दिपायल – साउनको सुरुवातसंगै अहिले अधिकाशं महिलाका हातमा मेहन्दी र रंगीबिरंगी चुराले सजिएको देख्न सकिन्छ । साउन महिनामा महिलाहरु हरियो पोशाक, हरियो चुरा र मेहंन्दी लगाउन सुरु गर्दछन् ।
साउन महिनालाई हरियो महिनाका रुपमा पनि चिनिन्छ । त्यसैले पनि महिलाहरु हरियो चुरा, मेहंदी तथा हरिया वस्त्र किन लगाइएको भन्ने मान्यता छ । रातो, पहेंलो र हरियो चुरापोते तथा कपडामा सजिएका महिलाको मन्दिर र बाटोघाटोमा चहल–पहल देखिन्छ । साउनमा हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेंलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ ।
पौराणिक कथा अनुसार साउन महिना देवताहरुका पनि देवता महादेव शंकर अर्थात् शिवको महिनाका रुपमा लिइन्छ । पार्वतीले साउन महिना भरि निराहार रही कठोर ब्रत बसेर भगवान् शिवलाई प्राप्त गरेकी हुनाले यो महिनालाई भगवान शिवलाई मन पर्ने महिनाको रुपमा पनि लिइन्छ ।
श्रावण महिनामा भगवान शिवको पूजा गरी ॐ नमः शिवायः को जप गर्नाले उनी प्रसन्न हुने विश्वास छ । श्रावण महिनामा शिवको आराधना, पुजा, ब्रत गर्नाले मृत्युमाथि पनि विजय प्राप्त गर्न सकिने र महिलाहरु सौभाग्यवती हुने विश्वासले पनि शिवालयमा दर्शनका लागी पुग्ने गरेका छन् । पछिल्लो समयमा भने श्रावण महिनाको मुख्य रौनक अर्थात् आकर्षण नै हरियो चुरा तथा सोमबारे ब्रत नै हो ।
केहि दशक अगाडीसम्म भने श्रावण महिनामा ब्रत बस्ने, हरियो चुरा तथा मेहंदी लगाउने चलन नभएको वृद्धाहरुको दाबी छ । अहिले पनि कत्तिपय ग्रामीण भेगका महिलाहरुले श्रावण महिनालाई खासै महत्वका साथ लिने गरेको पाइँदैन तर शहरी भगेहरुमा भने यो क्रम दिनप्रतिदिन बढ्दो छ ।
हत्केलामा जति बढी गाढा मेहन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने धार्मिक विश्वास छ ।
तर सबै महिलाहरुले यही विश्वासमा मेहन्दी लगाएका होइनन् । यो एउटा फेसनका रुपमा विस्तार हुदैछ । यसले विस्तारै परम्परा र सँस्कृतिकोरुप ग्रहण गर्दै गैरहेको छ । धार्मिक संस्कृति भन्दा पनि देखासिकी र फेशनको रुपमा मौलाउँदै गएको छ श्रावण महिनामा हरियो चुरा, मेहन्दी, र हरिया वस्त्र लगाउने प्रचलन । विवाहिता महिलाहरु मात्रै होइनन्, अविवाहित स्त्रीहरुदेखी बालीका तथा वृद्धाहरुले समेत हरियो चुरा र मिहेन्दी लगाएको देखिन्छ ।
धेरैजसो महिलाहरुलाई भने आफुले लगाएको हरियो चुरा तथा मेहंन्दीको महत्वका विषयमा समेत जानकारी छैन । हुन त नारी र चुराको सम्बन्ध परापूर्वकालदेखि चलेको हो ।
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...