२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

सुन्दैन नैपाल सुदूरपश्चिमको रैवार

हेमन्त विवश

गोठाल्या आँसीका बीँड ठौरठौर बुट्टा 
एकमुठी परानीकन सय लहर फुट्टा 

जताततै कोरोना त्रास । सुरक्षित ठाउँको खोजीमा मान्छेहरू तराईबाट पहाड झरिरहेका थिए । डोटी गोपघाट नपुग्दै फोन सम्पर्कमा आउछिन् देउसरा । मैले हलो मात्र के भनेको थिएँ उनले मेरो आवाज चिनेर तेस्र्याइन् प्रश्न –‘गोसाई नैपालमी छौ कि यइतिर आया छौँ ?’ सुदूरपश्चिमले काठमाडौंलाई नैपाल भन्थ्यो उहिले । शासकहरूले सधैँ सौतेनो व्यवहार गर्न थालेपछि लागेन सुदूरपश्चिमवासीलाई नेपाल अर्थात् काठमाडौं आफ्नै देश जस्तो र भन्न थाले नैपाल ।

देउसराले पनि भनिदिन्छिन् काठमाडौंलाई नैपाल । उनको ठट्टा गर्ने बानी पुरानै हो म डोटी पुगेको कुरा थाहा पाएपछि हाँस्दै भनिहालिन् – ‘नैपाल बाटी करना रोग ल्याएका होल्ला तमी घर जनआस् । उइल हामी तलजातीकन छोएपछि छोइछिटो हाल्लथ्या आब हामले तमीलाई छोएपछि छोइछिटो हाल्लु पड्या हो ।’ ठट्टाका रूपमा भनिएको उनको भनाइ निकै गम्भीर थियो । मननीय थियो । समाजको त्यही संरचनाले विभेदका खाडल तय ग-यो । 

शैक्षिक आर्थिक सबै किसिमले पछाडि पारिए दलितहरू । उद्योगधन्दा केही नभएको मुलुकमा साहुको ऋण तिर्न र सामान्य गुजरा चलाउन पाइला चाल्नुप-यो देशतिर । त्यो देश भन्नु त्यही भारत थियो ।

‘नैपाल बाटी करना रोग ल्याएका होल्ला तमी घर जनआस् । उइल हामी तलजातीकन छोएपछि छोइछिटो हाल्लथ्या आब हामले तमीलाई छोएपछि छोइछिटो हाल्लु पड्या हो ।’

यतिखेर देशबाट कोही कोरोनाको डरले त कोही नयाँ वर्षको उपलक्ष्यमा घर फर्किएका हुन् । अधिकांश ती पाइला पुगेनन् आँगनमा । थुनिएका छन् सिमानामै । देउसराकी बुहारीका भाइ पनि रोकिएकै छन् दार्चुलापारि । महाकाली वल्लो किनारमा नेपाल छ पल्लो किनार भारतको । कैयौँपटक चर्चाको विषय बनाइयो त्यही महाकालीलाई । त्यही कालापानीलाई, लिपुलेकलाई । कतिपय किनार बेचिए त्यही कालीका ।

कैयौँपटक तुइन टुटेर मोजाको भकुन्डोझैँ पानीमा फुत्त खसे कतिपय जिन्दगी । आँसु बोकेर दौडिरहिन् महाकाली नदी । नदीलाई कोरोना लाग्दैन । रुघाखोकी पखाला केही लाग्दैन । मात्र कहिलेकाहीँ अराजक बनिदिन्छन् नदीहरू । हरेक नदीको नियति नै हो अनवरत बगिरहनु अनि आफ्नो काखमा आएका जेसुकै हुन् लपेट्दै लैजानु । उहिलेदेखि अहिलेसम्म के कति व्यवस्था आए, को–कोले कतिकति आश्वासनका फाँटहरू देखाएर गए त्यहाँका जनतालाई । छैन कुनै हिसाबकिताब । लाजसरम पचाएर उल्टै बेचिदिए समय–समयमा महाकालीका बगर अनि बगरछेवैका फाँटहरू ।

अगुल्टाले झोसेझैँ झोसी नै रहे वेलाबखत सुदूरपश्चिमेलीका आशा भरोसा र सपनाका कोपिलालाई । त्यसैले त हालखबर सोध्दा सुनाएकी थिइन् देउसराले सिरानीमा राखिएका डेउडा गीतका पंक्ति । एक मुठी परानी अर्थात् एकमुठी सास फेर्नलाई पनि मनमा सैकडौँ लहर उठिरहन्छन् । ती लहरहरू आक्रोशका हुन् । अन्याय अत्याचार सहन नसक्दा अन्तरहृदयबाट निस्किने ज्वालामुखी हुन् । विरह वेदनाका हुन् । मान्छेले मान्छेलाई दोस्रो दर्जाको बनाउँदाका हुन् । राज्यले जनतामाथि गरेको विभेदका विरुद्ध निस्केका छालहरू हुन् । बाँचुन्जेल नै त हो मान्छेले आफ्नो अधिकार अनि न्याय–निसाफ खोज्ने । 

देशमा गणतन्त्र आयो । प्रदेशहरू बने । प्रदेश सरकार बने । गाउँगाउँमा सिंहदरबार भनी नारा लगाए । सुदूरपश्चिमले पायो भारतमा चौकीदारी गर्दै दुःख, पीर झेल्दै संघर्षमय जिन्दगी बिताउँदै आएका अनुभवी मुख्यमन्त्री । गोसाईका मुखारबिन्दबाट मुख्यमन्त्री बनेको केही दिनमै एउटा उद्गार निस्कियो– ‘अब सुदूरपश्चिमेलीले भारतमा गएर चौकीदारी गर्नुपर्ने छैन । ‘दुःख पाएका चौकीदारी गरेर आएका मान्स, पक्कै केइ त गन्र्या हुन्’ आशाका किरण झुल्किन थाले जनता जनार्दनमा । समय बित्दै गयो । डाँडाका टाकुराबाट निस्किँदै गरिरहेका किरणहरू पुगेनन् पल्लो डाँडातिर । नयाँ बोतलमा पुरानै रक्सी भनेझैँ देखिए मुकुण्डोधारीहरू । कुम्ल्याउँदै गए राज्यको ढुकुटी । हुँदाहुँदा पछिल्लो समय जनतालाई चिन्न पनि छाडे । यदि चिन्दा हुन् त आज पठाउनुपर्दैन थियो होला हजारौँ नेपालीले महाकालीपारिबाट एकोहोरो रैवार(खबर) । 

सुन्दैन नैपाल सुदूरपश्चिमको रैवार (सन्देश) । दुख्दैन नैपाललाई सुदूरपश्चिम । नैपालले बाध्य बनाउँदै छ सुदूरपश्चिमलाई मनमा आगोका फिलिङ्गा बोक्न । मनमा अनेकौँ रहर उत्पन्न भैदिँदा फोनवार्तामै सोधेकी हुन् देउसराले, ‘गोसाई के आफ्ना घर आउनालाई लगइ आन्दोलन गर्नु पड्या हो ?’

भारतका विभिन्न नाकामा अलपत्र परेका छन् नेपाली । चार–पाँच महिनाअघिदेखि नै थाहा थियो सरकार चलाउनेलाई, कोरोना कहरका बारेमा । करिब दुई महिनाअघि त राम्रैसँग थाहा भइसकेको थियो– अब होसियारीपूर्वक योजना बनाउन नसके खैरियत छैन भन्ने कुरा । कुनै तयारी नगरीकन कानमा तेल हालेर बसिरहे सरकार चलाउनेहरू । मान्छेले झैँ सल्लाह गरेर आउँदैन रोगव्याध, महामारी जुन कुरा बुझेर पनि बुझ पचाइरहे तिनले । 

महाकालीपारि भारतीय भूमिमा निरीह बनेर दिन बिताइरहेका नेपालीमध्ये पत्रकार भोजराज जोशीको माध्यमबाट मेरो सम्पर्क भएको थियो –पुर्चौडी–८ मल्लादेही बैतडीका उत्तम बोहरासँग । बोहराका अनुसार पिथौरागढको नातुनीमा रहेको राष्ट्रिय इन्टर कलेज बालुवाकोट क्वारेन्टाइनमा उनीलगायत ३६९ जनालाई राखिएको छ । ‘घरबाट जसरी नि आउनु भनिदिए । बोर्डरमा पुगेर घन्टौँ कु-यौँ । सिडिओको आदेश आएपछि भन्यो, आदेश आएन । माथिको आदेश आएपछि भन्यो त्यो पनि आएन रे ।

अनि लग्यो नाम मात्रको क्वारेन्टाइनमा । यहाँ भेडाबाख्रा हुलेझैँ गरेर राखेको छ । सिमेन्टको भुइँमा ओढ्ने ओछ्याउनेविना नै रात बिताइरहेका छौँ । जस्तोसुकै अवस्था भए पनि आफ्नै देशको क्वारेन्टाइनमा जति दिन पनि बस्न तयार छौँ । विदेशीलाई प्लेन चढाएर पठाइरहने सरकारले हामी ढोकामा पुगेकाहरूका निम्ति खोल्दैन दरवाजा । पाउँदैनौँ घरभित्र जान । आफ्नै देश बिरानोजस्तो बनाएर राज्यले सौतेनो व्यवहार गरिरहेको छ,’ दुखेसो पोखे बोहराले । 

