डोटी- शिखर नगरपालिका वडा नं. ३ आली गाउँका १५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि गाउँ नै जोखिममा परेको छ । भारतबाट आएर १९ दिन क्वारेण्टाइनमा बसेकाहरुमा घर गएको दुई दिन पछि मात्रै कोरोना संक्रमण पुष्टि भएपछि पुरै गाउँ नै जोखिममा परेको हो ।
जेठ १२ गते देखि एउटै क्वारेण्टाइनमा बसेका २६ जना मध्य १४ जनामा कोरोना संक्रमण भएको रिपोर्ट असार १ गते मात्रै आएको थियो । सोही समुहका एक जनामा भने १९ गते नै कोरोना पुष्टि भएको थियो । श्रमिती र छोरा सहित भारतबाट फर्किरएका उनका छोरालाई ज्वरो आएपछि जेठ १५ गते जिल्ला अस्पताल भर्ना गरिएको थियो । १९ गते ती पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो भने उनका छोरा र श्रीमतीको रिपोर्ट नेगेटिभ आएको थियो । ‘कन्टयाक्ट ट्रेसिङ’का आधारमा जेठ २० गते उनि संगै आएका र एउटै क्वारेण्टाइनमा बसेकाहरुको ‘थ्रोट स्वाब’ संकलन गरेर परीक्षणका लागि धनगढीस्थित कोरोना प्रयोशालामा पठाइयो ।
धनगढी प्रयोगशालामा गरिएको परिक्षणबाट डोटीका २० जनामा कोरोना संक्रमण पुष्टि भयो । जसमध्य दुई जना आदर्श गाउँपालिका, एक जना पूर्वीचौकी गाउँपालिकाका थिए भने बाँकी १७ जना शिखर नगरपालिकाका थिए । १७ जना मध्य १५ जना नगरपालिकाले स्थानीय अमरज्योति आधारभूत विद्यालयमा बनाएको क्वारेन्टिनमा बसेका एउटै गाउँका हुन् । उनिहरु सबै भारतको महाराष्ट्रबाट आएका थिए ।
सरकारको ‘आइसोलेसन व्यवस्थापन सम्बन्धी राष्ट्रिय निर्देशिकाले प्रवासबाट ल्याइएका व्यक्तिलाई १४ दिन मात्रै क्वारेण्टाइनमा राख्न भनेको छ । क्वारेण्टाइनमा राखिएका व्यक्तिहरुलाई रु १७५ को दरले भक्ताको व्यवस्था गरिएकोे छ । १४ दिन भन्दा बढी राखे भक्ता र रासनको व्यवस्था गर्न नपाईने स्थानीय सरकारलाई परिपत्र नै गरेको छ ।
सरकारले स्थानीय सरकारलाई सीमाबाट उद्धार गरेका नागरिकको गाडी भाडाको समेत व्यवस्था समेत नगर्न भनेको छ । सरकारको निर्देशन अनुसार काम गर्न निकै कठिन भैरहेको स्थानीय सरकारले बताउदै आएका छन् ।
स्थानीय सरकारले भारतबाट आउनेको चाप र क्वारेण्टायनमा बसेकाको दबाबलाई मध्यनजर गरेर उनिहरुलाई होम क्वारेण्टाइनमा बस्न भन्दै घर पिठाउने गरेको छ । केहीलाई आरडिटिका भरमा घर पठाइएको छ भने केहीको क्वारेण्टाइनबाट नमुना स्वाब संकलन गरी गरिएको पिसिआर रिपोर्टका भरमा घर पठाइएको छ ।
सुदूरपश्चिममा एउटा मात्रै पिसिआर प्रयोगशाला भएका कारण स्वाब संकलन कार्य समेत रोकिएको थियो । एउटा मात्रै पिसिआर मेशिनले भारतबाट आएर क्वारेण्टाइनमा बसेका हजारौंकोे पिसिआर परिक्षण गर्न लामो समय लाग्ने भएकाले क्वारेण्टाइन अबधिमा नै सबैको पिसिआर परिक्षण गर्नसकिने सम्भावना नभएको स्वास्थ्यकर्मीहरु बताउछन् ।
सरकारले संक्रमितलाई समेत १४ दिन पछि घर पठाउन भनेको छ । स्वास्थ्य मन्त्रालयले निदेर्शिका पारित गर्दै १४ दिन सम्म लक्षण नदेखिएका संक्रमितलाई होम आइसोलेसनमा बस्ने गरेर घर पठाउन भनेको छ । त्यही अनुररुप सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालायले पनि संक्रमितलाई घर पठउन भने पछि डोटी लगायत सुदूरपश्चिमका संक्रमितलाई घर पठाएको छ ।
स्वास्थ्य निर्देशनालायले १० दिन सम्म लक्षण नदेखिएका संक्रमितबाट अरुलाई संक्रमण सर्ने सम्भावना रहदैन भनको छ । त्यहि अनुरुप सो गाउँका एक जनालाई जिल्ला स्वास्थ्य कार्यालयले डिस्चार्ज गरेपछि क्वारेण्टाइनमा बसेकाहरुले आफुहरुलाई केही नभएको भन्दै रिपोर्ट नआउदै घर जान्छौ भने पछि एकान्तबास (होम क्वारेण्टाइन) मा बस्न भनेर घर जान दिएको वडाअध्यक्ष जोराले बताए ।
जेठ २० गते स्वाब संकलन गरी परीक्षणका लागि पठाएका हरुको रिपोर्ट असार १ गते १३ दिन पछि रिपोर्ट आएपछि क्वारेण्टाइनमा १९ दिन विताइसकेका उनिहरु घर जान हतारिएका हुन् । रिपोर्ट नआउन्जेल होम क्वारेण्टाइनमा बस्न भने पनि उनिहरु घरमा सबै संग घुलमिल भैसकेका छन् । घरसाय काम देखि गाउले संग सम्पर्कमा गैसकेका छन् । एक जना त रिपोर्ट आउनुअघि भलिबल खेल्न समेत गइसकेका छन् ।
शिखर नगरालिकाका स्वास्थ्य इकाई प्रमुख हरिष शाहले रिपोर्ट नआउन्जेल सम्म उनिहरुलाई राख्न कुनै समस्या नभएको बताउदै आफुहरुले बस्नुस् भन्दा पनि नमाने पछि होम क्वारेण्टाइनमा बस्नु अरुको सम्पर्कमा नजानु भनेर पठाएको भए पनि घरपरिवार छरछिमेक संग घुलमिल भैसकेको बताए । उनिहरु कै ग्रुपका पहिलो संक्रमितलाई सरकारको ‘आइसोलेसन व्यवस्थापन सम्बन्धी राष्ट्रिय निर्देशिकाका अनुरुप १४ दिन आइसोलेसनमा राखिसकेपछि जिल्ला अस्पतालले डिस्चार्ज गरेका कारण उनीहरू पनि घर जान आतुर भएको शाहले बताए ।
घर पठाएको दुई दिन पछि पिसिआर रिपोर्ट आएपछि गाउँमा त्रास छाएको छ । संक्रमित गाउँका सबै संग घुलमिल भैसकेकाले सबैको पिसिआर परिक्षण हुनु पर्ने र संक्रमितलाई गाउँबाट बाहर राख्नु पर्ने स्थानियको माग छ । संक्रमितका परिवार बाल बच्चा अझै पनि गाउँतीर डुलीरहेकाले गाउँ शिल गर्न माग गरिएको छ ।
तर संक्रमितहरु भने आफुमा कुनै स्वास्थ्य समस्या नदेखिएको भन्दै आफ्नै घरमा छुट्टै बस्ने बताउदै आएका छन् । उनिहरुले घरमा राम्रो ख्याल र खानपिन हुने भएकाले घरमै बस्ने बताउदै अझ गएर क्वारेण्टाइनमा नबस्ने जिकिर गर्दै आएका छन् । आफुहरुलाई गाउबाट लगेर क्वारेण्टाइनमा राख्न नमिल्ने, लगिहाले अस्पतालको आइसोलेसनमा उपचार गराउनु पर्ने माग गर्दै आएका छन् । आफ्ना परिवारको समेत पिसिआर चेकजाच हुनु पर्ने उनिहरुको माग छ । संक्रमितका छिमेकीले भने संक्रमितलाई गाउँमा राख्न नहुने र गाउँका सबैको पिसिआर परिक्षण चाडै हुनुपर्ने माग राख्दै आएका छन् ।
नगरपालिकाका प्रमुख सिताराम जोशीले उनिहरुको व्यवस्थापनका लागि आफु त्यही पुगेर संक्रमितलाई छुट्टै आइसोलेसन तयार गरेर राख्छौ भन्दा संक्रमित र उनिहरुका परिवार सहमत नभएको बताए । “अन्य गाउँलेहरुले लग्नुस् भन्छन्, संक्रमित जान्नौ कि त अस्पताल मै लैजानुस् भन्छन्, नगर प्रमुख जोशीले भने,“अस्पतालले लक्षण नदेखिएको भन्दै फिर्ता गर्दिन्छ । व्यवस्थापन गछौं भन्दा जे भने पनि सहमतीमा नआउने अवस्था छ । राजनीतिक रुपले जनतालाई भट्काइएको छ । संकटको समयमा यसरी राजनीति गर्नु गलत कार्य हो ।”
नगर प्रमुख जोशीले तत्कालका लागि उनिहरुलाई होम क्वारेण्टाइनमा राखिएको बताउदै गाउँ शिल गरेर संक्रमितका परिवार उनको सम्पर्कमा आएका सबैको पिसिआर परिक्षणका लागि समन्वय भैरहेको बताए ।
भारतबाट आउनेको चाप, क्वारेण्टाइनमा बसेकाको दबाब, क्वारेण्टाइनको कमजोर सुरक्षा व्यवस्था, पिसिआर परिक्षणको अभाव र स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुरुप क्वारण्टाइनबाट परिक्षण विना हजारौंलाई क्वारण्टाइनबाट छोडिएको छ । उनिहरु होम क्वारेण्टाइनमा नबसि परिवार तथा समुदाय संग घुलमिल भैसकेकाले पनि डोटी लगायत सुदूरपश्चिमका जिल्लाहरु कोरोनाको उच्च जोखिममा रहेका छन् ।
दिपायल । समस्याग्रस्त सहकारीका ६ हजार धेरै बचतकर्ताको बचत फिर्ता...