२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन, वार्षिक वृद्धिदर भने ५ प्रतिशतमा सीमित

तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन, वार्षिक वृद्धिदर भने ५ प्रतिशतमा सीमित

काठमाडौं । आर्थिक वर्षको अन्तिम तीन दिनमा संघीय सरकारले ५० अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्षको अन्तिम मसान्त नजिकिँदै गर्दा राजस्व संकलनमा उल्लेख्य वृद्धि भए पनि समग्र वार्षिक राजस्व वृद्धिदर भने ५ प्रतिशतमा सीमित भएको छ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार बिहीबार १६ अर्ब ५० करोड रुपैयाँ, बुधबार २१ अर्ब १७ करोड रुपैयाँ र मंगलबार १२ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन भएको छ। यसरी पछिल्लो तीन दिनमा मात्रै ५० अर्ब १० करोड रुपैयाँभन्दा बढी राजस्व सरकारी खातामा जम्मा भएको हो।

हरेक आर्थिक वर्षको अन्त्यतिर करदाता तथा व्यवसायीले कर भुक्तानी गर्ने भएकाले अन्तिम दिनहरूमा राजस्व संकलन उल्लेख्य हुने गरेको छ। तर गत आर्थिक वर्षको यही अवधिमा तीन दिनमै ६४ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो, जुन यस वर्षको तुलनामा बढी हो।

सरकारले वर्षभर अपेक्षाअनुसार राजस्व संकलन गर्न नसक्दा समग्र राजस्व वृद्धिदर ५ प्रतिशत मात्रै पुगेको छ। यो विगतको औसतभन्दा निकै कम रहेको अर्थ मन्त्रालयको तथ्यांकले देखाएको छ।

आर्थिक वर्ष २०६८/६९ देखि २०७८/७९ सम्मको १० वर्षमा औसत राजस्व वृद्धिदर १७ प्रतिशत रहेको थियो। त्यसपछि आर्थिक वर्ष २०८०/८१ मा ७ प्रतिशत२०८१/८२ मा ९ प्रतिशत राजस्व वृद्धि भए पनि पछिल्लो आर्थिक वर्षमा यो दर घटेर ५ प्रतिशतमा सीमित भएको हो।

आर्थिक वर्ष २०७९/८० मा राजस्व वृद्धिदरमा पहिलोपटक उल्लेख्य गिरावट आएको थियो। त्यसअघि आर्थिक वर्ष २०२४/२५ यता हरेक वर्ष अघिल्लो वर्षभन्दा बढी राजस्व उठ्ने क्रम कायम रहे पनि उक्त वर्ष राजस्व संकलन घटेको थियो।

अर्थ मन्त्रालयका अनुसार २००८ सालपछि आर्थिक वर्ष २०१०/११, २०१४/१५, २०१८/१९ र २०२४/२५ मा मात्रै अघिल्लो वर्षको तुलनामा कम राजस्व उठेको थियो। त्यसपछि लामो अन्तरालपछि पुनः आर्थिक वर्ष २०७९/८० मा राजस्व संकलन घटेको देखिएको हो।

कोभिड–१९ महामारीको समयमा आर्थिक वर्ष २०७६/७७ मा राजस्व संकलन अघिल्लो वर्षकै हाराहारीमा रहे पनि त्यसपछिका दुई वर्ष क्रमशः १६ प्रतिशत१४ प्रतिशत वृद्धि भएको थियो। तर आर्थिक वर्ष २०७८/७९ मा एकैपटक ९ प्रतिशतले राजस्व घटेको थियो। त्यसयता पनि राजस्व वृद्धिदर सामान्य अवस्थामा फर्किन सकेको छैन।

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०८३ श्रावण १

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP