२०८१ बैशाख १९, बुधबार
May 1, 2024, Wednesday

शैक्षिकस्तर उकास्न विद्यालयमा बहस (भिडियो सहित)

दिपायल- कमजोर विद्यालयहरुको शैक्षिकस्तर उकास्न स्थानीय सरकारले बहसको कार्यक्रम सञ्चालन गर्न थालेको छ । डोटीको शिखर नगरपालिकाले नगरका कमजोर नतिजा ल्याउने विद्यालयहरु छनोट गरेर विद्यालय सुधार योजना अन्तरगत “असल अभिभावकसँग नगर सरकार” कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

नगर सरकार, शिक्षा शाखा, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकबीचको अन्तरक्रिया तथा छलफलबाट विद्यालय सुधारका योजना निर्माण गरी कार्यान्वयन गरिने शिक्षा शाखा प्रमुख शेर बहादुर कार्कीले बताउनु भयो । आइतबार नगरपालिकाको वडा नं. ७ मा रहेको लाटामाण्डौं माविबाट उक्त कार्यक्रमको सुरुवात गरिएको छ । कार्यक्रममा विद्यालयको शैक्षिक र भौतिक अवस्था, समुदाय र विद्यालयबीचको सम्बन्ध तथा सुधार गर्नुपर्ने पक्षहरुका विषयमा छलफल गरिएको थियो ।

विद्यालयको शैक्षिकस्तर माथि उकास्न समुदाय र विद्यालय बीचको सम्बन्ध राम्रो हुनु पर्ने स्थानीय पदम बलायरको सुझाव छ । उहाँले लाटामाण्डौं माविको प्रशासन, शिक्षक र समुदायको सम्बन्ध राम्रो नभएको बताउँदै अभिभावकलाई विद्यालयलाईप्रति अपनत्व ग्रहण गर्न र शिक्षक प्रशासनलाई जिम्मेवारीका साथ काम गर्न सुझाव दिए ।

स्थानीय अभिभावक जगुली बिकले आफ्ना बालाबलिकाहरुको पढाइकोस्तर कमजोर भएकोमा गुनासो पोख्नु भयो । “हामी अनपढछौं, आर्थिक अवस्था कमजोर छ, तर पनि बालाबालिकाहरुलाई नियमित विद्यालय पठाउँने गरेका छौं,“उहाँले भन्नु भयो,“बालबालिकाको पढाइ राम्रो छ्रैन । गत वर्ष कक्षा ८ मा पढ्ने एक जनामात्रै पास भएको सुनेउ । दिनभर विद्यालय पठाएका बच्चाहरुको पढाई राम्रो नहुनु दुःखद हो । अब कमजोरी पत्ता लगाएर सुधार गर्नु पर्छ ।”

कक्षा १० मा अध्ययनरत विद्यार्थी कपिल भट्टले विद्यार्थीहरु पढाइमा कमजोर हुनु, विद्यालयको शैक्षिक गुणस्तर राम्रो नहुनु र भएका भौतिक संरचनाहरु कमजोर हुँदै जानुमा अभिभावकको कमजोरी भएको बताए । स्थानीयहरुले विद्यालय क्षेत्रमा होहल्ला गर्ने, भौतिक संरचनाहरुमा क्षति पु¥याउने, विद्यालय प्रति चासो नदेखाउने र आफ्ना बालबालिकाहरुको पढाइमा ध्यान नदिने गरेका कारण विद्यालय कमजोर हुँदै गएको भट्टको तर्क थियो ।

उहाँहरु जस्तै कार्यक्रममा उपस्थित अभिभावक, विद्यार्थीहरुले विद्यालयका विषयमा मन खोलेर गुनासो राख्नु भयो । शिक्षक तथा प्रधानाध्यापकले त्यसको जवाफसँगै कारण पनि देखाउनु भयो । प्रधानाध्यापक नारायण प्रसाद नौन्यालले विद्यालयको शैक्षिकस्तर कमजोर हुँदै जानुमा समुदाय र विद्यालय उत्तिकै जिम्मेवार रहेको बताउँनु भयो । “समुदायबाट शिक्षकहरु र भौतिक संरचना सुरक्षित छैनन्, विद्यालयलाई माथि उठाउन समुदायको चासो छैन । अभिभावकहरु राजनीतिक धाराणा ल्याएर विद्यालय प्रवेश गर्नुहुन्छ । विद्यालय बनाउँ, यसलाई सुधारगरौं भनेर कसैले चासो देखाउँदैनन्, उहाँले गुनासो गर्नु भयो ।” दरबन्दीको अभाव, भौतिक संरचनाको अभाव, राम्रो विद्यार्थी अन्यत्र पलायन हुने, बढ्दो वसाइँसराइँ, आर्थिक अभावका कारण पनि विद्यालयले गतिलिन नसकेको प्रधानाध्यापक नौन्यालको भनाई छ ।

