२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग

काठमाडौं । नेपाल शिक्षक महासंघले आगामी भदौ ५ गते प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतप्रति गम्भीर आपत्ति जनाएको छ। गीतमा प्रयोग गरिएका शब्द र भावले शिक्षक तथा शिक्षण पेसाकै अपमान गरेको भन्दै महासंघले उक्त गीतको प्रसारण तत्काल रोक्न माग गरेको हो।

महासंघको राष्ट्रिय समितिले जारी गरेको विज्ञप्तिमा हालै सार्वजनिक गरिएको प्रमोसन गीतले विशेषगरी महिला शिक्षकहरूलाई लक्षित गरी अमर्यादित शब्द र भाव प्रस्तुत गरेको ठहर गरिएको छ। विज्ञप्तिमा गीतले शिक्षक र शिक्षण पेसाको गरिमामाथि गम्भीर प्रहार गरेको उल्लेख गरिएको छ।

महासंघले सम्बन्धित पक्षलाई उक्त गीतको प्रसारण तत्काल बन्द गर्न तथा चलचित्रमा समेत प्रयोग नगर्न आग्रह गरेको छ। यदि गीतलाई यथावत् राखी प्रदर्शन गरिएमा त्यसबाट उत्पन्न हुने कुनै पनि असहज परिस्थिति वा परिणामको सम्पूर्ण जिम्मेवारी चलचित्र निर्माता तथा सम्बन्धित कलाकारहरूले नै वहन गर्नुपर्ने चेतावनी पनि दिइएको छ।

सानोठिमी, भक्तपुरस्थित महासंघको कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुला बहादुर थापाको हस्ताक्षर रहेको छ।

महासंघले शिक्षण पेसाको सम्मान, मर्यादा र सामाजिक प्रतिष्ठामा आँच पुग्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट गर्दै शिक्षक समुदायको आत्मसम्मानमाथि चोट पुग्ने सामग्रीप्रति संवेदनशील हुन चलचित्र निर्माण पक्षलाई आग्रह गरेको छ।

Related News

तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन, वार्षिक वृद्धिदर भने ५ प्रतिशतमा सीमित
तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन, वार्षिक वृद्धिदर भने ५ प्रतिशतमा सीमित
  • २०८३ श्रावण १

तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन, वार्षिक वृद्धिदर भने...

TOP