२०८१ आश्विन २४, बिहीबार
October 10, 2024, Thursday

डोटी हिन्नेकाँडाको मष्ट परम्परा र संस्कृति

डोटेली संस्कृतिमा सनातन काल देखिनै मष्ट देवलाई कुल, ग्राम इस्ट देवताको रूपमा पूजा गरिँदै आएको सर्बबिदितै छ। जन-संस्कृति र जीवनसँग जोडिएको मष्ट संस्कृति जसलाई बोली चालीमा मष्टो, वा मस्टा भने पनि भाषिक शुद्धताको लागि मष्ट भन्नु पर्दछ भन्ने भावना बढी राखेको छ। डोटेली सभ्यताका वैदिक सनातनीहरू पुस्तौँ-पुस्ता देखि आफ्नो कुलको उद्धार, शान्ति-सुरक्षा र प्रसन्नताको लागि मष्टलाई कुलायनको रूपमा मान्दै पूजा अर्चना गर्दै आइरहेका छन्। तर विगत ५० वर्ष यताको पहाड देखि तराइ वा अन्यत्र बसाई-सराईले आफ्नो परम्परा कायम राख्न केही कठिनाइ भए पनि आफ्नो कुल देव र मष्ट परम्परामा ठुलो आस्था र पूजनको विधि रही आएको छ।

सनातनी मष्ट परम्परा भित्रका विभिन्न स्वरूप मध्ये वैदिक दुग्धधारी मष्टको बारेमा त्यति लेखेको पाइँदैन। आमरुपमा मष्टमा बलि प्रथा मात्र हुन्छ भन्नेछ। तर खासमा नेपालका आराध्य देव पशुपति नाथ जस्तै मष्टमा पनि वैदिक सात्त्विक पूजाको चलन पनि छ। यसको उदाहरण स्वरूप डोटी जिल्लाका हिन्नेकाँडा बासीहरूले मान्ने र पूजने दुग्धधारी मष्ट परम्परा, संस्कृति र पूजालाई लिन सकिन्छ र यो लेखमा इस्ट देव दुग्धधारी मष्टको बारेमा चर्चा गर्न खोजिएको छ।

हिन्नेकाँडाका अवस्थी, ओझा र भट्ट लगायत विभिन्न जातिहरू वैदिक दुग्धधारी मष्ट परम्परालाई आफ्नो कुल आचार, कुल देवता, संस्कृति र प्राचीन सांस्कृतिक परम्पराको प्रतीकका रूपमा लिन्छन्। प्राचिनकाल देखि नै दुग्धधारी मष्टलाई गाउँको कल्याणको लागि र विभिन्न समस्याहरूको निराकरण गर्ने कुल देवता, ग्राम देवता र इस्ट देवता का रूपमा पनि लिइन्छ। शाकाहारी र निराहार रही पूजा अर्चना गर्ने चलनले गर्दा दुग्धधारी मष्ट परम्परा लाई वैदिक सनातन र प्रकृति पूजनमा आधारित आध्यात्मिक चिन्तन पनि मानिन्छ। कुल पूजा बाहेक अन्य शुभ कार्य मा पनि “ॐ जय मष्ट’’ जय मष्ट देवी भवानी भनी मन्त्र-उच्चारण गर्ने गरिने परम्परा ले मष्ट प्रतिको गहिरो आस्था लाई प्रतिबिम्बित  गर्दछ। 

आमरुपमा विभिन्न १२ भाइ मष्ट लगायत दुग्धधारी मष्ट बायु सँगै जोडिएको विशिष्ट शक्ति भएको रुद्र शिव बायु स्वरूप निराकार हुन्छन्। धर्म शास्त्रमा पनि महादेव निराकार निरञ्जनको रूपमा लिइएको पाइन्छ। त्यसैले पनि हिन्नेकाँडाको दुग्धधारी मष्टको पर्खाल छाना सहित को मन्दिर छैन र तन्त्र विद्या अनुसार निराकार मष्ट विशेष स्थानमा हुनु पर्दछ। मष्टको शिला हिन्नेकाँडा गाउँको सिरमा अवस्थित छ। दुग्धधारी मष्टको माणु अर्थात् मस्टमण्डौ प्रभात माध्यमिक विद्यालयको दक्षिण तर्फ चमरी भन्ने ठाउँमा निगलासैनीको गाज सेलाउने बाँझको रुख भन्दा पश्चिममा छ। मस्टा स्थान नजिक खोलामा पानी को मूल छ। भाद्र अष्टमी पूजाको दिन त्यही पानी खानपिन मा प्रयोग गरिन्छ। 

डोटेली भाषामा मन्दिरलाई माणु भनिन्छ, कुनै बेला डोटेली भाषाको प्रभाव हुँदा काठमाडौँको नाम पनि, काठको माणु भएकोले काठमाडौँ नाम रहन गएको विश्वास छ । मष्टलाई भगवान् शिवको रूपमा मानिन्छ। महादेवलाई इष्ट देव मान्ने भएकाले महादेवका सट्टामा महा + इष्ट = मष्ट ‘मष्ट’ भनेर सम्बोधन गर्ने चलन भएको पनि भनिन्छ। नेपालको इस्ट देव, राष्ट्र देव भगवान् पशुपतिनाथको मूर्ति चार दिशा मा मुख भएको शिव लिङ्ग भए जस्तै र पवित्र गाईको दूध ले अभिषेक गरिन्छ। हिन्नेकाँडाको निराकार दुग्धधारी मष्टको मष्ट को आकृति पनि शिव लिङ्ग जस्तै छ। महामष्ट भनेका त महादेव शिव महेश्वर नै हुन् । जसरी नाथ परम्परामा आदिनाथ भनेर महादेवलाई नै भने जस्तै मष्ट परम्परामा महामष्ट भनेको पनि महादेव शिव नै हुन् । यहाँ सेतो, चन्दन चढाउने र ध्वजा स्वरूप पहेँलो, वस्त्र, लुगा चढाइन्छ। 

