२०८१ बैशाख २४, सोमबार
May 6, 2024, Monday

डोटी कांग्रेसकाे पालिका स्तरीय अन्तरक्रिया सम्पन्न, चुनावी गठबन्धन नगर्न सुझाव

डोटी – डोटीमा कांग्रेसको पालिका स्तरीय भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वडा, पालिका तथा जिल्ला अधिवेशन पछि पहिलो पटक दिपायलमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा डोटीका नौं वटै पालिका कमिटीबाट एक-एक जनाको सहभागिता रहेको थियो । जिल्ला कार्यसमितिका तर्फबाट पार्टी सभापति नरेन्द्र बहादुर सिंह, उपसभापति विजय खड्का, सचिव नारायण बलायर, महाधिवेशन प्रतिनिधि सीताराम जोशी र जीत खड्काको सहभागिता रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा कांग्रेसको पछिल्लो अवस्था, कार्ययोजना, कोभिड व्यवस्थापन, स्थानीय तहको निर्वाचन , केन्द्रीय सरकारको नेतृत्व प्रतिको जन बुझाई लगायतका विषयमा छलफल भएको पार्टी सचिव बलायरले बताए । कोरोना संक्रमलाई मध्यनजर गर्दै एक पालिका बाट एक जना गरी स्वाथ्य मापदण्डको पालना सहित थोरै तर अर्थपूर्ण सहभागिताका बीच कार्यक्रम गरिएको उनले बताए ।

कार्यक्रममा सहभागी कांग्रेसका पालिका अध्यक्ष तथा प्रतिनिधिहरूले आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने सुझाव दिएका थिए । कांग्रेस आफैमा सक्षम र बलियो रहेको दाबी गर्दै चुनावी गठबन्धन नगर्न सुझाव दिएका हुन् ।

कम्युनिष्टसँगको गठबन्धनले कांग्रेसलाईनै घाटा हुने केआईसिंह गाउँपालिकाका कांग्रेस सभापति अर्जुन बलयारले बताए । कम्युनिष्टहरू कांग्रेस बलियो भएको ठाउँमा आफूलाई स्थापित गर्न मौका कुरिरहेको बताउँदै उनले कांग्रेसको एकछत्र जीत हुने ठाउँमा कम्युनिष्टलाई सत्ता हस्तान्तरण गर्न नसकिने बताए । उनले भने,’कांग्रेसले गठबन्धनको पालन गर्ने तर कम्युनिष्टले सधैं धोका दिने गरेको छ। कांग्रेसको काँधमा टेकेर सत्ता कब्जा गर्ने खेल हुन नदिन नेतृत्वपंक्ति सचेत हुनु पर्छ ।,”हामी आफैमा सक्षम र बलिया छौं । हाम्रो नेताहरु बीचको आन्तरिक सम्बन्ध सुधारेर अगाडि बढे राम्रो नतिजा आउँछ। पालिका र जिल्लामा चुनावी गठबन्धन हुनुहुँदैन,’ उनले थपे ।”

केन्द्रको गठबन्धन जिल्ला र स्थानीय तहमा कायम रहे कांग्रेसलाई फाइदा भन्दा घाटा हुने दिपायल सिलगढी नगरपालिकाका सभापति गणेश मालासिले बताए । उनले भने,’सरकार निर्माणमा केन्द्रमा गठबन्धन भए पनि निर्वाचनका बेला कम्युनिष्टपार्टीहरू आन्तरिक तथा बाह्य रुपमा एक ठाउँमा उभिने र कांग्रेसका विरुद्ध लाग्ने गरेको विगत देखिको इतिहास छ । तसर्थ कांग्रेस एक्लैले निर्वाचन लड्नु पर्छ ।’

सुदूरपश्चिम प्रदेश सरकार निर्माणमा समेत गठबन्धन लागु नभएको बताउँदै सहभागीहरूले उनीहरूलाई सत्तामा पुर्याउन आफ्नो मत प्रयोग गर्न नहुने सुझाव दिएका थिए ।

कम्युनिष्ट नेतृत्वका पालिकाहरुमा भ्रष्टाचार, अनियमितता, निरंकुशता मौलाएको र जनताहरू उनीहरूसँग रुष्ट रहेको सायल गाउँपालिकाका कांग्रेस सचिवले बताए । गाउँपालिकामा कांग्रेस अझै पनि बलियो र सक्षम रहेको बताउँदै उनले कांग्रेसलाई एकीकृत गर्न सके गठबन्धन बिना निर्वाचन जित्न सकिने उनले बताए ।

बोगटान फुड्सिल गाउँपालिकाका कांग्रेस सचिव नरेश बमले कांग्रेस नेताहरु गाउँ केन्द्रित हुनु पर्ने सुझाव दिएका थिए । कांग्रेस जनतामाझ आफ्ना एजेण्डा सहित अहिले देखिनै जानु पर्ने उनले बताए ।

जनतामा कांग्रेस प्रतिको विश्वास र आस्था कायमै रहेको शिखर नगरपालिकाका कांग्रेस सभापति हर्क बोगटीले बताए । उनले आन्तरिक मेलमिलाप सहित कांग्रेस जनतामा गयो भने जिल्लाका सबै पालिकामा विजय हुने विश्वास व्यक्त गरे ।

कांग्रेसलाई अझै सशक्त बनाउन कांग्रेस नेताहरु अध्ययनशील , कर्मठ र अनुशासित हुनु पर्ने कांग्रेस उपसभापति विजय खड्काले बताए । अन्तरक्रियामा उठेका सवाल र सुझावलाई आत्मसाथ गर्दै आफुहरु अगाडि बढ्ने महाधिवेशन प्रतिनिधि सीताराम जोशीले बताए ।

जिल्ला सभापति नरेन्द्र बहादुर सिंहले कांग्रेसलाई चलायमान , जनमुखी र उत्तरदायी बनाउन कांग्रेसका सबै नेता, संघ संगठनहरुसँग समन्वय गरेर अगाडि बढ्ने बताए । अन्तरक्रियामा उठेका विषयवस्तुका बारेमा अझै गहन रूपमा केन्द्र सम्म छलफल गर्ने उनले बताए । उनले जिल्लाका हरेक वडाहरू, पालिकहरुमा र जिल्लामा भातृ संघ संगठनहरु विस्तार गर्न निर्देशन दिएका थिए।

सभापति सिंहले दिनप्रतिदिन बढ्दै गएको कोरोना महामारी र यसबाट प्रभावित जनताहरूलाई सक्दो सहयोग गर्न नेता कार्यकर्तालाई अनुरोध गरेका छन्। उनले वर्तमान सरकारको कामकारवाही र सरकारमा कांग्रेसको नेतृत्व पछिको जनबोली के छ भन्ने विषयमा समेत जानकारी लिएका थिए ।

Related News

इडिभी २०२५ को नतिजा सार्वजनिक,  यसरी सकिन्छ हेर्न (भिडियो सहित)
इडिभी २०२५ को नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न (भिडियो सहित)
  • २०७८ माघ ९

अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा सार्वजनिक गरिएको छ...

TOP