२०८१ आश्विन २४, बिहीबार
October 10, 2024, Thursday

गहनान लाई आध्यात्मिक केन्द्र बनाउने तिन दशक अघिको प्रयास

गहनानलाई आध्यात्मिक केन्द्रका रूपमा विकास र प्रवर्द्धन गर्ने अभियानमा सहभागी हुँदा को समय हिजो जस्तै लाग्छ, तर त्यो बेला देखि आज सम्म सेती नदी मा धेरै पानी बगे पनि गहनान को विकास अपेक्षित रूपमा हुन् सकेको छैन। करिब ३५ वर्ष अघि म लगायत डोटी र डडेलधुराका अध्यात्म र समाज सेवामा रुचि राख्ने केही व्यक्तिहरू मिलेर गहनानको विकासको महान् कार्यको शुभारम्भ गरेका थियौ। सो पुनीत कार्य को यस लेख मार्फत संक्षिप्त रूपमा वर्णन गर्न गई राखेको छु। यहाँ सबै विवरण र संलग्न सबैको नाम र भूमिका उल्लेख गर्नु सम्भव नभए पनि समग्रमा गहनानको विकासका लागि गरिएका प्रयासहरू को बारे चर्चा गर्ने छु।

डोटीको शिखर नगरपालिका, वडा नं. १०, बानेडुग्रीसैनमा अवस्थित गहनान, सेती (सीता) र साकल्य (कोराल खोला) नदीहरूको सङ्गम स्थलमा रहेको एक महत्त्वपूर्ण तीर्थस्थल हो। गहनान सेती र महाकाली भेगको साझा तीर्थस्थलका रूपमा मात्र नभई, भूमिराज र मसानी देवताको भूमि, गंगास्नान गर्ने पवित्र स्थल र शाकल्य ऋषिको तपो-भूमि पनि हो। गहनान लाई सदियौँदेखि हरिद्वारसरह पवित्र मानिँदै आएको छ। यससँगै, गंगास्नान गर्ने स्थान ( गहनान) र देवताहरूले धर्मका खाती र मानव हितका लागि उपदेश दिएको स्थान (डेउगडो) र सती देवीको गाथ, मुटु पतन भयको स्थान पनि यही हो। 

यस पवित्र स्थलमा मकर सङ्क्रान्तिको अवसरमा डोटी, डडेलधुरा, बैतडी, बझाङ, र अछाम जिल्लाहरूबाट हजारौँ तीर्थयात्रीहरू गङ्गा-स्नान गर्न र पर्व मेलामा सहभागी हुन आउँछन्। मकर सङ्क्रान्तिमा आउने भक्तजनहरू पुस मसान्तमा रतेडी (देव गान/देउडा) खेल्ने र माघ १ गते गङ्गा स्नान गर्ने प्रचलन छ। मकर सङ्क्रान्ति वा अन्य शुभ साइतमा यज्ञोपवीत धारण (व्रतबन्ध) गर्न गहनान आउने चलन पनि रहेको छ।

पृथ्वीका अधिपति भूमि राज देवताको स्थान, भूत धमाउने ( मसानी देवता को स्थान ) यस तीर्थ स्थल मा मुख्यतया मकर सक्रान्ति, आम-बात्स्य (औँसी), नवरात्रि मा तिर्थालुहरु मंगलगान, फाग, भागेश्वर, गन्याप, मस्ट देवता को फाग गाउँदछन्। यस ठाउँ मा फाग गाउँदा देवता प्रसन्न हुने विश्वास छ।

गहनानको ऐतिहासिक र धार्मिक महत्त्वले यो स्थानलाई विशेष बनाएको छ। स्कन्द पुराणको मानस खण्डमा गहनान र सीता नदीको महत्त्व उल्लेख गरिएको छ। साकल्य ऋषिले सेती र साकल्य नदी को सङ्गममा गायत्री मन्त्रद्वारा सिद्धि प्राप्त गरेकाले गहनानलाई अझ पवित्र बनाएको छ।

गङ्गा स्नानको (सुदूरपश्चिममा नदी लाई गङ्गा भनिन्छ) परम्पराले गहनानको महत्त्वलाई अझ बढी बढाएको छ। साथै गहनानको आध्यात्मिक ऊर्जा, नदीहरूको सुस्केरा, स्वच्छ हावा, र वरिपरिका अग्ला पहाडहरूले ध्यान र योगका लागि पनि यो ठाउँ लाई विशेष बनाउन सकिन्छ।

प्राचीनकादेखि नै गहनान आध्यात्मिक महत्त्वको ठाउँ भए पनि यसको विकास भने सुस्त छ। २०५० साल तिर गहनानलाई आध्यात्मिक केन्द्रका रूपमा प्रवर्द्धन र विकास गर्न सुरुवातमा हामी केही व्यक्तिहरू उत्साहपूर्वक सहयोग सङ्कलन गर्दै, यो पवित्र स्थललाई आध्यात्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रयत्न गरेका थियौँ। तर, समय क्रमसँगै विभिन्न सामाजिक, राजनीतिक परिवर्तन र बसाइ-सराई आदि कारणहरू ले गहनान को विकासको उत्साहमा कमी आए पनि, यो पुनीत कार्यलाई अझ रूपमा अघि बढाउन आवश्यक छ।