दुग्धधारी मष्टलाई दूध बाट मात्र भोग चल्छ र को पूजा मा दूध राख्ने, घ्यु ले हवन गर्ने हुन्छ। तेल को प्रयोग हुँदैन, बत्ती पनि घ्युमा बाल्नु पर्दछ। यो पूजा विशेष गरी त्रिशूल, घण्टा, ध्वजा पताका र शिला राखेर सम्पन्न गरिन्छ। मष्ट पूजा एक धार्मिक विधि मात्र नभएर, समाजको एकीकृत भावनाको प्रतीक पनि हो। यस पूजा विधिको माध्यमबाट समुदायका सदस्यहरू आफ्नो इष्ट देवता मष्टको आराधना गर्छन्।

अष्टमीमा दुग्धधारी देवता को पूजा हुन्छ, नवमीमा निगलासैनी, भाद्र शुक्ल अष्टमीको दिन पूजा हुन्छ। यो वर्ष तिथि अनुसार भाद्र २६ गते हुन्छ। भाद्र २५ गते बिहान सत्य नारायणको पूजा र हवन हुन्छ, २६ गते हिन्नेकाँडा गाउँ भित्रका सबै जात जाति सबै पूजामा लाग्छन्। मष्ट पुज्दा घरमाडु र वनमाडुका थानहरूमा सेता राता धजा चढाउँछन् । माडुमा त्रिशूल, धूप, बत्ती, शङ्ख र घण्ट हुन्छन्। शिरमा लामा लामा शिखा राखेर धातु वा काठको दण्डमा ध्वजा चँमर बाँधेर राजदण्ड बनाई पूजा थानमा मष्टको आराधना गरिन्छ। मष्टको आराधना गरी धामी देवता कामेर देव वाणी निकाल्न थाल्दछन् । मष्ट देवतालाई आपद्, विपद्, भोक, रोग र सङ्कट जस्ता आपत्तिजनक परिस्थितिमा मद्दतको लागि पूजा गरिन्छ। यस पूजा विधिमा इष्टदेव मष्टलाई विशेष स्थान दिइन्छ, र विभिन्न धार्मिक कर्मकाण्ड गरिन्छ जसले मष्टको शक्तिमा गहिरो विश्वास कायम गराएको छ । मष्ट साधारण विधि मात्र नभएर आम मानिसको जीवनको प्रत्येक चरणमा गहिरो प्रभाव पार्ने सनातनी परम्परा हो । 

अन्य मष्ट परम्परा जस्तो हिन्नेकाँडाका दुग्धधारी मष्टमा धामी परम्परा छैन। विगत कालमा आतप-विपद् पर्दा र कुनै खास दिनमा विश्व अवस्थीका सन्तानमा दर्शन दिने वा काम्ने गर्थे, । खास धामी आउने वा कामेर भाग (आशीर्वाद) दिने वा बोल्ने गर्दैनन् । यस्तो देव बोली जुन बोली चाली भन्दा अलि फरक हुन्छ जसको आदिमता र प्राचीनताको स्रोत प्राय ऐतिहासिक कालदेखिका सयौँ घटना, आपत् विपद्, पशुपालन र कृषि कर्म गर्दा देखा परेका समस्याको निराकरण गर्न अपनाइएको उपायहरूको अनुभवको सँगालो जस्तै हो । बोली दैनिक जीवनका कार्यमा प्रयोग र उपयोगमा हुँदैनन्।

पहिले मुख्य महन्तमा मस्टाको दर्शन हुन्थ्यो वा काम्थे। मस्टाका पुजारी अवस्थी राठको जेठो वा सबै राठले चुनेको वा मन पराएको नै हुन्छ। चार राठ भन्नाले अवस्थी र भट्ट, मल्लो ओझा डाँडा गाउँ , तल्लो ओझा तल्ली गाउँ गरी चार राठ भनिन्छ। ठकुरी शाहीहरू हिन्नेकाँडावाट झुडा बसाई सराई गरे पछिको दिनमा त्यहाँ अवस्थी, ओझा, शाही, भट्ट गरी चार राठ रहे। 

कुल देवता मष्टको “बाह्र भाइ मष्ट भाइयौ, साक्षी भया नवै बहिनी भवानी, साक्षी भया” भन्ने श्लोक उच्चारण बाट मष्टको आराधना गरिन्छ हुन्छ। दुग्धधारी मष्टको उत्पत्ति, इतिहास र परम्पराको अध्ययनले नयाँ पीढी लाई आफ्नो इतिहासको बोध गराउने छ र यस विषयमा नयाँ बहस र छलफलको थालनी हुनेछ।

( लेखक विगत ७० वर्ष देखि अध्यात्म र समाजसेवा मा संलग्न हुनुहुन्छ )

Related News

कञ्चनपुरमा स्रोत नखुलेको २५ लाख रकम बरामद
कञ्चनपुरमा स्रोत नखुलेको २५ लाख रकम बरामद
  • २०८१ भाद्र २५

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रम्हदेवबाट स्रोत नखुलेको २५...

TOP