२०८३ भाद्र ८, सोमबार
August 24, 2026, Monday

एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा ४ लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी हुने

भक्तपुर-राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को अन्तिम परीक्षाका रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएको छ ।

बोर्डले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले यही चैत ८ गते बिहान ८ बजेदेखि शुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।

एसइई परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी हुने जानकारी दिँदै उनले परीक्षाका लागि देशभर गरी एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको बताए।

परीक्षामा प्रतिकेन्द्र एक जना केन्द्राध्यक्ष, दुई हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० सुरक्षाकर्मी गरी जम्मा ६४ हजार ७६२ जनशक्ति परिचालित हुनेछन्।

साधारणतर्फको परीक्षा १७ गतेसम्म र प्राविधिकतर्फको परीक्षा २० गतेसम्म सञ्‍चालन हुनेछ। परीक्षाका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिकालगायत अन्य सामग्री जिल्लाजिल्लामा पठाउने कार्य सम्पन्न भइसकेको छ।

यसवर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार नयाँ पाठ्यक्रमअनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन गरिने भएको छ। जसअनुसार अनिवार्य विषयतर्फ गणितबाहेक सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ ।

अनुत्तीर्ण परीक्षार्थी र अक्षराङ्कन पद्धतिको नतिजामा विभिन्‍न विषयमा ‘सी’ ग्रेड वा सोभन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेडवृद्धि परीक्षामा समेत ग्रेडवृद्धि गर्न नसकेका परीक्षार्थीका लागि समेत एक्जेम्टेड परीक्षार्थीका रुपमा परीक्षा दिने व्यवस्था गरिएको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिए।

सबै प्रदेश समेटिने गरी राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा शिक्षा मन्त्रालयमार्फत् सहसचिवको नेतृत्वमा अनुगमन टोली, क्षेत्रीय शिक्षा निर्देशनालयमा आफ्नो क्षेत्रभित्र अनुगमन टोली र जिल्लामा परीक्षा समन्वय समितिका पदाधिकारी एवं जिल्ला शिक्षा कार्यालयका कर्मचारीको अनुगमन टोलीले परीक्षामा अमर्यादित कार्य गर्ने वा गर्न उक्साउने जो कोहीलाई स्थलगत रूपमै कारबाही गर्न सक्ने अधिकार दिइएको छ।

आगामी वर्षदेखि प्रदेशस्तरमा एसइई परीक्षा सञ्चालन गर्ने तयारी शुरु गरिएको जानकारी दिँदै बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले परीक्षामा बाधा पुग्ने गरी अमर्यादित कार्य गर्नेलाई रु एक लाखसम्म जरिवाना वा छ महिना कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको बताए।

उहाँले परीक्षालाई शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न गराउन स्थानीय तहका प्रतिनिधि एवं जनप्रतिनिधिलगायत सबैलाई आह्वान गर्नुभयो भने आगामी वर्षदेखि यो परीक्षा प्रदेशले सञ्चालन गर्ने जानकारी दिए।

Related News

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
  • २०७६ चैत्र ५

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...

TOP