कार्यक्रममा उपस्थित जनप्रतिनिधि र नगरका शिक्षा शाखा प्रमुखले अभिभावक, शिक्षक र विद्यार्थीहरुका गुनासा, अपेक्षा र सुझावहरु सुन्नु भयो र निश्कर्षमा विद्यालय सुधारका लागि उठेका विषयवस्तुहरु कार्यान्वयनका लागि प्रतिवद्धता व्यक्त गर्नु भयो । अभिभावकहरुले विद्यालयको शैक्षिकस्तर खस्किदै गएको प्रति चिन्ता व्यक्त गर्नु भयो । यसरी प्रत्यक्ष बहस मार्फत आएका सुझाव सल्लाहहरुलाई ग्रहण गर्दै देखिएका समस्या र चुनौतिहरुको समाधान गर्नेमा उपस्थित सबैले प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

नगर प्रमुख दीर्घ बलायरले कमजोर विद्यालयहरुको शैक्षिकस्तर उकास्नका लागि नगर सरकारले विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा ल्याएको बताउँदै विद्यालय सुधारका लागि नगर सरकारलाई समुदाय, अभिभावक र शिक्षकको साथ चाहिएको बताउनु भयो । नगर सरकारले तत्कालै दरवन्दी मिलान, विद्यालय समायोजन, विद्यालयमा नगर सरकार लगायतका थुप्रै कार्यक्रमहरु सञ्चालन गर्ने उहाँले बताउनु भयो । “नगर सरकारले शिक्षालाई प्रमुख प्राथमिकतामा राखेको छ,“उहाँले भन्नु भयो,“विद्यलाय सुधार वर्षका रुपमा हामीले काम गर्ने लक्ष लिएका छौं । सरकारका तर्फबाट विद्यालयको शैक्षिकस्तर उकास्नका लागि हामी कुनै कसर बाँकी राख्दैनौं समुदायले पनि यसमा साथ दिनु प¥यो । शिक्षकहरुले पनि कटिवद्ध भएर जिम्मेदारी पूर्वक काम गरिदिनु प¥यो । बालबालिकाहरुको भविष्यसँग जोडिएको शैक्षिक क्षेत्रमा कसैले पनि कमजोरी गर्न पाउँदैन आजकै दिनदेखि हामी सुध्रिएर हुन्छकी, अरुलाई सुधारेर हुन्छ विद्यालय सुधारमा लागौं । यसलाई अभियानका रुपमा सञ्चालन गरौं ।”

नगर उपप्रमुख सुनिता रावल जोराले कार्यक्रमले विद्यालय सुधार र शैक्षिकस्तर उकास्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो । “सम्बन्धित विद्यालयमा पुगरे विद्यालयको खासखास अवस्थाका वारेमा जानकारी भएको छ । अभिभावक, विद्यार्थी र शिक्षकको गुनासो सुझाव सुनिएको छ । यसले पक्कै पनि विद्यालय परिवर्तन गर्नै छ, उहाँले भन्नु भयो ।”

नगरपालिकाले नगरका अन्य कमजोर देखिएका विद्यालयहरुमा पनि यो कार्यक्रमलाई विस्तार गर्ने जनाएको छ । वडाध्यक्ष टेकराज भट्टले विद्यालयको अभिभावकत्व ग्रहण गर्दै शैक्षिकस्तर उकास्न आजकै दिनाबाट सक्रिय रहने प्रतिवद्धता गर्नुभयो ।

Related News

इलाम–२ मा ५० प्रतिशत मत गणना: एमाले ५३ सय मतले अगाडी
इलाम–२ मा ५० प्रतिशत मत गणना: एमाले ५३ सय मतले अगाडी
  • २०८० माघ २२

दिपायल- इलाम–२ को उपनिर्वाचनको ५०.५ प्रतिशत मत गणना गरिएको छ...

TOP