२०८२ जेष्ठ ३०, शुक्रबार
June 13, 2025, Friday

पश्चिम नेपालका थारू समुदाय अटवारी पर्व मनाउँदै

भीम चौधरी

धनगढी- कैलाली, कञ्चनपुरलगायत पश्चिम नेपालमा बसोबास गर्ने थारू समुदायले आज अटवारी पर्व मनाइरहेका छन्। यो पर्वमा दुई दिनसम्म निराहार व्रत बसेर मनाउने गरिन्छ। प्रकृति पूजक भनिने थारू समुदायले यस पर्वमा सूर्यको उपासना गर्छन्।

अटवारीलाई थारू समुदायको माघी पछिको दोस्रो ठूलो पर्वको रुपमा लिइन्छ। विशेष गरेर पुरुषहरु निराहार व्रत बसेर विवाहित दिदीबहिनीको दीर्घायू, सु–स्वास्थ्य एवं सुखमय जीवनको कामनासहित मनाउने प्रचलन भए पनि अहिले महिलाहरु प्नि व्रत बस्ने गरेका छन्।

आइतबार मनाउने अटवारी पर्वमा पहिले भदौदेखि दसैंसम्मको सबै आइतबार व्रत बसेर मनाइने गरिन्थ्यो। पछि, कुसे औंसीदेखि पाँच आइतबारसम्म मनाइएको र अचेल दुई दिन मात्रै मनाउने चलन छ।

व्रत बस्ने व्यक्तिले शनिवारको मध्यरातमा भाले नबास्दै दर खाने चलन छ। दर खाएकाहरु पहिलो दिन अर्थात आइतबार मध्यान्हसम्म पानीसमेत नखाइ व्रत बस्ने गर्छन्। मध्यान्हमा नुहाइधुवाइ गरी व्रतालुहरुले गुइँठामा बालेको अग्निको विधिपूर्वक पूजाआजा गरी अन्दीको रोटी, फलफूल, दूध लगायतका परिकार खाने गर्छन्।

यी परिकारहरु आफूले खानुभन्दा अगाडि एक भाग छुट्टै निकालेर राख्ने चलन छ। यो दिन व्रतालुहरुले पूजा आराधनापछि सूर्यास्त नहुँदासम्म फलफूल खान सक्ने जनाइएको छ।

यसैगरी, दोस्रो दिन बिहानै नुहाइधुवाइ गरेर व्रतालुहरुले अघिल्लो दिनको जस्तै पूजाआजा गरेर पाकेका मिठामिठा परिकार खाने चलन छ। यो दिन विशेषगरी भात, माछा, मासु, फुलौरी, खरिया लगायतका परिकार खाइन्छ। अटवारीको दोस्रो दिनलाई ‘फरार’ भनिन्छ। व्रतालुहरुले दोस्रो दिन खाने खानाका परिकार समेत आफूले खानुभन्दा पहिले एक भाग निकालेर छुट्टै राख्ने गर्छन्। यसरी दुई दिनसम्म छुट्टयाएर राखेको अन्दीको रोटी, फुलौरी, खरिया, खुर्मा, फलफूल, माछा लगायतका परिकार पर्वको दोस्रो दिन नै आफ्नो विवाहित चेलीलाई उपहारको रुपमा दिने चलन छ।

यसरी माइतीपक्षले विवाहित छोरीचेलीलाई दिइने उपहारलाई ‘अग्रासन’ भनिन्छ। अटवारी पर्वमा विवाहित चेलीले माइतको अग्रासन नपाएमा उनको चित्त दुख्ने गरेको विश्वास गरिन्छ। त्यसैले सकेसम्म सबै परिवारले अटवारीको व्रत बस्ने गरेको जनाइएको छ। अग्नि पूजाको रुपमा सूर्यको पूजा गरेर अटवारी पर्व मनाउने चलन रहेको थारू बुद्धिजीवी बताउँछन्।

थारू समुदाय प्रकृति पूजक रहेकाले सूर्यको प्रतीक मानेर अग्निको पूजा गरी अटवारी पर्व मनाउने गरेको थारू अगुवा माधव चौधरीको भनाइ छ। सूर्यले ताप, शक्ति र उज्यालो दिने भएका कारण अटवारी पर्वमा सूर्य देवताको पूजा गरेमा सुख, शान्ति र दीर्घ जीवन मिल्ने थारू समुदायको विश्वास छ ।

पुरा समाचार पढ्नुहोस→

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०७७ भाद्र ७

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP