२०८३ भाद्र २, मंगलवार
August 18, 2026, Tuesday

डोटीको ‘पेटारो’ : पुस्तौँदेखि बाँचिरहेको जीवित इतिहास

डोटीको ‘पेटारो’ : पुस्तौँदेखि बाँचिरहेको जीवित इतिहास

डोटी – इतिहासका कतिपय अध्याय पुस्तक र अभिलेखमा सुरक्षित हुन्छन् भने केही इतिहास मानिसको आस्था, संस्कार र व्यवहारसँगै पुस्तौँदेखि जीवित रहन्छन्। डोटीबाट हरेक वर्ष बडीमालिकातर्फ पठाइने ‘पेटारो’ यस्तै एउटा जीवित सांस्कृतिक इतिहास हो।

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक धाम बडीमालिकामा श्रावण शुक्ल चतुर्दशीका दिन हुने विशेष पूजाका लागि डोटीबाट हरेक वर्ष सरकारी टोलीसहित पेटारो पठाउने परम्परा रहिआएको छ। बाहिरबाट हेर्दा यो पूजासामग्री बोकेर जाने धार्मिक यात्रा देखिए पनि यसभित्र डोटीको पुरानो राज्यव्यवस्था, धार्मिक संस्था, कृषि संस्कृति, प्रशासनिक परम्परा र समुदायको सामूहिक स्मृति जोडिएको छ।

खेतबाट सुरु हुन्छ पेटारोको यात्रा

पेटारोको यात्रा दिपायलस्थित दिल्पेश्वर मठ क्षेत्रको गुठीको खेतबाटै सुरु हुन्छ। रोपाइँका क्रममा धानको पातबाट तयार गरिने ‘भुरुडी’ अर्थात् ‘फुलडी’ पेटारोको महत्वपूर्ण सामग्री हो।

विगतमा दिल्पेश्वर मठका पीठाधीशले पेटारो प्रस्थान गर्नुभन्दा एक दिनअघि भुरुडी जिल्ला प्रशासन कार्यालयमा पुर्‍याउने चलन थियो। यस वर्ष भने पेटारो प्रस्थानकै दिन दिपायलबाट बाजागाजासहित भुरुडी सिलगढी ल्याइएको थियो।

दिपायल सिलगढी नगरपालिका–६ का वडाध्यक्ष नरेश मलासीका अनुसार दिपायलवासीले भुरुडीलाई बाजागाजासहित इन्द्रचोकसम्म ल्याएका थिए। त्यसपछि सिलगढी तथा आसपासका स्थानीयको सहभागितामा भुरुडी जिल्ला प्रशासन कार्यालय पुर्‍याइएको थियो।

उनले यस अभ्यासले दिपायल र सिलगढीबीचको धार्मिक तथा सामाजिक सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे।

गौडाको समयदेखि चलिआएको परम्परा

शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष तथा शैलेश्वरी मन्दिरका पुजारी प्रेमशंकर भट्टका अनुसार डोटीबाट बडीमालिकामा पेटारो पठाउने परम्परा साविक डोटी गौडाको समयदेखि चलिआएको हो।

उनका अनुसार विसं १८४७ मा अमरसिंह थापाको नेतृत्वमा तत्कालीन डोटी राज्य नेपालमा गाभिएपछि पुष्कर शाहको पालादेखि डोटी गौडाको तर्फबाट बडीमालिकामा पेटारो पठाउने प्रचलन सुरु भएको हो।

राज्यको संरचना, प्रशासनिक केन्द्र र शासन व्यवस्था परिवर्तन भए पनि बडीमालिकासँगको धार्मिक तथा सांस्कृतिक सम्बन्ध बोकेको पेटारोको परम्परा भने निरन्तर रहँदै आएको छ।

चाँदीका सामग्रीदेखि धानको पातसम्म

पेटारोमा धार्मिक तथा सांस्कृतिक महत्व बोकेका विभिन्न सामग्री राखिन्छन्। चाँदीको काइँयो, चाँदीको छत्र, सुनको जलप लगाइएका गहनासहितका श्रृंगार सामग्री, सुनको जनै र चाँदीको बाँसुरीलगायत सामग्री पेटारोमा समावेश गरिन्छन्।

यसरी हेर्दा एउटा पेटारोभित्र स्थानीय कृषि संस्कृतिदेखि धार्मिक प्रतीक र परम्परागत धातुकलासम्म समेटिएको देखिन्छ।

बजेट रोकिए पनि परम्परा रोकिएन

पुजारी भट्टका अनुसार विसं २०५८/०५९ सम्म पेटारोका लागि गृह मन्त्रालयबाट छुट्टै बजेट आउने गरेको थियो। पछि सरकारी बजेट रोकिए पनि परम्परा भने रोकिएन।

त्यसयता शैलेश्वरी मन्दिर व्यवस्थापन समितिले पेटारोका सामग्री व्यवस्थापन गर्दै आएको छ। पछिल्लो समय यसको व्यवस्थापनमा स्थानीय तह, धार्मिक संस्था, प्रशासन र समुदायको सहभागिता बढ्दै गएको छ।

सलामीपछि सुरु हुन्छ १५ दिने पैदल यात्रा

भुरुडीसहित पेटारो जिल्ला प्रशासन कार्यालयमा पुगेपछि यसको औपचारिक यात्रा सुरु हुन्छ।

श्रावण प्रतिपदाका दिन जिल्ला प्रशासन कार्यालयमा विशेष पूजाअर्चना गरिन्छ। प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा पुजारीको उपस्थितिमा पूजा सम्पन्न भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले संयुक्त रूपमा सलामी दिने परम्परा छ।

त्यसपछि पेटारो शैलेश्वरी मन्दिर लगिन्छ। पूजा तथा परिक्रमा सम्पन्न भएपछि सिलगढी नाचन्थलीस्थित मालिका मन्दिरतर्फ लगेर पुनः पूजा गरिन्छ। त्यसपछि बडीमालिकासम्मको करिब १५ दिने पैदल यात्रा सुरु हुन्छ।

यात्राका क्रममा सवारीसाधन प्रयोग नगरी परम्परागत बाटो हुँदै विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलमा पूजा गर्दै टोली अघि बढ्ने गरेको छ।

पहिलो दिन डोटीको फुलौट अर्थात् हालको खिरसैन, दोस्रो दिन काँडामाण्डौँ, तेस्रो दिन अछामको श्रीकोटस्थित जाल्पादेवी र चौथो दिन वैद्यनाथ धाम हुँदै यात्रा अघि बढ्छ।

यसक्रममा विमकोटेको राजदरबार, लवाडुंग्रालगायतका ऐतिहासिक तथा धार्मिक स्थल हुँदै टोली बडीमालिका क्षेत्रतर्फ पुग्छ।

त्रिवेणीमा जोडिन्छ डोटी र जुम्लाको परम्परा

यात्राको महत्वपूर्ण चरणमध्ये एक बडीमालिका क्षेत्रको त्रिवेणी धाममा हुने धार्मिक भेट हो।

त्यहाँ डोटीको सरकारी टोलीले ल्याएको पेटारो र जुम्लाको सरकारी टोलीले चन्दननाथबाट ल्याएको डोलीबीच भेट हुन्छ। दुई फरक भूगोलबाट आएका धार्मिक परम्पराको यो भेटले हिमाली तथा पहाडी क्षेत्रबीचको पुरानो धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई समेत झल्काउँछ।

त्यसपछि टोली बडीमालिका मन्दिरतर्फ अघि बढ्छ। त्रयोदशीको रात मन्दिर परिसरमा बास बसेपछि चतुर्दशीको बिहान मुख्य पूजा सम्पन्न गरिन्छ।

बडीमालिकाका पुजारी नेत्रराज पाध्याका अनुसार पूर्वनिर्धारित समयभित्र सरकारी टोलीबाट पहिलो पूजा गर्ने परम्परा छ।

पूजा सकिएपछि पनि यात्रा पूरा हुँदैन

मुख्य पूजा सम्पन्न भएपछि पेटारोको धार्मिक गन्तव्य पूरा भए पनि टोलीको यात्रा भने अझै बाँकी रहन्छ।

फर्किने क्रममा नाटेश्वरीमा पूजा सम्पन्न गरेपछि मात्रै सवारीसाधन प्रयोग गर्न पाउने परम्परा रहेको बताइन्छ। पन्ध्रौँ दिन सरकारी पूजा टोली पुनः सिलगढी आइपुग्छ।

यसरी पेटारोले वर्षेनी एउटा धार्मिक यात्रा पूरा गर्नुका साथै डोटीको ऐतिहासिक स्मृतिलाई पनि अर्को पुस्तासम्म पुर्‍याउने काम गरिरहेको छ।

परम्पराको खर्च स्थानीय तहको काँधमा

पेटारोका लागि सरकारी पूजा टोलीमा सहभागी हुने व्यक्तिको छनोट तथा खटनपटन जिल्ला प्रशासन कार्यालयले गर्दै आएको छ। तर पूजा टोलीको खर्च व्यवस्थापन भने डोटीका स्थानीय तहहरूले पालैपालो गर्दै आएका छन्।

यस वर्ष पूजा टोलीको खर्च व्यवस्थापन गर्ने जिम्मेवारी बोगटान फुड्सिल गाउँपालिकाले लिएको पर्यटन व्यवसायी दीपकबहादुर खड्काले बताए।

पेटारोमा डोटीको इतिहास र संस्कृति

दिपायलको खेतमा धानको पातबाट तयार हुने भुरुडीदेखि जिल्ला प्रशासन कार्यालयको पूजा, सुरक्षाकर्मीको सलामी, शैलेश्वरी तथा मालिका मन्दिरका अनुष्ठान, १५ दिने पैदल यात्रा र बडीमालिकामा हुने मुख्य पूजासम्म पेटारोले लामो सांस्कृतिक यात्रा पूरा गर्छ।

यसमा धर्म मात्रै छैन। डोटीको पुरानो राज्यव्यवस्थाको स्मृति, स्थानीय कृषि संस्कार, गुठी परम्परा, प्रशासनिक सहभागिता र समुदायको सामूहिक आस्था पनि जोडिएको छ।

समयसँगै परम्पराको स्वरूपमा केही परिवर्तन भए पनि यसको मूल भावना भने निरन्तर रहँदै आएको छ। यस वर्ष भुरुडीलाई अघिल्लो दिनको सट्टा पेटारो प्रस्थानकै दिन बाजागाजासहित सिलगढी ल्याइनु पनि परम्परालाई नयाँ पुस्ताको सहभागितासँग जोड्ने एउटा उदाहरण बनेको छ।

डोटीको पेटारो त्यसैले बडीमालिकामा पठाइने पूजासामग्रीको एउटा पोको मात्र होइन। यो डोटीको विगतले वर्तमान पुस्तालाई सुनाइरहेको जीवित कथा हो जसलाई मानिसहरूले हरेक वर्ष काँधमा बोकेर अर्को पुस्ताको जिम्मामा हस्तान्तरण गरिरहेका छन्।

Related News

वर्षौं बित्दा पनि भात्काँडा–बडाल–रेल सडक स्तरोन्नति भएन, स्थानीयलाई सास्ती
वर्षौं बित्दा पनि भात्काँडा–बडाल–रेल सडक स्तरोन्नति भएन, स्थानीयलाई सास्ती
  • २०८३ श्रावण २९

वर्षौं बित्दा पनि भात्काँडा–बडाल–रेल सडक स्तरोन्नति भएन, स्थानीयलाई सास्ती डडेल्धुरा...

TOP