यो पवित्र धार्मिक स्थलसँग मेरो पहिलो साक्षात्कार २०४० को दशक तिर भएको थियो। हिन्नेकाडाका निवासी एक जनाको पुत्रको विवाह डडेलधुराको रमाइलकी कन्यासँग गहनानमा भएको विवाहमा म पनि सहभागी थिएँ। पहिलो पटकमै गहनानमा दिव्य ऊर्जा र अनुभव प्राप्त गरे, तर माघको कठ्याङ्ग्रिने चिसोमा बस्ने ठाउँको अभावले निकै समस्या भयो। यस्तो दिव्य क्षेत्रमा आधारभूत पूर्वाधारको कमी देख्दा मन खिन्न भयो। यस पवित्र गहनानमा विवाह, व्रतबन्ध, पूजा, कथा, यज्ञ जस्ता वैदिक सनातन परम्पराका कार्य गर्नका लागि कम्तीमा एक धर्मशाला भए श्रद्धालु भक्तजनलाई कति सहज हुने थियो भन्ने लाग्यो, र त्यसै समयदेखि कम्तीमा एक धर्मशाला बनाउन तिर लाग्ने प्रण गरे।

गहनानको त्यो मेरो पहिलो दिव्य अनुभवले नै यस ठाउँ लाई आध्यात्मिक केन्द्रका रूपमा विकास गर्नु पर्छ भन्ने विचारको बीजारोपण भएको थियो। त्यसपछि केही स्थानीय भद्र-भलाद्मीहरूसँग सरसल्लाह गरी गहनानको विकासको पुनीत कार्यमा जुट्ने निर्णय गरियो।

२०४० दशक को अन्त्य तिर देखि गहनानलाई आध्यात्मिक गन्तव्यमा विकास गर्ने उद्देश्य राखेर  प्रारम्भिक चरणमा हामी समान विचार भएकाहरू यो महान् कार्यमा विनम्र पूर्वक लाग्यौँ। हामी घर, गाउँ, जिल्ला हुँदै सिंहदरबार सम्म पुग्यौँ, आम मानिसहरूबाट थोरै थोरै रकम सङ्कलन गर्दै, हरेक एक रुपैयाँले शान्ति, आध्यात्मिकता र धर्म जगेर्नाको आशा जगायौ।

यस कार्यमा स्थानीय बानेडुग्रीसैन, सकायल, बनलेक, जीजौडामान्डौ, लामिखाल, बारबाटा, पचनाली, लाटामाण्डौ, उच्चाकोट, छोया गाउँ, जोरायल, सिलगढी र डडेल्धुरा का रोखोला, सकायल, जैसेरा, बेलापुर, लगायत गाउँहरूमा र त्यसै गरी स्थानीय बुद्धिजीवी र समाजसेवी, पश्चिम सेती जलविद्युत सर्वेक्षण टोली का एक जना जनकपुर घर भएका इन्जिनियर गजेन्द्र प्रसाद चौधरी, चुडीका स्वर्गीय दुर्गा प्रसाद फुलारा, संसद् सुनिल भण्डारी, काठमाडौँ स्थित डोटेली समाज, तत्कालीन राज्य मन्त्री भक्त बहादुर सकायलका नर बहादुर धामी लगायत अन्य नेता, सांसदहरू र सत् पात्रहरू बाट सहयोग भई दुई तल्लाको सत्सङ्ग भवन, गायत्री मन्दिर, धर्मशाला, सो क्षेत्र को बार बन्देज, वृक्षारोपण कार्य सम्पन्न भयो। नेपाली सेना राजपुर र दह-ब्यारेक, डडेलधुरा बाट पनि सहयोग भएको थियो। 

गायत्री यज्ञ, दीप यज्ञ, मुष्टि दान, अंश दान, संस्कार गराएर, उपनयन ( व्रतबन्ध , विवाह, मासिक प्राप्त भएको कर्मचारी को १० प्रतिशत दान, गृह पूजा, गायत्री पूजा, मन्दिर मा चढाएको भेटी, मेलामा आएका मानिसहरू को सिदादान, दक्षिणा बाट प्राप्त रकम सबै गहनान को विकास मा अर्पण गरिन्थ्यो। कुना कुना का गाउँ, हिँडडुल गर्दै, विभिन्न तीर्थमा, मेलामा, जातमा शिवरात्रि आदि जहाँ भए पनि सरम नमानी सहयोग जुटाउने (चन्दा माग्ने ) काम गरियो । दाता सँगै माग्ने रसिद ठेलीको प्रथम पेजमा प्रति महिना सबै भन्दा पहिला आफूले चन्दा दिन्थे, जसले गर्दा अरू लाई चन्दा दिन प्रेरित गर्दथ्यो।पैसा जुटाउन यो पङ्क्तिकार आफ्नो गाउँ सिमखोली बाट काठमाडौँ आफ्नै खर्चमा बेला बेलामा गई सिहदरवारका बिभिन्न् मन्त्रालय, विभाग धाउने काम गरिन्थ्यो। 

