२०८२ बैशाख ६, शनिबार
April 19, 2025, Saturday

सिपाहीको तलब काटेर जम्मा भएको प्रहरी कोषमा भ्रष्टाचार : प्रहरी पेट्रोल पम्पमा पाँच करोड हिनामिना

शान्ति मिसनमा जाने कर्मचारीको कमाइबाट कम्तीमा १० प्रतिशत कोषमा संकलन, त्यस्तै, प्रत्येक प्रहरीको तलबबाट हरेक महिना पाँच सय रुपैयाँ कट्टी गरी कोषमा जम्मा हुने गरेको छ ।

नवराज मैनाली- प्रहरी कल्याणकारी कोषको मुख्य आम्दानी मिसनबाट प्राप्त हुने स्रोत हो । तर, प्रहरीको हाइटी मिसन बन्द भइसकेको छ । सुडानको डार्फर मिसन पनि बन्द हुने क्रममा छ । पर्यवेक्षक मिसनमा जाने अवसर पनि घट्दै गएकाले कोषमा आउने पैसा घटेको छ । तर, भ्रष्टाचार घटेको छैन ।

प्रहरीका कर्मचारीको पारिश्रमिकबाट कटौती गरेर सञ्चालन गरिएको कल्याणकारी कोषमा हाकिमहरूको दोहन रोकिएको छैन । कल्याणकारी कोषमार्फत सञ्चालित प्रहरी पेट्रोल पम्पमा मात्र करिब पाँच करोड अनियमितता भएको खुलेको छ । 

पेट्रोल पम्पमा अनियमितता गरेको आरोपमा पक्राउ परेका असइ दिलीप कार्कीमाथि छानबिन गर्दा पाँच करोडभन्दा धेरै अनियमितता भएको देखिएको हो । ‘सुरुमा असइलाई मात्र दोषी देखाउने गरी विषय शान्त पार्न खोजिएको थियो, तर भ्रष्टाचार ठूला देखिएपछि फराकिलो छानबिन सुरु भएको छ,’ प्रहरीको स्रोतले भन्यो । यस विषयमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीले छुट्टाछुट्टै टोली बनाएर अनुसन्धान अघि बढाएका छन् ।

असइ कार्कीले ०७५ को असोजदेखि ०७६ को असोजसम्म मात्रै एक करोड आठ लाख हिनामिना गरेका हुन् । त्यसअघि पनि अन्य कर्मचारीले त्यसरी अनियमितता भएको खुलेपछि थप छानबिन अघि बढाइएको छ । सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक हुँदा धेरै अनियमितता भएको छानबिनमा देखिएको छ । त्यतिवेला प्रहरी कल्याण कोषमा कार्यरत धेरै प्रहरी अधिकारी छानबिनमा तानिने अख्तियार स्रोत बताउँछ । 

नेपाल प्रहरीले प्रारम्भिक छानबिन गरी असइ कार्कीलाई गत ३० साउनमा अख्तियारलाई बुझाएको थियो । उनले एक करोड आठ लाख ९९ हजार एक सय ८४ रुपैयाँ हिनामिना गरेको खुलेपछि आयोगमा बुझाइएको थियो । सोही अनियमिततामाथि छानबिन गर्ने क्रममा त्यसअघि पनि पेट्रोल पम्पमा हिनाहिना भएको तथ्य खुलेको छ । स्रोतका अनुसार हालसम्मको छानबिनमा करिब पाँच करोड हिनामिना भएको देखिएको छ । प्रहरीले पनि एसपी सुदर्शन कोइरालाको संयोजकत्वमा एक समिति गठन गरी सबै पुराना विवरणको अध्ययन थालेको छ । 

प्रारम्भिक छानबिनमा प्रहरी पेट्रोल पम्पमा कारोबार गर्ने ठूला कम्पनीहरूले भुक्तान गरेको रकम आफ्नै खातामा राखेर असइ कार्कीले हिनामिना गरेका थिए । सुरुमा प्रहरी प्रधान कार्यालयले उनलाई त्यो पैसा तिराउने प्रयास गरेको थियो, तर त्यसमा आफ्नो मात्र गल्ती नभएको भन्दै उनले विवरण दिएपछि फराकिलो छानबिन सुरु भएको हो । अख्तियारले पेट्रोल पम्पमा काम गरेका पूर्वइन्स्पेक्टर विष्णु पोखरेललगायत प्रहरीसँग बयान लिइसकेको छ । 

अहिले बाहिर आएको अनियमितता नक्सालस्थित पेट्रोल पम्पको मात्र हो । सामाखुसी, पथलैया, कदमाहामा समेत कल्याण कोषअन्तर्गत पेट्रोल पम्प सञ्चालित छन् भने भरतपुरमा सञ्चालनको अन्तिम तयारी छ । अन्य पेट्रोल पम्पमा समेत धेरै चुहावट देखाएर अनियमितता हुने गरेको स्रोत बताउँछ । 

पुरा समाचार पढ्नुहोस्

Related News

नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
  • २०७७ आश्विन १२

दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...

TOP