२०८३ श्रावण २, शनिबार
July 18, 2026, Saturday

म्याद नाघेका सामग्री बजार पठाउने ८ जना रिहा

काठमाडौं- म्याद सकिएका चकलेट र अन्य खाद्य वस्तुमा नयाँ म्याद राखेर बजारमा पठाएको आरोपमा पक्राउ परेका ८ जनालाई वाणिज्य विभागले हिरासतमुक्त गरेको छ।

बिहीबार कलंकी र बाफलबाट पक्राउ परेका वितरक कम्पनी आयान डिस्ट्रिब्युटर्स प्रालिकी सञ्चालक पुष्पादेवी अग्रवालसहितका ९ जनामध्ये ८ जनालाई विभागले रिहा गरेको हो।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीका अनुसार पुष्पादेवी अग्रवाललाई १ करोड रुपैयाँ बराबरको धरौटीमा र अन्य साधारण तारेखमा रिहा भएका छन्।

भारतीय नागरिक रोनक बोथ्रालाई भने हिरासतमा राखेर अनुसन्धान भइरहेको सुवेदीले बताए।

रोनक बोथ्रा म्याद सकिएका उपभोग्य सामाग्रीहरु ओरियो बिस्कुट,  स्निकर्स,  मार्स चकलेट,  बर्नभिटा,  प्रिङ्गल्स र युनिलिभरका अधिकांश उत्पादनमा नयाँ लेभल लगाउने काम गर्थे।

महानिर्देशक सुवेदीले अहिलेसम्म वोथ्रा अगाडि देखिए पनि उनका पछाडि धेरै ठूलो समूहको हात हुनसक्ने र त्यसतर्फ अनुसन्धान अगाडि बढाइएको बताए।

उनले भने,  ‘अग्रवाल र वोथ्रा अहिले अगाडि देखिएका मात्र हुन्,  हामीले सीआईबीको सहयोगमा अनुसन्धान थालेका छौं। यसमा धेरैजना तानिन सक्छन्।’

म्याद गुज्रिसकेको उपभोग्य वस्तुको मिति मेटेर नयाँ मिति राखिरहेको अवस्थामा जिल्ला प्रशासन कार्यालय,  वाणिज्य विभाग र महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आयान डिस्ट्रिब्यूटरको गोदाममा छापा मारेर ९ जनालाई बिहीबार पक्राउ गरेको थियो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बिहीबार नेपाल समयसँग कुरा गर्दै जस्तोसुकै दबाब आए पनि जनस्वास्थ्यमा खेलवाड गर्नेमाथि कारबाही हुने बताएका थिए।

महानगरीय प्रहरी अपराध महाशाखामा सूचना आएपछि छापा मार्ने अनुमति जिल्ला प्रशासन कार्यालयले दिएको थियो। प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार खाद्य सामग्री भएकाले वाणिज्य विभागका कर्मचारीलाई पनि साथमा लगिएको थियो। 

जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले त छापा मारेको ‘केस’ विभागलाई सुम्पन दबाब आइरहेको बताएका थिए। ती अधिकारीले भनेका थिए, ‘विभागलाई जिम्मेवारी दिने हो भने एक देखि तीन लाख रुपैयाँसम्म जरिबाना लिएर तत्काल छोडिदिन्छ। अहिले नै छापा मारेको ‘केस’ विभागलाई सुम्पन दबाब आइरहेको छ।’ 

आइतबार भने प्रमुख जिल्ला अधिकारी दाहालले पक्राउ परेकाहरु रिहा भएकाबारे आफूलाई जानकारी नभएको बताए।

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०७७ आश्विन १८

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP