काठमाडौं, बैशाख ११ । कोरोना भाइरसका कारण आमजनता एक महिनादेखि बन्दाबन्दीमा घरभित्रै थुनिएर बसेका छन् ।
कोरोनाले ल्याएको संकटका कारण स्वास्थ्य र आर्थिक समस्याको सामना गरिरहेका जनतालाई कसरी राहत र सेवा दिनेभन्ने विषयमा ध्यान दिनुपर्ने प्रधानमन्त्री केपी ओली भने हिन्दी सिनेमाको खलनायकले गर्ने जस्ता भूमिकामा देखिन थालेका छन् ।
पछिल्लो प्रकरणमा उनी मुछिएका छन्, समाजवादी पार्टी फुटाउन सांसद नै अपहरण गर्न आफ्ना निकटका सांसदहरुको परिचालनमा । सांसद मात्र नभई यस काममा उनले पूर्वआईजीपी सर्वेन्द्र खनाललाईसमेत परिचालन गरेको देखिएको छ ।
जनता कोरोनाको कहर काटिरहेका बेला एकाएक दल विभाजन गर्न खुकुलो प्रावधानसहितको अध्यादेश र संवैधानिक परिषदमा विपक्षी दल नभएपनि निर्णय गर्ने अध्यादेश ल्याएपछि उनको सर्वत्र आलोचना भएकै थियो ।
यो कर्मको नेकपाभित्रै र बाहिर तीब्र आलोचना भइरहेका बेला उनको नाम एकाएक समाजवादी पार्टीका सांसद एवं पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवलाई अपहरण शैलीमा काठमाडौं भित्र्याउन भूमिका खेलेकोमा मुछिएको छ ।
सर्वेन्द्र, महेश र किसानलाई परिचालन गरी समाजवादी पार्टी फुटाउने र आफूले ल्याएको अध्यादेशको औचित्य पुष्टी गर्ने दाउमा ओली लागेका थिए । तर तीन जनाको चंगुलमा फसेका डा. यादवले निकै सुझबुझका साथ कदम चालेर स्वयं ओलीलाई नै प्वाङ ख्वाइदिएका छन् । र प्रधानमन्त्रीका रुपमा बालुवाटारमा बसेर सिंहदरबारको शक्ति दुरुपयोग गरिरहेका ओलीलाई बल्ड्याङ ख्वाइदिएका हुन् ।
जनकपुरबाट ती तीनजनाको चंगुलमा पर्नुअगावै डा. यादवले आफूलाई काठमाडौं लैजान लागेको बारे पार्टी अध्यक्ष उपेन्द्र यादवलाई जानकारी गराएका कारण यो प्रकरणको पटाक्षेप हुन पुगेको हो । आश्चर्य त के छ भने जनकपुरबाट सरकारी गाडीमा महेश वस्नेत, सर्वेन्द्र खनाल र किसान श्रेष्ठसँग आउँदै गर्दा बाटोमै सांसद यादवसँग प्रधानमन्त्री आफैले टेलिफोनमा कुरा गरेर सबै कुराको व्यवस्था गरिएको भन्दै आश्वस्त दिलाएका थिए ।
सांसद यादवले ‘बस्नेतले मलाई फोन दिए । प्रधानमन्त्रीले तपाईं काठमाडौं आउनुस् । तपाईं अब मन्त्री बन्ने हो । बाँकी कुरा टेन्सन नलिनुस् भन्नुभयो । काठमाडौंमा तपाईंको सबै व्यवस्था भइसकेको छ । भोलि बिहान ८ बजेतिर बालुवाटार आउनुहोला । बाँकी कुरा त्यहीँ गरौंला । अब तपाईंले राम्रो भूमिका खेल्नुपर्छ ।’ भनेको जानकारी दिएका छन् ।
११ विहान ३ बजे नक्सालस्थित होटल मेरियटमा छाडिएका उनी विहानै अध्यक्ष उपेन्द्र यादवको सम्पर्कमा पुगेपछी प्रधानमन्त्री आफै कसरी यस्तो धन्धामा संलग्न भए भन्ने पटाक्षेप भएको हो ।
एक त अस्थीर राजनीतिलाई रोक्न भन्दै दल फुटाउने व्यवस्था कडा बनाउन संसदीय दल र दलको केन्द्रीय समिति बैठकमा ४० प्रतिशत चाहिने व्यवस्था राखिएको थियो । दुई तिहाई निकटको जनमत पाएका प्रधानमन्त्रीलाई अहिले अर्काको पार्टी फुटाएर दुई/चार जना सांसद चोर्नुपर्ने के खाँचो परेको थियो ? त्यसमा पनि सांसद अपहरण गर्न आफूनिकटका दुई दुई सांसद र पूर्वआईजीपी स्वयंलाई खटाउनुले के सन्देश मिल्दैछ ? मानिस अपहरणमा संलग्न ती तीनजनालाई कार्वाही तपाईंको त होइन नेकपाकै सरकार रहँदासम्म पनि पक्कै हुन्न होला । पुरस्कृतचाहिँ गर्नुस् । तपाईंले गफको धतूरो जति झारेपनि कर्मचाहिँ के गर्नुहुन्छ भन्ने अब बुझ्न केही बाँकी छैन ।
कोरोनाका कारण संन्त्रासमा फसिरहेका जनतालाई घरभित्र थुनेर यही बेला स्वास्थ्य सामग्री किन्दा अरबौं लूड्याउन जुटेकाहरुको प्रतिरक्षामा उभिनु भएका तपाईंबाट जनताले अब के अपेक्षा गर्नु ? उसोत राज्यको प्राकृतिक स्रोत साधन आफूनिकट व्यापारीलाई सुम्पिएको विषय होस् वा आफ्ना प्रियपात्र गोकुल बाँस्कोटाले प्रिन्टिङ प्रेसलगायत ठूला खरिद र निर्णयमा गरेका अनियमितता वा वाइडबडी विमान काण्डनै होस् तिनको ढाकछोप गर्न सतिसाल झै उभिनु भएको पनि देखेकै छन् । तर जनताको विश्वास बोकेर तिनकै पानी पेटमा लात हान्ने कामचाहिँ अब अति भो । यस्तो धन्धा रोक्ने मन छ कि, अझै अरु जारी रहने छ ? Imagekhabar
कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रम्हदेवबाट स्रोत नखुलेको २५...