२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

महाकाली अस्पतालको पिसीआर मेसिन सञ्चालनमा आएन

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा रहेको पिसीआर मेसिन अझै सञ्चालनमा आउन सकेको छैन ।

दुई महिनाअघि कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना परीक्षणका लागि सहज गर्ने उद्देश्यले पिसीआर मेसिन खरिद गरी यहाँको महाकाली अस्पताललाई हस्तान्तरण गरे पनि सञ्चालनमा नआएको हो । प्रयोगशाला सञ्चालनका लागि जनशक्ति तथा खर्च व्यवस्थापनका लागि यहाँ जनप्रतिनिधिसित पनि पटकरपटक छलफल भई विभिन्न समिति बने पनि सुदूरका पहाडी जिल्लाका प्रयोगशालामा धमाधम कोरोना परीक्षण भइरहँदा महेन्द्रनगरमा भने मेसिन थन्किएको छ ।

सुदूरपश्चिममा कोरोना परीक्षण र सङ्क्रमितको उपचारका लागि यहाँको तराईको जिल्ला कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल अब्बल सावित भइरहँदा कञ्चनपुरको महेन्द्रनगरमा रहेको पुरानो महाकाली अस्पतालले भने मेसिन सञ्चालनमै ढिलाइ गरिरहेको छ ।

“नगरपालिकाले पिसीआर मेसिन खरिद गरेर दिएपनि जनशक्ति र अन्य उपकरण खरिदको प्रक्रियागत कारणले ढिलाइ भएको हो”, महाकाली अस्पतालका सूचना अधिकृत नारद भट्टले भने, “अस्पतालमा प्रयोगशाला सञ्चालनको पूर्वतयारी थिएन, मेसिन आए पनि तयारी थाल्दा ढिलो भएकै हो ।”

प्रयोगशाला सञ्चालनका लागि १२ जना कर्मचारी नियुक्त गरिएको भट्टको भनाइ छ । उनले बिएमएलटी चार जना, माइक्रो बायलोजिष्ट एक जना, ल्याब टेक्निसियन दुई जना र चारजना स्वीपर भर्ना गरेर मेसिन सञ्चालनका लागि धनगढी र काठमाडौँ तालीममा गएको बताए । “प्राविधिक टोली तालीमबाट फर्किनासाथ प्रयोगशाला सञ्चालनमा आउँछ”, सूचना अधिकृत भट्टले भने, “अरु सबै तयारी भइसकेको छ ।”

भीमदत्त नगरपालिकाले अस्पतालसहित सरोकारवाला निकायसँग समन्वय गरी ३८ लाख रुपैयाँमा पिसीआर मेसिन खरिद गरेको जनाएको छ । नगरपालिकाको कोडिभ–१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी निर्देशक एवं समन्वय समितिको गत जेठ २७ गते बसेको नगर कार्यपालिकाको बैठकले पिसीआर मेसिन खरिद गर्ने निर्णय गरेको थियो ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ मंसिर २२

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP