२०८३ भाद्र ८, सोमबार
August 24, 2026, Monday
सडक डिभिजन र निर्माण कम्पनीको लापरबाही

डडेल्धुरामा ५ वर्षदेखि मोटरेबल पुल अलपत्र

डडेल्धुरा- डडेल्धुराको गन्यापधुरा र नवदुर्गा गाउँपालिका जोड्ने पक्की पुल निर्माण नहुँदा अलपत्र अवस्थामा रहेको छ। गन्यापधुरा–३ सकायलदेखि नवदुर्गा गाउँपालिका–३ डाँडावन जोड्न सकायल खोलामा निर्माण हुन लागेको मोटरेबल पुल विसं २०७२ देखि अलपत्र अवस्थामा रहेको छ।

२ करोड ५० लाखको लागत रहेको पुलको निर्माण दुई वर्षभित्र सम्पन्न गरिसक्ने गरी डडेल्धुरा जिल्लाकै राजेन्द्र निर्माण कम्पनी र चाँदनी निर्माण कम्पनीको जेभीसँग २०७२ मा सम्झौता भएको थियो। तर सम्झौता भएको पाँच वर्ष पुग्दासम्म पनि तीन प्रतिशतमात्रै काम भएको छ।

पुल निर्माण सम्पन्न गर्ने अवधि सकिएको तीन वर्ष भइसकेपछि खोलाका दुवैपट्टि पिलर राख्ने काम मात्र भएको छ। वर्षातको समयमा खोलामा पानीको बहाव अत्यधिक हुने हुँदा स्थानीय बासिन्दालाई ओहोरदोहोर गर्न समस्या भएको स्थानीय सुरेन्द्र देउवाले बताए।

‘निर्माण कम्पनीसँग पुल निर्माणका लागि पटकपटक आग्रह गर्दासमेत बेवास्ता गर्दा जोखिमपूर्ण रूपमा खोला वारपार गर्नुपरेको छ,’ उनले भने। समयमै पुल निर्माण नहुँदा स्थानीय बासिन्दालाई समस्या भएको छ।

पुल निर्माणको काम अगाडि बढाउन निर्माण कम्पनी र सडक डिभिजन कार्यालय कुलपाते डोटीलाई पटकपटक आग्रह गर्दा पनि निर्माण हुन नसकेको नवदुर्गा गाउँपालिकाका अध्यक्ष कवीन्द्र विष्टले बताए। 
 

Related News

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
  • २०७७ आश्विन ५

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...

TOP