यी सबै प्रयास बाट गहनान मा केही आधारभूत संरचना तयार गर्न सकियो, तर ३५ वर्ष पछि पनि गहनान को अपेक्षित रूपमा विकास हुन् सकेको छैन। अझै पूर्वाधार तथा प्रसार, प्रचारका काम वाकी नै छन्। ध्यान केन्द्र, आगन्तुकहरूका लागि वासस्थान, र योग वा आयुर्वेद अभ्यास गर्न सक्ने ठाउँहरू को निर्माण र यस पवित्र तीर्थस्थल को महत्त्व को बारेमा प्रचार प्रसार र उपयोगिता लाई अझ व्यापक बनाउन तिर सबै लाग्नु पर्छ । 

गत तीन दशकको गहनान बनाउने यात्रालाई फर्केर हेर्दा सीमित श्रोत साधन बाट पनि धेरै काम गरिएको थियो भन्ने लाग्छ। तर अहिले नगरपालिका लगायत प्रदेश र सङ्घीय सरकार ले थोरै भए पनि बजेट विनियोजन गरी गहनान विकास गुरुयोजना तयार गरी काम गर्दा समग्र प्रदेश को धार्मिक पर्यटन मा टेवा पुग्ने छ । 

अब शिखर नगरपालिका,नयाँ पुस्ता र अन्य सम्बन्धित निकायहरू ले नयाँ सोच र जोसका साथ गहनान लाई एक आध्यात्मिक केन्द्र को रूपमा विकास गर्ने कामलाई निरन्तरता दिनु पर्दछ। गहनान स्थानीयहरूका लागि धार्मिक स्थल मात्र नभई अध्यात्मको खोजी गर्नेहरू , पर्यटक र योग र आयुर्वेदका अभ्यासीहरूका लागि पनि गन्तव्य बन्ने सम्भावना छ। तर, यो परिकल्पना साकार हुनका लागि सांस्कृतिक र आध्यात्मिक सम्पदाको मूल्य बुझ्ने जनप्रतिनिधि, स्थानीय बुद्धिजीवी र दूरदर्शी युवाहरूको प्रयास को आवश्यकता छ।

साथै, गहाननको वातावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ र यो ऐतिहासिक पुण्य-स्थल भावी सन्ततिहरू को लागि जोगाइ राख्नु पर्छ। गहनानको  प्राकृतिक परिवेश-नदीहरू, जङ्गलहरू र पहाडहरू लाई स्वच्छ कायम राख्नु तिर लाग्नु पर्छ। वरपर का पहाड तथा खाली जमिन मा वृक्षारोपण गर्नु पर्छ र वातावरणमैत्री पूर्वाधार, नदिहरु तथा परिवेश को पर्यावरण संरक्षण गर्दै नदी तटबन्ध लाई जोड दिनु पर्छ।

धार्मिक र सांस्कृतिक महत्त्व, प्राकृतिक सौन्दर्य, र दुई नदीको अनुपम सङ्गमले गहनानलाई सुदूरपश्चिमको प्रमुख आध्यात्मिक गन्तव्य बनाउने सम्भावना छ। योगको अभ्यास, आयुर्वेदको ज्ञान, र ध्यान साधनाका स्थलहरू सहित गहनानलाई आध्यात्मिक केन्द्रका रूपमा स्थापित गर्ने यस पङ्क्तिकार लगायत केही व्यक्तिहरूले तीस वर्षअघि देखेको सपना आज पनि उत्तिकै सान्दर्भिक छ। यो केवल एक दुई जनाको  मात्र सपना होइन, यो डोटी, डडेल्धुरा, बैतडी, र समग्र सुदूरपश्चिमका बासिन्दाहरूको शान्ति र सनातन परम्पराको जगेर्ना गर्ने साझा सपना हो। यस सपनालाई साकार पार्ने र गहनानको विकासलाई निरन्तरता दिँदै यसलाई अध्यात्म र प्राकृतिक सौन्दर्यको ज्योतिको रूपमा उज्यालो बनाउने जिम्मेवारी अब नयाँ पुस्ताको हातमा छ।

( लेखक विगत ७० वर्ष देखि अध्यात्म र समाजसेवा मा संलग्न हुनुहुन्छ )

Related News

कञ्चनपुरमा स्रोत नखुलेको २५ लाख रकम बरामद
कञ्चनपुरमा स्रोत नखुलेको २५ लाख रकम बरामद
  • २०८१ आश्विन ५

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रम्हदेवबाट स्रोत नखुलेको २५...

TOP