२०८२ बैशाख २९, सोमबार
May 12, 2025, Monday

सर्वाेच्चको आदेशपछि निजी अस्पताल खुले पनि उपचार पाइँदैन

धनगढी– सर्वाेच्च अस्पतालको आदेशपछि मात्र बिहीबारबाट कैलालीका निजी अस्पताल आंशिक रुपमा संचालनमा आएका छन्। उनीहरुले संचालन गरिएको भनेर सटर खुला गरे पनि जनशक्ति भने छैन‍।

अधिकांश निजी अस्पतालहरुले कोरोना संक्रमितको उपचारका लागि कुनै तयारी गरेका छैनन्। सर्वोच्चले निजी स्वास्थ्य संस्थालाई कुनै पनि बहानामा कोरोना संक्रमित बिरामीलाई उपचारबाट वञ्चित गर्ने अधिकार नभएको भन्दै तत्काल खोलेर सञ्चालन गर्न आदेश दिएको थियो। तर, कैलालीका निजी अस्पतालहरु संक्रमणलाई फैलन नदिने योजनाभन्दा पनि कसरी आफू बच्ने भन्दै उपचार गर्नबाट पनि पन्छिइरहेका छन्।

चैत १० गते कञ्चनपुरको बेलौरी नगरपालिका लक्ष्मीपुर स्वास्थ्य चौकीका एम्बुलेन्स चालक सुवास चौधरीले बेलौरीबाट बिरामी बोकेर माया मेट्रोमा पुर्‍याएका थिए। रुघाखोकी, ज्वरो लगायतका लक्षण देखिएका ती बिरामीलाई अस्पतालले भने भर्ना गर्न मानेन। अस्पतालले ती बिरामीलाई उपचार नहुने भन्दै बिरामीका आफन्तले तिनलाई सेती अस्पताल पुर्‍याएका थिए ।

ती विरामीले भने, ‘सामान्य रुघाखोकी थियो। चेकजाँच नगरी सेती पठाइयो। सेतीमा उपचार गरेपछि ११ गते घर फर्केको हुँ।’

यस्तै धनगढी उपमहानगरपालिका–५ की एक महिलालाई चैत १७ गते प्रसुती सेवाका लागि सेती अस्पताल पुर्‍याइयाे। उनलाई प्रसुती ब्यथाले च्यापेपछि आफन्तले अस्पताल पुर्‍याए तर अस्पतालले सेवा दिन मानेन र आफन्तले अन्य धेरै निजी अस्पतालमा धाउँदा पनि सबै बन्द रहेको जानकारी पाएपछि घर नजिकैको मेडिकलमा हार गुहार गरी बच्चा जन्माइन्।

यस्तै बझाङको बिथ्थडचिर गाउँपालिका वडा नम्वर ८ का ६५ वर्षीय पिताले अधिकारी चैत १६ गते बाख्रा चराउन घर नजिकै गएका थिए । बाख्रा चराउँदा लडेर उनको खुट्टा भाँचियो र दिउँसो उपचारका लागि धनगढी आए।

जीपमा सोमबार बिहान ३ बजे धनगढी पुगेका अधिकारीले उपचारका लागि धनगढीका आधा दर्जन निजी अस्पताल पुगे, तर कुनै पनि नीजि अस्पतालले भर्ना लिन मानेनन्।

उनका अनुसार अधिकांश निजी अस्पतालले अस्पतालमा डाक्टर नै नभएको भन्दै फिर्ता गरिदिएका थिए।

घाइतेका नाती बसन्त अधिकारीले पनि आधा दर्जन निजी अस्पतालले डाक्टर नभएको भन्दै फिर्ता पठाइदिएको गुनासो गरे। अन्तिममा व्यापक दवावपछि अहिले उनी धनगढीको नवजीवन अस्पतालमा भर्ना भएका छन्। यी त उदाहरण मात्र हुन्। धेरै बिरामीहरु उपचार नपाएर घरमै थन्किएर बसेका छन्।

