२०७८ बैशाख २४, शुक्रबार
May 7, 2021, Friday

आमरण अनशनमा रहेकी टर्कीकी वकिलको मृत्यु

आफू र साथीहरूको मुद्दाको निष्पक्ष सुनुवाइ हुनुपर्ने माग गर्दै दुई सय ३८ दिनदेखि आमरण अनशनरत टर्कीकी मानवअधिकारवादी वकिल इब्रु टिमटिकको मृत्यु भएको छ । ४२ वर्षीया कुर्दिस वकिल इब्रुको इस्तानबुलस्थित अस्पतालमा बिहीबार निधन भएको टर्कीको प्रोग्रेसिभ लयर्स एसोसिएसनले जानकारी दिएको छ । बिहीबार नै मृत्यु भए पनि उनको मृत्युको जानकारी भने शुक्रबार मात्र सार्वजनिक गरिएको थियो । इब्रुको मृत्युलाई अन्तर्राष्ट्रिय मानवअधिकारवादी संगठनहरूले टर्किस न्यायप्रणाली र सरकारले गरेको हत्याको आरोप लगाएका छन् ।

इब्रुसहित थप १७ जनालाई टर्किस सरकारले आतंकवादी समूहको सदस्य रहेको आरोपमा पक्राउ गरेको थियो । उनीहरूलाई गैरकानुनी घोषित रिभोलुसनरी पिपुल्स लिबरेसन पार्टी­­­– फ्रन्ट (डिएचकेपी–सी) समूहसँग सम्बद्ध भएको आरोप लागेको थियो । यो संगठनलाई टर्की सरकारले आतंकवादी संगठन घोषित गरेको छ । यो संगठनलाई टर्की, संयुक्त राष्ट्रसंघ र युरोपेली युनियनले आतंककारी घोषणा गरेका छन् ।

सेप्टेम्बर सन् २०१७ मा उनलाई पक्राउ गरिएको थियो । इब्रु र उनका साथीहरूलाई अदालतले सुरुमा रिहा गर्ने फैसला गरेको थियो । रिहा गर्ने फैसला गरेको २४ घन्टा नबित्दै बेनामी साक्षीको बयानका आधारमा उनीहरूलाई फेरि पक्राउ गरियो । गत वर्ष २०१९ को मार्चमा उनीहरूलाई १७ वर्ष ६ महिना जेल सजाय सुनाइएको थियो । यसरी आफू र आफ्ना साथीमाथि अन्यायपूर्ण फैसला गरिएकोे भन्दै निष्पक्ष सुनुवाइ हुनुपर्ने माग गर्दै इब्रुले २ जनवरी २०२० मा आमरण अनशन सुरु गरेकी थिइन् ।

टर्कीमा राष्ट्रपति रेसेप तैयप एर्दोगनको शासनकाल सुरु भएसँगै टर्किस अदालतको निष्पक्षता र स्वतन्त्रातमाथि विपक्षी राजनीतिक दल र मानवअधिकारकर्मीहरूले निरन्तर प्रश्न उठाइरहेका छन् । इब्रुको मृत्युपछि शुक्रबार इस्तानबुल बार एसोसिएसनबाहिर अदालत र सरकारको विरोधमा ठूलो विरोध प्रदर्शन भएको छ । उक्त प्रदर्शनमा प्रहरीले अश्रुग्यास र रबरको गोली चलाएको थियो । आन्दोलनमा सहभागी केही वकिललाई प्रहरीले पक्राउसमेत गरेको छ । 

इब्रुको अन्तिम संस्कारमा सहभागी हुन पुगेका मानिसमाथि पनि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । समर्थकले ‘इब्रु अमर छिन्, हत्यारा सरकार, इबु्रको हत्या भुल्ने छैनौँ’लगायतका नारा लगाएका थिए । इब्रुको मृत्युप्रति युरोपियन कमिसन र युरोपियन मानवअधिकार काउन्सिलले दुःख व्यक्त गरेका छन् । टर्कीको सरकार तथा त्यहाँको न्यायप्रणालीले पत्रकार, अधिकारकर्मीलाई न्यायको पक्षमा बोल्न नदिने वातावरण सिर्जना गरेकोप्रति उनीहरूले खेद व्यक्त गरेका छन् ।

