देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेषगरी सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ र दार्चुलाका स–साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रही विभिन्न स्थानमा वर्षा भइरहेको छ। अहिले कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको जनाइएको छ।
महाशाखाले देशभर वर्षा जारी रहने क्रममा स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने जनाएको छ। विशेषगरी डोटी, डडेल्धुरा, बझाङ र दार्चुलासहित ओखलढुंगा, रामेछाप, रुकुम पूर्व र जाजरकोटका स–साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको पूर्वानुमान गरिएको छ।
यस्तै, कैलालीसहित काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, धादिङ, नुवाकोट, चितवन, नवलपरासी (पूर्व), पाल्पा, अर्घाखाँची, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ, बाँके, बर्दिया र सुर्खेत भएर बग्ने स–साना नदीहरूको बहाव पनि उल्लेख्य रूपमा बढ्न सक्ने महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार शनिबार सातै प्रदेशका केही स–साना नदीमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्र, पहिरो जोखिमयुक्त स्थान तथा खोला–नाला आसपास बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
विशेषगरी सुदूरपश्चिमका पहाडी जिल्लामा लगातार वर्षा भइरहेकाले पहिरो, सडक अवरोध तथा आकस्मिक बाढीको जोखिम बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...