सर्वोच्च अदालतले चैत १८ गते (मंगलबार) बिरामी फर्काउने र सेवा छैन जस्ता बहाना प्रयोग नगर्न निजी अस्पताललाई आदेश दिएको थियो। सोही आदेश अनुसार बिहीबारदेखि कैलालीका निजी अस्पतालहरुले आंशिक रुपमा सेवा शुरु गरेका छन्। कैलालीका सबै अस्पतालहरुले सेवा शुरु गरेपनि आंशिक रुपमा सेवा प्रदान गरिरहेको प्राइभेट अस्पताल संघका अध्यक्ष जनक जोशीले बताए।

उनले भने, ‘सरकारी अस्पतालहरुले नै ओपीडी सेवा बन्द गरेका छन्। इर्मेजेन्सी सेवा मात्र दिइरहेका छन्। त्यसैले निजीले पनि इर्मेजेन्सी सेवामात्र दिइरहेका छन्।’ उनले निजी अस्पताल सबै खुल्ला रहेको दावी गरे।

विश्वभरी नै कोरोना भाइरस (कोभिड–१९) ले महामारीको रुप लिएपछि चैत ११ गतेदेखि सरकारले लकडाउन जारी गरेको थियो। सरकारले लकडाउन जारी गरेसँगै कैलालीमा रहेका अधिकांश निजी अस्पतालहरुले सेवा बन्द गरेका थिए। बिहीबार धनगढीस्थित अधिकांश निजी अस्पताल पुग्दा सटर कसैले आधी खोलेका थिए भने कसैले पछाडीबाट खोलेर बसेका थिए।

कोरोना भाइरसको संक्रमणलाई फैलन नदिन निजी अस्पतालहरुले पनि योजना बनाउनु पर्ने धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले बताए। निजी अस्पतालहरु सञ्चालन नभएपछि सामान्य विरामी हुँदा पनि आम नागरिकहरु सरकारी अस्पताल नै पुग्नुपर्ने अवस्था छ।

कैलालीको धनगढीस्थित निजी सारथी अस्पतालले भने कोरोनोको संक्रमणको उपचारका लागि अलग्गै आइसोलेसन स्थापना गरेको छ।

कैलालीका अधिकांश निजी अस्पतालहरुले इमर्जेन्सी सेवा मात्र प्रदान गरिरहेको भए पनि सारथीले भने कोरोना संक्रमित फेला परे उपचार र निगरानीका लागि आइसोलेसन वार्ड स्थापना गरेको छ। उसले अस्पतालको एक अलग्गै कोठामा ३ वेडको आइसोलेसन कक्ष स्थापना गरेको छ।

सारथी अस्पतालका व्यवस्थापक बेदप्रकाश जोशीले सरकारले लकडाउन गरेपछि अन्य निजी अस्पतालहरुले सेवा बन्द गरेपनि आफूहरुले कुनै सेवा नरोकेको बताए। बिहीबार हामी त्यहाँ पुग्दा अस्पतालका बेडहरुमा भर्ना भएका विरामीहरु उपचारमा रहेका थिए।

जाेशी भने, ‘हामीले कोरोनाका संक्रमित वा आशंका भएका व्यक्तिहरु उपचारमा आए अलग्गै आइसोलेसनको पनि व्यवस्था गरेका छौँ।’

‘यस्तो विषम परिस्थितिमा देशलाई हरेक नागरिकको सहयोगको खाँचो छ। जसमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको झन् कोरोना संक्रमण रोक्न महत्वपूर्ण भूमिका रहन्छ’, उनले भने, ‘पछिल्लो समयमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण फैलिन नदिन हामी साधन स्रोतले भ्याएसम्म सक्दो सेवा दिनबाट पछि नहटी जनताको सेवामा समर्पित रहेका छौँ।’

प्रयोगशाला पनि सञ्चालन छैनन्

कैलालीमा धनगढी डाइगोनेस्टिक, नेश्नल प्याथ ल्याब, लाइफ कियर डाइगोनेस्टिक लगायतका सुविधा सम्पन्न प्रयोगशालाहरु पनि अहिले बन्द रहेका छन।

एक अस्पताल सञ्चालकले भने, ‘कतिपय प्रयोगशालाका सेवाहरु अस्पतालभित्र हुँदैनन्। परीक्षणका लागि धनगढीमा रहेका सुविधा सम्पन्न प्रयोगशालामा पठाउनु पर्ने हुन्छ तर अहिले ती पनि बन्द रहेका छन्।’


Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७६ चैत्र २०

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP