२०८३ श्रावण १४, बिहीबार
July 30, 2026, Thursday

कोसेली बाँड्दै ओल्के पर्व

ओल्के मनाउन दिपायल आएका बादी दम्पती । फाइल तस्बिर

डोटी– सुदूरपश्चिमका पहाडी जिल्लामा ओल्के पर्वको चहलपहल सुरु भएको छ । साउनको अन्तिम र भदौको पहिलो दिन विशेष महत्त्वसाथ यो पर्व मनाइने परम्परा छ । 

पिँडालुका पात, काँक्रा, भन्टा, मुला, दही र हरियो सागपात आफन्तजनलाई बाँडेर यो पर्व मनाइन्छ । साउन मसान्तसँगै पर्वको रमझम सुरु हुने गरेको छ । साउने झरी थामिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसियाली भन्दै ओल्के अर्थात कोसेली दिने चलन छ ।

आफूभन्दा ठूला मान्यजन वा अग्रजलाई सम्मानस्वरूप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यो पर्वको विशेषता रहेको स्थानीय बताउँछन् । ‘वर्षामा काम गर्दा काँडा गडेको र ठेस लागेको ठाउँमा ढुंगामाटो निकाल्न सजिलो होस् भनेर कसैले उपहारमा चिम्टा पनि दिने चलन छ,’ दिपायल सिलगढी–१ का विजय खडकाले भने, ‘कतिपयले अब चाडपर्व सुरु भएकाले आवश्यक दुना–टपरी लगाउन चाहिने सिन्का पनि दिन्छन् ।’

कृषि पेसामा आश्रित जनजीवन भएकाले पर्वले किसानलाई आआफ्नो दैनिकीमा सघाउने उनले बताए । वर्षायाममा दादुरा, झाडापखाला, हैजा, लुतो र कुष्ठरोग आदि फैलिने समस्या हुन्छ । उपचार सहज भएपछि रोगको संक्रमण दर घटेको छ तर समाजमा त्यस्ता रोगव्याधिबाट जोगिएको उपलक्ष्यमा ओल्केपर्व धुमधामसँग मनाउने चलन रहेको केआईसिंह गाउँपालिका–४ चन्केसैनका खगेन्द्रप्रसाद भट्ट बताउँछन् ।

कतिपय स्थानमा भने अहिले पनि गाउँ नजिकको चौबाटामा गई सल्लाको लिंगोसमेत गाड्ने चलन छ भने कतै कतै डाँडामा धेरैजना भेला भएर रूखका हाँगाबिंगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर थुप्रो लगाउने गरिन्छ । आफन्त र घरपरिवारसँग ओल्के पर्व मनाउन टाढा टाढाबाट घर आउने चलन पनि छ । यतिबेला ओल्के पर्व मनाउन कामको खोजीमा भारत गएकाहरू धमाधम घर आइरहेका छन् । सुदूरपश्चिमका पहाडी जिल्लामा ओल्के पर्वका बेला पिङ खेल्ने र डेउडा खेलेर रमाइलो गर्ने चलन पनि छ ।

यद्यपि पछिल्लो समय ओल्केको रौनक खस्कँदै गएको दिपायल सिलगढी–४ राजपुरकी कल्पना शाह बताउँछिन् । ‘बुढापाकाले श्रद्धासाथ ओल्के दिने चलन थियो,’ उनले भनिन्, ‘अहिले युवा पुस्तामा त्यस्तो आकर्षण छैन । बुढापाका नभएको घरबाट प्रायः ओल्के दिने चलन हराएको छ ।’

Related News

दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
  • २०७७ श्रावण ३२

  दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक...

TOP