२०८० आश्विन १५, सोमबार
October 2, 2023, Monday

जिब्रो चिप्लिएर आलोचित भएपछि गुप्तवासमा झपट बोहरा

कैलाली । सुदूरपश्चिम प्रदेशसभामा कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमिलाई विवादित भूमि भनेर आलोचित भएपछि सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा मिडियाको सम्पर्कबाट बाहिर बस्न थालेका छन् ।

बिहीबार मानसखण्डले दिनभरि नै उनीसँग बारम्बार सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा आउन चाहेनन् । स्रोतका अनुसार विवादास्पद शब्द बोलेका मन्त्री बोहरा सर्वत्र आलोचनापछि क्षुब्ध बनेका छन् ।

मन्त्री बोहराले मंगलवार प्रदेशसभामा सम्बोधन गर्ने क्रममा नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा तथा कालापानी लाई विवादित भनेपछि उनी सर्वत्र आलोचित बनेका थिए भने प्रतिपक्ष कांग्रेसले बुधवार यसै विषयलाई लिएर प्रदेशसभा अवरोध गरेको थियो ।

सुदूरपश्चिम प्रदेश सभाको मंगलवारको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले दिएको अभिव्यक्ति विवाद र चर्चामा रह्यो ।

सम्बोधनका लागि प्रदेशसभाको रोष्ट्रममा उक्लिएका मन्त्री बोहराले माइक्रोफोन छोप्न संयुक्त राज्य अमेरिकाको झण्डाजस्तो देखिने रुमालको प्रयोग गर्दा नै प्रदेशसभा सदस्यहरुले हल्ला गर्न थालिसकेका थिए । प्रतिपक्ष सहित सत्ता पक्षका केही सांसदले सार्वभौम राष्ट्रको प्रदेशसभामा अर्को देशको नक्सा सहित सम्बोधन गरिएको भनेर विरोध गरे ।

त्यति मात्र हैन सम्बोधनका क्रममा मन्त्री बोहराले भर्खरै नेपाल सरकारले सार्वजनिक गरेको नयाँ नक्सामा समेटिएका नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा विवादित भनेको भन्दै नेकपाका सांसद तथा सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक बिकासमन्त्री दीर्घ सोडारीले आपत्ति जनाए । त्यस लगत्तै नेपाली कांग्रेसका संसदीय दलका नेता डा। रण बहादुर रावलले मन्त्री जस्तो व्यक्तिले गरेको गैरजिम्मेवार तरिकाले आफ्नो भूमिलाई विवादित भनेर गरेको टिप्पणी लज्जास्पद भएको भन्दै विरोध जनाए ।

यसको विरोधमा बुधवार बस्ने भनिएको बैठक पनि कांग्रेसको अवरोध पछि स्थगित भएको थियो । मन्त्री बोहराले ससद बैठकमै राष्ट्र विरोधी अभिव्यक्ति दिएका भन्दै बैठक अवरुद्ध गरिएको नेपाली कांग्रेसका संसदीय दलका नेता रण बहादुर रावलले जानकारी दिए ।

राष्ट्रियता माथि प्रहार : कांग्रेसको असन्तुष्टि

प्रदेशका अर्थमन्त्रीले प्रदेशसभामा राष्ट्रियता विरोधी अभिव्यक्ति दिनु गलत भएको धारणा कांग्रेस सुदूरपश्चिम संसदीय दलको रहेको छ । संसदीय दलका नेता रणबहादुर रावलले केन्द्र सरकारले समेत नेपाली भूमि समेटेर नक्सा तयार पारिसकेको सन्दर्भमा सरकारका जिम्मेवार मन्त्रीले गलत बोल्नु निन्दनीय भएको बताएका छन् । रावलले सुगौली सन्धि लगायत थुप्रै प्रमाणहरूलाई आधार मानेर केन्द्र सरकारले कूटनीतिक पहल गर्नुपर्ने आवाज उठिरहेका बेला प्रदेशका मन्त्रीको गैरजिम्मेवारपुर्ण अभिव्यक्तिको विरोधमा प्रदेश सरकारको आधिकारिक धारणा माग गर्दै सांकेतिक रूपमा बुधवार प्रदेशसभा अवरुद्ध गरिएको बताएका हुन । बुधवार प्रदेशसभाको परामर्श समितिको बैठकमा प्रदेशका प्रवक्ता तथा कानुन मन्त्री प्रकाश शाहले प्रदेश सरकार कालापानी,लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि रहेको भन्ने कुरामा प्रस्ट रहेको र अर्थमन्त्रीले सम्बोधनको क्रममा केही कमीकमजोरी गरेता पनि भनाइको आशय राष्ट्रियता विरोधी नरहेको भन्ने कुरा सहमति भएपछि बिहीबार प्रदेशसभाको बैठक सुचारु भएको थियो ।

विरोधका लागि विरोध : तारा लामा तामाङ

नेकपाका संसदीय दलका सचेतक तारा लामा तामाङले प्रदेशसभामा सम्बोधन गर्ने क्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले कोरोनाको बढ्दो जोखिमका कारण आफ्नो साथमा भएको रुमालले माइक्रो फोनलाई छोपेको विषयलाई विरोधको विषय बनाइनु विरोधका लागि विरोध गरिनु मात्र भएको बताएका छन् ।

सचेतक तामाङले मन्त्री बोहराले बोलेको विषयमा नियमापत्ति जनाउने जायज भए पनि झन्डा देखायो भनेर विरोध गर्नु उचित नभएको बताए । नेपाली कांग्रेसले हिउँदे अधिवेशनमा सीमा विवाद सम्बन्धित संकल्प प्रस्ताव दर्ता गरेको र उक्त प्रस्ताव अहिलेसम्म पनि नल्याएको भन्दै प्रदेशसभामा आवाज उठाएको विषयमा बोलै तामाङले सीमाको विषय धेरै अगाडी बढी सकेको हुनाले अव संयुक्त साझा संकल्प प्रस्ताव आउने बताए । त्यस बेला कांग्रेसले पेस गरेको प्रस्ताव विविध कारणले आउन नसकेको भएता पनि अहिलेको समयमा हुबहु त्यही संकल्प प्रस्ताव भन्दा सहमतिको अर्को प्रस्ताव आउने बताए ।

Related News

अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
  • २०७७ जेष्ठ १६

दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...

TOP