा सयौंको संख्यामा कोरोना पोजिटिभ देखिएको भएपनि लक्षण भने कुनैमा पनि नदेखिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन दिपेन्द्र मिश्रले बताए ।

भारतबाट ठूलो संख्यामा घर फर्केका कारण ठूलै संख्यामा कोरोना संक्रमण देखिएको स्वास्थ्य प्रमुख मलासीले बताए । लकडाउनपछि डोटीमा हालसम्म १७ हजार ४ सय ७९ जना भारतबाट भित्रिएका छन् । ती मध्ये ७ सय २२ जना अझै क्वारेन्टाइनमा रहेका छन् । भित्रिने क्रम अझै पनि रोकिएको छैन । अहिलेसम्म डोटीमा सामान्य अवस्था देखिएको भएपनि समुदायस्तरमा भने त्रास फैलिएको छ।

दुर्गा नेपाली शिखर नगरपालिका ५ मा रहेको राधाकृष्ण माविको क्वारेन्टाइनमा बसेकी थिइन् । उनको स्वाब संकलन गरेको केही दिनमा रिपोर्ट आयो र रिपोर्ट आएको भोलिपल्टै उनको सुत्केरी हुने मिति थियो । 

उनलाई सोही दिन जिल्ला अस्पताल लगेको थियो । अस्पतालमा राखेको केही दिनपछि उनले छोरालाई जन्म दिइन् । सुत्केरी भएको पाचौं दिनमा उनको र बच्चाको फेरी स्वाब लिइयो र दोस्रो पटक पनि उनमा कोरोना पोजिटिभ देखिए पनि बच्चामा भने नेगेटिभ देखियो । 

तर फेरी पनि पोजिटिभ देखिए पनि उनलाई तेस्रो दिनमै घर पठाइयो । अहिले उनी घरमै छन् ।पोजिटिभ भएर घरमा बस्दा घरपरिवार तथा समाजका व्यक्तिले हेर्ने दृष्टिकोण नै फरक रहेको र सोहीअनुसार व्यवहार खेप्नुपर्ने दुर्गाले बताइन्।

केश साउद पनि संक्रमित मध्यकै व्यक्ति भएपनि अहिले उनी गाउँका अन्यसँगै काममा जाने गर्छिन् । ‘अहिले पूर्वतिर समुदायमा फैलिरहेको भन्ने खबर सुनिरहेको छ,’ स्थानीय जितेन्द्र सिंहले भने, ‘संक्रमित सबै गाउँ-गाउँमा रहेका छन्, सँगै काम गर्नुपर्ने बाध्यता छ, त्यसैले अन्यमा पनि फैलिन्छ कि भन्ने त्रास छ ।’

प्रदेश सरकारको लापरवाहीका कारण अझ गाउँ-गाउँमा भाइरस फैलिने डर रहेको स्थानीय हेमराज रोस्याराले बताए । सिमानाकामा चेकजाँच नगरिकनै पठाउँदा र जिल्लामा आइसके पनि स्थानीय तहको लापरवाहीका कारण भयावह अवस्था आउन सक्ने रोस्याराले बताए ।

उनले भने, ‘लक्षण नदेखिएको र १४ दिन पुगेको भन्दैमा संक्रमितलाई घर पठाइरहेका छन्, यसले मौसम परिवर्तनसँगै समस्या निम्त्याउन सक्छ ।’ डोटीमा सबैभन्दा बढी शिखर नगरपालिकामा एक सय ९३ संक्रमित रहेका छन् भने सबैभन्दा कम केआईसिंह गाउँपालिका र बडीकेदार गाउँपालिकामा समान १३ संक्रमित रहेका छन् ।

अझै पीसीआर मेसिन जडान भएन

जिल्लामा भित्रिएको १९ दिन बितिसक्दा समेत अझै पीसीआर मेसिन जडान हुन सकेको छैन । प्रदेश सरकारमार्फत आएको पीसीआर मेसिन जिल्ला अस्पतालमा राखिएको छ । मेसिन साउन १३ गते ल्याइएको थियो ।अबको केही दिनमै पीसीआर मेसिन जडान गरिने जिल्ला अस्पताल संचालन समितिका अध्यक्ष यज्ञराज जोशीले बताए ।

‘मेसिन जडान गर्ने प्राविधिक नआएका कारण ढिलो हुन गएको हो, ‘अध्यक्ष जोशीले भने, ‘२/३ दिनमा प्राविधिक पुग्छन् अनि काम सुरु हुन्छ।’ #अन्नपुर्ण पोष्टबाट

Related News

डडेल्धुरामा रिले अनशन, पुनः वडा अधिवेशन गर्नूपर्ने माग
डडेल्धुरामा रिले अनशन, पुनः वडा अधिवेशन गर्नूपर्ने माग
  • २०७७ श्रावण ३२

डडेल्धुरा– नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पुनः वडा अधिवेशन गर्नूपर्ने माग गर्दै पार्टी कार्यालयमा रिले अनशन...

साइन नेपालद्वारा विद्यालय र स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण
साइन नेपालद्वारा विद्यालय र स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण
  • २०७७ श्रावण ३२

डोटी – मानवीय सेवामा अनेकौं प्रयास (SHIN, Nepal) धनगढीले स्वास्थ्य सामग्री वितरण गरेको छ । संस्थाद्वारा संचालित कोभिड – १९...

एमाले नेता रावत बेपत्ता
एमाले नेता रावत बेपत्ता
  • २०७७ श्रावण ३२

धनगढी: नेकपा एमाले अछामका जिल्ला कमिटी सदस्य धन बहादुर रावत बेपत्ता भएका छन्। असोज ४ गते रामारोशन गाउँपालिका -७ सुतारमा...

TOP