दिपायल – सुदूरपश्चिम प्रदेशका ३० जनाले पाँच दिने कबड्डी निर्णायक तालिम लिएका छन् । डोटी जिल्ला खेलकुद समितिले आयोजना गरेको “प्रदेश स्तरीय कबड्डी निर्णायक तालिम–२०८२” मा सुदूरपश्चिमका ९ वटै जिल्लाबाट खेलाडीहरुको सहभागिता रहेको थियो ।
डोटीको बडीकेदार गाउँपालिका – १ बिपिनगरमा आयोजना गरिएको उक्त तालिम चैत्र २० गते देखि २४ गतेसम्म सञ्चालन गरिएको थियो । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, धनगढी कैलालीको विशेष सहयोग, अखिल नेपाल कबड्डी संघ, काठमाडौं र सुदूरपश्चिम प्रदेश कबड्डी संघको समन्वय तथा डोटी जिल्ला खेलकुद समिति, सिलगढीको आयोजनामा तालिमको आयोजना गरिएको हो ।
सुदूरपश्चिम प्रदेश कबड्डी संघका अध्यक्ष तथा भीमदत्त नगरपालिका–१० का वडा अध्यक्ष महेश चन्दको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको उक्त तालिम मंगलबार समापन गरिएको हो । कबड्डी देशलाई सबैभन्दा बढी मेडल दिलाउने खेलमध्ये एक भएको चन्दले बताए । राजनीतिक चलखेलका कारण यस खेलले उचित स्थान नपाएको टिप्पणी गर्दै उनले कबड्डीमा राम्रो भविष्य रहेको बताए ।
अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्द कुमार झाले कबड्डी खेलमा तालिमप्राप्त निर्णायकको अभावका कारण धेरै समस्या आउने गरेका कारण तालिमको आयोजना गरिएको बताए । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समेत कबड्डी समावेश भइसकेको सन्दर्भमा निर्णायकको भूमिकामा विवाद बढ्ने गरेको बताउँदै उनले यस्ता समस्या समाधानका लागि तालिम आवश्यक रहेको बताए।
डोटी जिल्ला खेलकुद समितिका अध्यक्ष प्रकाश शाहीले आवश्यकता र माग अनुसार तालिमको आयोजना गरिएको बताए । उनले आयोजित तालिमबाट प्रदेशमा दक्ष कबड्डी निर्णायक उत्पादन गरिएको बताउँदै यसले खेलको विकास र विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
तालिमको समापन गर्दै सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोक बहादुर खड्का (रवि) ले खेलकुदको विकासका लागि दक्ष निर्णायक अत्यावश्यक रहेको उल्लेख गर्दै कबड्डी खेलको भविष्य उज्ज्वल रहेको धारणा व्यक्त गरे।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...