१ जुनमा इब्रु र उनका १७ जना साथीको रिहाइका लागि इन्टरनेसनल एसोसिएसन अफ डेमोक्रेटिक लयर्सका तीन सय ६५ जना वकिल र टर्कीका चार सयजना वकिलले हस्ताक्षरसहित टर्कीको सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

यसअघि पिपुल्स लिबरेसन पार्टी फ्रन्ट (डिएचकेपी–सी) समूहसँग सम्बद्ध भएको आरोप लागेका दुईजना संगीतकर्मीको पनि गत अप्रिल र मे महिनामा मृत्यु भएको थियो । उनीहरू पनि आमरण अनशन बसेका थिए । 

न्यायिक अधिकारको माग गरिरहेका व्यक्तिको लगातार मृत्यु हुन थालेपछि टर्की सरकार बहिरो भएको भन्दै त्यहाँका प्रगतिशील वकिलहरूले आलोचना गरेका छन् । ‘निष्पक्ष सुनुवाइ मानिसको आधारभूत अधिकार हो । आधारभूत मानवअधिकार माग गर्दागर्दै वकिलको मृत्यु हुने अवस्था टर्कीको न्यायप्रणालीका लागि गम्भीर चेतावनी हो,’ मानवअधिकारवादी वकिल एर्डल डोगनले भने ।

अदालतमाथि राजनीतिक छाया परेकै कारण इब्रुको मृत्यु भएको भन्दै एमनेस्टी इन्टरनेसनलले टर्किस अदालतलाई निष्पक्ष बनाउनुपर्ने माग गरेको छ । न्यायका नाममा टर्किस अदालतले अन्याय गरिरहेको एमनेस्टीले आरोप लगाएको छ ।

इब्रुको मृत्यु भए पनि उनीसँगै जेल परेका उनका साथी अयातक अनसुलले भने अनशन जारी राखेका छन् । इब्रुसँगै अनशन सुरु गरेका अयातकले अस्पतालमै अनशन जारी राखेका हुन् ।

टर्कीमा हालसालै भएको सर्वेक्षणअनुसार सरकारी वकिलहरूले आतंकवादविरोधी कानुनको दुरुपयोग गरिरहेका छन् । पछिल्ला चार वर्षमा मात्र सरकारी वकिलले दुई लाख २० हजार मानिसमाथि आतंकवादी संगठनको सदस्य भएको आरोप लगाएर मुद्दा दायर गरेका छन् । (एजेन्सीको सहयोगमा)

Related News

सुदूरपश्चिममा कोरोना सङ्क्रमितको उपचार तथा व्यवस्थापन असहज
सुदूरपश्चिममा कोरोना सङ्क्रमितको उपचार तथा व्यवस्थापन असहज
  • २०७७ भाद्र १५

मुलुक यतिबेला कोरोना भाइरस महामारीको चपेटामा छ। सुदूरपश्चिम प्रदेश पनि यो रोगको महामारीवाट अछुतो छैन। प्रदेशका तराइका कैलाली र कञ्चनपुरमा...

डोटीका २३ सहित सुदूरपश्चिमका ७८५ जनामा कोरोना पुष्टि : ६४ जनाले कोरोना जिते
  • २०७७ भाद्र १५

डोटी- पछिल्लो २४ घण्टामा दुवै विधिबाट गरेर कूल १८३२ नमूना परीक्षण गर्दा ७८५ जनाको रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय...

सुदुरपश्चिम प्रदेश प्रमुख  यादबद्धारा पदभार ग्रहण
सुदुरपश्चिम प्रदेश प्रमुख यादबद्धारा पदभार ग्रहण
  • २०७७ भाद्र १५

धनगढी- नवनियुक्त सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख गंगाप्रसाद यादवले शुक्रवार पदभार ग्रहण गरेका छन् । धनगढी आएको लगत्तै प्रदेश प्रमुख यादवले...

TOP