२०८३ असार १४, आईतवार
June 28, 2026, Sunday

गृहमन्त्री सुदन गुरुङको छड्के अनुगमनले पर्सा–बाराका सुरक्षा निकायमा तरंग

गृहमन्त्री गुरुङको छड्के अनुगमनले पर्सा–बाराका सुरक्षा निकायमा तरंग

सीमा नाकामा पूर्वसूचना बिना पुगे गृहमन्त्री, तस्करी नियन्त्रणमा कडा निर्देशन

पर्सा | शिखर समाचार

गृहमन्त्री सुदन गुरुङले पर्सा र बाराका विभिन्न सीमा नाकामा सुरक्षा निकायलाई पूर्वजानकारी नदिई गरेको छड्के अनुगमनपछि स्थानीय सुरक्षा निकायमा तरंग फैलिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका लागि चितवन पुगेका गृहमन्त्री गुरुङ शुक्रबार राति करिब ९ बजे सोझै पथलैया पुगेका थिए। त्यहाँबाट उनी पूर्व–पश्चिम राजमार्ग हुँदै जीतपुर सिमरा उपमहानगरपालिकाको बडहर्वासम्म पुगेका थिए। त्यसक्रममा उनले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै सीमा क्षेत्रको अवस्थाबारे जानकारी लिएका थिए।

शनिबार बिहान सिमराबाट वीरगञ्ज पुगेका गृहमन्त्रीले तस्करीका लागि संवेदनशील मानिने अलौं र पनटोक्का सीमा नाकाको अनुगमन गरेका थिए। अनुगमनका क्रममा उनले स्थानीयसँग साइकल, मोटरसाइकल तथा टाउकोमा सामान बोकेर हुने तस्करीका विषयमा जानकारी लिएका थिए।

स्थानीयले सुरक्षा निकायकै मिलेमतो र संरक्षणमा दिनदहाडै तस्करी हुने गरेको गुनासो गृहमन्त्रीसमक्ष राखेका थिए। सीमा क्षेत्रमा जडान गरिएका सिसी क्यामराको प्रभावकारी प्रयोग नभएको तथा त्यसकै आडमा तस्करी हुने गरेको आरोपसमेत स्थानीयले लगाएका थिए।

अनुगमनका क्रममा गृहमन्त्री गुरुङले स्थानीय सुरक्षा निकाय, प्रमुख जिल्ला अधिकारी वा अन्य प्रशासनिक निकायसँग कुनै पूर्वसमन्वय नगरी आफ्ना व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) सँग निजी सवारी साधन प्रयोग गर्दै विभिन्न नाकाको निरीक्षण गरेका थिए। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोअनुसार उनले अनुगमनका क्रममा पाँचवटा फरक–फरक सवारी साधन प्रयोग गरेका थिए भने उनको टोलीका सदस्यहरूको मोबाइलसमेत बन्द रहेको बताइएको छ।

क्याप, मास्क र कालो चश्मा लगाएर साधारण पोशाकमा सीमा क्षेत्र पुगेका गृहमन्त्रीको गतिविधिलाई स्थानीय सुरक्षा निकायले सडक तथा सार्वजनिक स्थानमा जडान गरिएका सिसी क्यामराको सहायताबाट पछ्याएको जनाइएको छ।

दिनभरको अनुगमनपछि गृहमन्त्री गुरुङ शनिबार साँझ साढे ५ बजेको अन्तिम उडानमार्फत सिमराबाट काठमाडौं फर्किएका थिए। फर्किनुअघि उनले सिमरा विमानस्थलमै पर्सा र बाराका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रमुखहरूलाई बोलाएर सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न कडा निर्देशन दिएका थिए।

सीमावर्ती क्षेत्रका स्थानीयले लामो समयदेखि सुरक्षा निकायको प्रभावकारी निगरानी अभावका कारण तस्करी नियन्त्रण हुन नसकेको गुनासो गर्दै आएका छन्। सरकारले भन्सार नाकाबाट सर्वसाधारणले एक सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउन कडाइ गरे पनि सीमा क्षेत्रमा तस्करी भने निरन्तर भइरहेको भन्दै स्थानीयले असन्तुष्टि जनाउँदै आएका छन्।

Related News

आर्थिक विधेयक संसदबाट पारित, राइड सेयरिङमा करदेखि नयाँ आर्थिक नीतिसम्म सरकारका महत्वपूर्ण निर्णय
आर्थिक विधेयक संसदबाट पारित, राइड सेयरिङमा करदेखि नयाँ आर्थिक नीतिसम्म सरकारका महत्वपूर्ण निर्णय
  • २०८३ असार १४

आर्थिक विधेयक संसदबाट पारित, राइड सेयरिङमा करदेखि नयाँ आर्थिक नीतिसम्म...

TOP