बोहराका अनुसार उनी बसेको क्वारेन्टाइनमा बैतडी, दार्चुला डडेल्धुरा, बझाङ, डोटी र कैलालीका मजदुर छन् । उता ज्वलजीवि माथि मतकोटमा भारतको खरीखानीमा काम गरेर फर्केका १५ जना चौधरी महिला छन् भने दुईजना स्कुल छाडेर हिँडेका बझाङका ११–१२ वर्षका बच्चाहरूलगायत ३३० जना छन् । यसरी तहसिल, नियालीपानी, लेकम, व्यास क्षेत्रमा पनि कैयौँ नेपालीलाई राखिएको छ । दिनको पाँच–सातजना ज्यानको बाजी लगाउँदै पौडिरहेकै छन् महाकालीमा । 

पत्रकार सुन्दरसिंह धामीलाई मालिकार्जुन गाउँपालिका २ का चन्द्र धामी एसएमएस पठाउँछन्– ‘क्वारेन्टाइनमा दूरी कायम गर्नु त परै जाओस् केही बोल्यो भने पनि गाली गर्छन् । कुटाइ खानुपर्छ । बेहाल छ यता ।’ त्यस्तै दार्चुला मार्मा गाउँपालिकाका धनजित महता सुनाउँछन्– ‘राति भाग्ने हुन् भन्ने शंकाले पिसाबसमेत बोतलमा फेरेर दोस्रो दिन बिहान फाल्नु परिरहेको छ । भारतीय पुलिसको गाली र कुटाइ खानुपरेको छ ।’ 
०००
देउसराको छ्वास्स मिसकल आउनासाथ बुझ्नुपर्ने हुन्छ मैले उनको मनमा अनेक कुरा खेल्न थालेका छन् । प्रश्नहरू तयार भइसकेका छन् । ती प्रश्नलाई मसामु राख्न आतुर छिन् उनी । फोनमार्फत गम्भीरतापूर्वक मसामु प्रश्नहरू राख्छिन्, ‘आफ्नै देश विरानो भयो भन्याको यसै त होला धेक्या गोसाई ? गरिब कामदारकन त घरै नआउन दिन्या भैगया । नेताका चेला भएका भए लगइ बसिरना हुन् के इतिका दिनसम्म बाउडरमाइ ?’ 

आज कैयौँ देउसराहरूले प्रश्न उठाइरहेका छन् । आँसु झारिरहेका छन् । एक हजार ६ जना नेपाली दार्चुलाको सिमानामा अड्केका छन् । विवेकशून्य लाचारी नैपालका शासकका कान फुटेका छन् । सुन्दैन नैपाल सुदूरपश्चिमको रैवार (सन्देश) । दुख्दैन नैपाललाई सुदूरपश्चिम । नैपालले बाध्य बनाउँदै छ सुदूरपश्चिमलाई मनमा आगोका फिलिङ्गा बोक्न । मनमा अनेकौँ रहर उत्पन्न भैदिँदा फोनवार्तामै सोधेकी हुन् देउसराले, ‘गोसाई के आफ्ना घर आउनालाई लगइ आन्दोलन गर्नु पड्या हो ?’

महाकालीको पल्लो किनारबाट सुदूरपश्चिमले डाँको लगाइरहेको छ । रैवार (सन्देश) पठाइरहेछ । बुझेर पनि अबुझझैँ बनिरहेको छ नैपाल । समाचार सुनिन्छ– नेदरल्यान्डका प्रधानमन्त्री जनताको हौसला बढाउन हप्ताको एक दिन अस्पतालमा गएर काम गरिरहेका छन् । चीनका राष्ट्रपतिले पटकपटक अस्पताल पुगेर बिमारी भेटिरहे । यो देशका शासकहरू कुन दुलोमा लुकेका छन् ? जनतालाई थाहापत्ता केही छैन ।

इटालीको सडकमा पैसा छरेको समाचार सुनिन्छ । पैसा मात्रै पनि सबैथोक रहेनछ भन्ने सन्देश दिइन्छ । हाम्रा शासकहरू फेरि पनि कमिसनकै पोखरीमा पौडिरहेका समाचार सुनिन्छन् । कोरनाको सन्त्रास बढेका वेला यता देउसराहरू प्रश्न गरिरहेकै छन्–‘विगतदेखि वर्तमानसम्म गरिब, निमुखा र सीमान्तकृतहरूका निम्ति समाजमा उब्जेकै थिए कोरोना भाइरस । हैकमवादी सोचका, आफ्नो रवैया देखाइरहेका गरिबको श्रम चुसिरहेकाहरू के कोरोनाभन्दा कम छन् र मालिक ?’ छुट्टिँदा सधैझैँ सुनाइन् देउसराले दुई पंक्ति गीतका पनि : पाकोफल चरीले खायो, काँचो फल रुखै छ निर्धालाई कोरोना सधैँ ठालुलाई सुखै छ 

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ बैशाख ६

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP